२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

यस वर्षको सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी राई र बानुलाई

काठमाडौँ — सञ्चारिका समूह नेपालले प्रदान गर्ने सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुले पाएका छन् । कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानु संयुक्त रुपमा उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।

यस वर्षको सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी राई र बानुलाई

२०७७ भदौ ८ गते कान्तिपुर दैनिकमा प्रकाशित उक्त फिचर कोरोना संक्रमण, लकडाउन र निषेधाज्ञाका कारण अस्पताल पुग्न नसक्दा ज्यान गुमाउन बाध्य गर्भवती तथा सुत्केरी महिलाका विषयमा केन्द्रित थियो । सञ्चारिका समानता पुरस्कारको रुपमा पत्रकारद्वय राई र बानुलाई १५ हजार रुपैयाँ प्रदान गरिने सञ्चारिका समूहले जनाएको छ ।

अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी

तीन सदस्यीय पुरस्कार छनोट समितिले चयन गरेका उत्कृष्ट फिचरहरूमध्ये कान्तिपुरको फिचर पुरस्कारका लागि छानिएको बताइएको छ । मंगलबार समूहले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

सञ्चारिका समूहले अन्य विभिन्न विधामा अरु महिला पत्रकारहरूलाई प्रदान गर्ने पुरस्कार पनि घोषणा गरेको छ । समूहले जारी गरेको विज्ञप्ति अनुसार पुरस्कारका लागि समाचार, लेख, फिचरको शैली, विषयवस्तु, सन्देश, लैङ्गिक संवेदनशीलता, अन्वेषणजस्ता विषयलाई आधार बनाइएको थियो ।

यस क्रममा रुकुमबाट पत्रकारिता गर्दै आएकी पत्रकार हिरा परियारले ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७७’ पाएकी छन् । समूहले उक्त विधामा अघिल्लो वर्षको पनि पुरस्कार प्रदान गरेको छ । ‘स्व. उमा सिंह पत्रकारिता पुरस्कार २०७६’ रौतहट जिल्लाबाट पत्रकारिता गर्दै आएकी पत्रकार बिना राउतलाई प्रदान गरिएको छ । दिवंगत पत्रकार उमा सिंहको नाममा प्रदान गरिने यस पुरस्कारको राशि ७ हजार १ सय ११ रहेको बताइएको छ ।

यस्तै मनिका विश्वकर्मा र सीतादेवी पोखरेल (मिनु) ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७६’बाट सम्मानित भएका छन् । यस्तै ‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०७७’ बाट पत्रकारद्वय सपना थामी र सृजना खड्का सम्मानित भएकी छन् ।

छोटो अवधिमा सक्रिय भई पत्रकारिता गर्ने पत्रकार महिलालाई पेशामा थप उत्साह बढाउन २०६२ सालमा ‘सञ्चारिका प्रोत्साहन पुरस्कार’ स्थापना गरिएको सञ्चारिका समूहले जनाएको छ ।

यस्तै ‘सञ्चारिका समानता पुरस्कार २०७६’ भने मुना कुँवरलाई प्रदान गर्ने सञ्चारिका समूहले जनाएको छ । ‘समानताका लागि सञ्चार’ मूल नारालाई सफल रूपमा अघि बढाउने उद्देश्यले सञ्चारिका समूहले २०५७ सालदेखि हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको हो। घोषणा भएका सबै पुरस्कार २०७८ चैत ११ गते शुक्रबार प्रदान गरिने बताइएको छ ।

प्रकाशित : चैत्र ८, २०७८ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?