चुनावी तालमेलको विकल्पमा एमाले खुला

वाम गठबन्धन भने हुन नसक्ने दाबी, उम्मेदवार चयनमा ६ वटा मापदण्ड तय
बबिता शर्मा

काठमाडौँ — पाँचदलीय गठबन्धनविरुद्ध तीनै तहको निर्वाचनमा एक्लै भिडेर बहुमत हासिल गर्ने बताउँदै आएको एमालेले चुनावी तालमेलको विकल्प खुला राख्ने भएको छ । सोमबार बसेको पोलिटब्युरो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन सम्भव नभए पनि आवश्यकताका आधारमा अन्य शक्तिसँग तालमेल हुन सक्ने बताएका छन् । 


बैठकमा पोलिटब्युरो सदस्यहरूले वाम गठबन्धन र चुनावी तालमेलबारे पार्टीको नीतिबारे धारणा माग गरेपछि अध्यक्ष ओलीले वाम गठबन्धन हुन नसक्ने तर आवश्यकताका आधारमा तालमेल हुन सक्ने बताएका हुन् । ‘स्थानीय निर्वाचनमा आवश्यकताअनुसार जुनसुकै दलसँग पनि तालमेल हुन सक्छ तर वाम गठबन्धन हुँदैन,’ ओलीको भनाइ उद्धृत गर्दै पोलिटब्युरो सदस्य महेश बस्नेतले भने । पछिल्लो समय एमालेको माओवादी केन्द्र र एकीकृत समाजवादीसँग तिक्ततापूर्ण सम्बन्ध छ । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले भने एमालेसँग चुनावी तालमेल गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

बैठकमा स्थायी कमिटी सदस्य घनश्याम भुसाल र रघु पन्तले कम्युनिस्ट पार्टीहरूबीच गठबन्धन र एकता हुनुपर्ने प्रस्ताव गरेपछि ओलीले त्यसको जवाफ दिएका थिए । भुसालले भने आसन्न निर्वाचनमा वामपन्थीको जित सुनिश्चित गर्न पनि एकता आवश्यक भएको बताएका थिए । ‘वाम गठबन्धनको नाममा प्रचण्ड र माधव नेपाललाई साथ र हात दिएर हिँड्न सकिन्न,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै बस्नेतले भने, ‘पार्टी फुटाउने, १९ बुँदे आरोप लगाउने, अध्यक्षलाई कारबाही गर्ने, कम्युनिस्ट पार्टीको सरकार ढाल्नेहरू नाम वामपन्थी, काम कांग्रेसपन्थीहरूसँग एकता सम्भव छैन । बरु कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने र उचित भूमिका, जिम्मेवारी दिएर जान सकिन्छ ।’

भुसाल र पन्तको प्रस्तावको विपक्षमा बोलेका बस्नेतसहित कर्ण थापा, हिक्मत कार्कीलगायत नेताहरूले गत निर्वाचनमा गरिएको वाम गठबन्धन प्रत्युपादक भएको र अहिले पार्टी बलियो अवस्थामा रहेकाले यसबारे सोच्नु नपर्ने बताएका थिए । त्यसबाहेक अन्य केही नेताले स्थानीय तहमा आवश्यकताका आधारमा तालमेलको ढोका भने खुला राख्न सुझाव दिएका थिए । ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल हुन सक्छ तर त्यसबारे पनि केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने निर्णय भएको छ,’ बस्नेतले भने ।

उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पनि आवश्यकताका आधारमा अन्य दलसँग चुनावी तालमेल हुने बताए । ‘अहिले नै हामीले निर्णय गरिसकेका छैनौं तर स्थानीय तहका उम्मेदवारको जित्ने सम्भावना, अन्य पार्टीका उम्मेदवारको अवस्थालगायत विषय हेरेर सहकार्य वा तालमेल हुन सक्छ,’ उनले भने, ‘तर वाम एकता गर्ने निर्णय गरेर चुनावी तालमेल गरौं भनेर जाँदैनौं ।’ गुरुङले एमाले एकल शक्तिसाथ चुनावमा जाने बताए । ‘हामी आफ्नो शक्तिमा विश्वास गर्छौं, सबै स्थानीय तहमा एकल बहुमतका साथ सरकार निर्माण गर्ने कुरामा लाग्छौं,’ उनले भने ।

बैठकमा ओलीले कलात्मक ढंगले निर्वाचन सार्ने प्रयास भइरहेको बताएका थिए । निर्वाचन आयोगका गतिविधि र त्यसमा सत्तारूढ गठबन्धनको संलग्नतालाई ध्यानपूर्वक नियाल्नुपर्ने ओलीको भनाइ छ । ‘अझै पनि निर्वाचन सार्ने, नगराउने, पर धकेल्ने तयारी भइरहेको छ, त्यो पनि कलात्मक ढंगले भइरहेको छ, अरू आयुक्तहरूको नियुक्ति बदर गराउने हो भने दुई जनाले मात्रै गर्न सकिन्छ कि सकिँदैन भन्ने छलफल भइरहेको छ,’ ओलीको दाबी थियो ।

ओलीले निर्वाचन आयोगले मतपत्रको रङ हरियो राखेकामा पनि आपत्ति जनाएका छन् । उनले सत्तारूढ गठबन्धनसँग परामर्श गरेर आयोगले ‘रूख’ को जस्तै मतपत्रको रङ राख्न खोजेको बताए । ‘सत्ता गठबन्धनसँग परामर्श गरेर हरियो, नीलो राख्नुपर्ने ? अहिलेसम्म रङको कारणले चुनाव चिह्न चिनिएन भन्ने कुनै मतदाताबाट प्रश्न आयो ? रङ बदलेर हरियो किन राख्नुपर्‍यो ? सकेदेखि अरू पनि हरियो बनाउँछन् होला । सूर्य कसरी हरियो हुन्छ ?’ उनले भने । यतिबेला निर्वाचन आयोग स्पष्ट रूपमा एमालेविरोधी बनेको आरोप ओलीको थियो । ‘यस पटक हामी मतपेटिका आँखाबाट ओझेल हुन दिन्नौं, हाम्रो आँखाअगाडि मत हालिनुपर्छ । हाम्रो आँखाअगाडि मतपेटिकाको सुरक्षा गर्नुपर्छ र हाम्रो आँखाअगाडि मतगणना हुनुपर्छ,’ उनले भने ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयनको विधिमा एमालेले छलफल थालेको छ । यसअघि चैत १ मा बसेको एमालेको सचिवालय बैठकले स्थानीय चुनावका लागि प्रारम्भिक योजना र रणनीति तय गरेको थियो । त्यसलाई सोमबारको पोलिटब्युरो बैठकले केही परिमार्जन गरेको उपमहासचिव गुरुङले बताए । उनका अनुसार वडाध्यक्ष र सदस्यहरूको उम्मेदवारको सिफारिस वडा कमिटीले गर्ने र त्यसको निर्णय पालिका कमिटीले गर्नेछ । उनका अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको सिफारिस जिल्ला कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने भएको छ । नगरपालिकाका मेयर–उपमेयरका उम्मेदवारको निर्णय पनि प्रदेश कमिटीले गर्नेछ । महानगर/उपमहानगरपालिका मेयर र उपमेयरका उम्मेदवारको सिफारिस प्रदेश कमिटीले गर्ने र निर्णय केन्द्रीय कमिटीले गर्ने भएको छ ।

गुरुङका अनुसार एमालेले उम्मेदवार चयनका लागि ६ वटा मापदण्ड तय गरेको छ । जसअनुसार हालका जनप्रतिनिधिको कामको मूल्यांकन, कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण, उसको लोकप्रियता र चुनावमा विजयको सुनिश्चिततालाई मापदण्ड बनाएको छ । यसबाहेक पार्टीद्वारा सञ्चालित आन्दोलनमा उसले पुर्‍याएको योगदान र पार्टीप्रतिको निष्ठाका साथै संवैधानिक व्यवस्थाअनुसार समावेशी र सन्तुलनलाई पनि ध्यान दिएर उम्मेदवार चयन गर्ने उपमहासचिव गुरुङले बताए । उनका अनुसार एमालेले केन्द्रीय कमिटीका तर्फबाट पार्टी स्थापना दिवसका दिन (९ वैशाख) स्थानीय तहको निर्वाचनलाई घोषणापत्र जारी गर्ने भएको छ । सोही दिन ७ सय ५३ पालिकाहरूमा चुनावी प्रतिबद्धतापत्र पनि जारी गर्ने गुरुङले बताए ।

प्रकाशित : चैत्र ८, २०७८ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

जलस्रोतको बहुआयामिक प्रयोग

प्रवेशसिंह कुँवर

मानव शरीरको करिब ६० प्रतिशत भाग पानीले ओगटेको हुन्छ । पानी नै जीवनको आधार हो र जीवनको निरन्तरताका लागि यसको संरक्षण अपरिहार्य छ । पानीको मुहानको संरक्षणमै भावी पुस्ताको भविष्य निर्भर छ ।

संयुक्त राष्ट्रसंघले १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रूपमा मनाउँदै आइरहेको छ । नेपालमा पनि विभिन्न संघसंस्थाले यो दिन सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्ने गर्छन् । यस्ता कार्यक्रमले पानीको महत्त्व र संरक्षणबारे केही हदसम्म जानकारी दिन्छन् नै । यसपालिको विश्व पानी दिवसको अवसरमा नेपालको जलस्रोत, यसको बहुआयामिक उपयोग र विशेष गरी जलीय जीव उत्पादनको सम्भावनामाथि विमर्श गर्नु जरुरी छ ।

जलस्रोतको अवस्था
नेपालमा सानाठूला गरी करिब ६ हजार नदीनाला छन्, जसमध्ये कोशी, गण्डकी र कर्णाली प्रमुख नदी प्रणाली हुन् । यसका साथै पोखरी, ताल–तलैयादेखि सिमसार क्षेत्रहरू महत्त्वपूर्ण जलस्रोतका रूपमा छन् । एक अध्ययनअनुसार पानीले नेपालको कुल भूभागको करिब ५.६ प्रतिशत ओगटेको छ ।

जलस्रोतको उपयोग
जलस्रोतको प्रयोग विभिन्न प्रयोजनका लागि गर्ने गरिन्छ, जस्तो- पिउने पानीका रूपमा, सिँचाइका लागि तथा विद्युत् उत्पादन । विद्युत् विकास विभागका अनुसार हाल नेपालमा करिब १,८०० मेगावाट जलविद्युत् उत्पादन हुने गरेको छ । त्यसै गरी नेपालको १४ औं आवधिक योजनाको प्रगति विवरणअनुसार करिब १७.४ लाख हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । ३३ प्रतिशत भूमिमा वर्षैभरि सिँचाइ पुग्ने गरेको छ, जसलाई १५ औं योजनाले ५० प्रतिशत पुर्‍याउने लक्ष्यसमेत लिएको छ । नेपालको पहाडी ग्रामीण भेगमा घट्ट सञ्चालनका लागि पानीको प्रयोग गर्ने गरिन्छ भने अन्य मुलुकले पानीलाई यातायातका साधन सञ्चालन गर्ने माध्यम पनि बनाएका छन् । यसबाहेक जलीय खाद्य वस्तु उत्पादन गर्ने क्रम विश्वभरि नै दिनानुदिन बढ्दै छ ।

जलीय जीव उत्पादनको सम्भावना
नेपालमा २००३ सालमा कृषि परिषद् अन्तर्गत मत्स्य एकाइको स्थापना गरी सरकारीस्तरबाटै मत्स्यपालनको संस्थागत सुरुआत भयो । तत्पश्चात् क्रमिक रूपमा मत्स्यपालनको विकास हुँदै आए पनि यहाँको सम्भावना बमोजिम यो क्षेत्रको विकास भने हुन सकेन । जनसंख्या वृद्धिसँगै खाद्य वस्तुको माग बढ्नु स्वाभाविकै हो तर खेतीयोग्य जमिनको खण्डीकरण, घडेरीकरण र उत्पादनशील जनशक्ति पलायनले गर्दा खाद्यान्नका लागि समेत परनिर्भरता बढ्दै गैरहेको कटु यथार्थ छ । यसै सन्दर्भमा, हाम्रोसामु देशमा उपलब्ध जलस्रोतको उपयोग गर्दै प्रोटिनयुक्त गुणस्तरीय जलीय खाद्य वस्तुको उत्पादन गर्ने विकल्प भने नभएको होइन । केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र, बालाजुको पुस्तिका–२०७८ अनुसार नेपालमा उपलब्ध कुल जलाशयको २ प्रतिशतभन्दा कम भाग मत्स्य उत्पादनमा प्रयोग हुँदै आएकोबाट पनि यो क्षेत्रको विस्तारको सम्भावना उजागर हुन्छ । नेपालमा उपलब्ध जलीय जीव तथा जलस्रोतको विविधता, अनुकूल जलवायु, नवीनतम प्रविधिहरूको विकास र बढ्दो बजार मागजस्ता सकारात्मक पक्ष यो क्षेत्रको सम्भावनालाई थप उजागर गर्न पर्याप्त छन् । तर, यसका लागि उपयुक्त संगठन संरचना, जनशक्तिको विकास, अनुसन्धान र नीति तथा कार्यक्रमको आवश्यकता पर्छ ।

नेपालमा मत्स्यक्षेत्र माछा उत्पादनमा मात्र संकुचित भइरहेको छ । संयुक्त राष्ट्रसंघको खाद्य र कृषि संगठनले मत्स्यपालन क्षेत्रलाई माछापालनमा मात्र सीमित नराखी खाद्य वस्तुका रूपमा उपभोग गर्न सकिने अन्य जलीय जीवहरूको उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्छ भनेको छ । यहाँ उत्पादनयोग्य जलीय जीवमा झिंगेमाछा र घोंघी एवं खाद्य वस्तुमा सिंगडा र मखना आदि हुन सक्छन् । जलस्रोतको संरक्षण तथा संवर्द्धन गर्दै यसको बहुआयामिक र दिगो उपयोगका लागि हामी सबैमा सचेतनाको खाँचो छ ।

कुँवर नेपाल मत्स्य समाजका महासचिव हुन् ।

प्रकाशित : चैत्र ८, २०७८ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×