विद्यालय भवन बनाएर मात्र शिक्षा प्रणाली सुध्रिँदैन : उषा झा- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यालय भवन बनाएर मात्र शिक्षा प्रणाली सुध्रिँदैन : उषा झा

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय योजना आयोगका पूर्व सदस्य उषा झाले विद्यालय भवनहरु थपेर मात्रै गुणात्मक शिक्षा हासिल गर्न नसिकएको बताएकी छन् । सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर एजुकेसन समिट-२०२२ मा बोल्दै झाले अहिले भएकै शैक्षिक संस्था पर्याप्त रहे पनि गुणस्तरीय शिक्षाका लागि पहल हुन नसकेको बताएकी हुन् । 

‘शैक्षिक संस्थाहरुको संख्या धेरै भयो । अहिले भएका विद्यालयको अवस्था कस्तो छ ? देशले शिक्षा क्षेत्रमा खोजेको के हो ? आजको आवश्यकता के हो भनेर जानुपर्थ्यो,’झाले भनिन्, ‘प्राविधिक शिक्षाको पहुँच बढाउने हो भने हामीले व्यक्तिलाई लक्षित गरेर कार्यक्रम बनाउनुपर्छ । न कि, कुनै भवन वा पूर्वाधार बनाउने हो । शैक्षिक संस्थाहरुमा अब गुणात्मक नतिजा खोजिनुपर्छ । विद्यार्थीलाई प्राथमिकतामा राख्नुपर्छ । भवनलाई होइन ।’

त्यस्तै विद्यालयहरूलाई मर्ज (एकीकृत) गर्न सके शिक्षक अभावको समस्या समाधान हुने उनले बताइन् । त्यस्तै विद्यालयहरूलाई मर्ज (एकिकृत) गर्न सके ५८ हजार शिक्षक नचाहिने बताएकी छन् । अहिले भएका विद्यालय संख्याका आधारमा उक्त शिक्षक संख्या चाहिने भए पनि विद्यालयहरूलाई नै मर्ज गरेर लगिए शिक्षकको संख्या धेरै कम हुने उनको भनाइ थियो ।

संख्या बढीभन्दा पनि गुणस्तरीय शिक्षक आवश्यक रहेको उनको भनाइ थियो । शिक्षण संस्थाको भवन मात्र राम्रो बनाएर नहुने बताइन् । ‘ऐन कानुन मात्र बनाएर हुँदैन,’ उनले भनिन्, ‘कार्यान्वयन र मूल्यांकनको पक्ष एकदम कमजोर छ, यसलाई प्रभावकारी बनाउन जरुरी छ ।’

उनले प्राविधिक शिक्षाले पनि सबैलाई समेट्न नसकेको उनको भनाइ छ । ‘त्यसैले प्राविधिक शिक्षालाई कुन रूपमा लग्ने हो, कतिवटा चाहिने हो, पालिका तहमै म्यापिङ गरेर गयौं भने त्यसपछि संघीय तहमा कार्यान्वयनका लागि निर्देशन दिन सकिने थियो,’ उनले भनिन, ‘यो गर्न सम्भव छ र आवश्यकता पनि हो ।’

प्रकाशित : चैत्र ७, २०७८ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्

नेपाल यूएईसँग ९९ रनले पराजित

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकप लिग २ क्रिकेटमा नेपाल यूएईसँग ९९ रनले  पराजित भएको छ । २०३ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपाल  ३५.१ ओभरमा १०३ रनमै अलआउट भएको हो । 

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । ६५ बल खेलेका उनले २ चौकाको सहयोगमा ३० रन मात्र बनाएका हुन् । त्यस्तै आरिफ शेख र सोमपाल कामीले १५/१५ रन बनाए । त्यस्तै विनोद भण्डारीले १२ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईका लागि जुनैद सिद्दीकीले ४ विकेट लिए । त्यस्तै काशिफ दाउद र अहमद राजाले २/२ तथा बासिल हमीदले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको थियो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मोहम्मद वासिम र चिराग सुरीले पहिलो विकेटमा १६ ओभरमा ५७ रन जोडेर यूएईलाई मध्यम सुरुवात दिलाएका थिए । सन्दीपले वासिमलाई एलबीडब्लू आउट गरी यो साझेदारी तोडेका थिए । वासिमले ५१ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी ३३ रन बनाए ।

सुरी २६ रन बनाई करण केसीको बलमा आउट भए । उनले ५४ बल खेली ३ चौका प्रहार गरे । सी रिजवानलाई दीपेन्द्रसिंह ऐरीले ४ रनमा आउट गरे । वृत्य अर्भिन्दले २४ रन बनाए । यूएईका प्रमुख यी ब्याटरले ४५ बल खेली १ चौका प्रहार गरे । उनलाई आरिफ शेखले बोल्ड गरे ।

नेपालसँगको पहिलो खेलमा विजय दिलाउँदाका नायक रोहन मुस्तफाले बसिल हमिदसँग पाँचौं विकेटमा ४७ रन जोडे । त्यस्तै १७ रन बनाएका हमिदलाई सन्दीपले आफ्नै बलिङमा क्याच आउट गरे । मुस्ताफाले यूएईबाट सर्वाधिक ६० रन बनाए । ७३ बल खेली २ चौका र १ छक्का प्रहार गरेका उनलाई सोमपाल कामीले बोल्ड गरे ।

सन्दीपले १० ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए भने सोमपाल र करणले २–२ विकेट लिए । सोमपालले १० ओभरमा ४४ र करणले ९ ओभरमा ३६ रन खर्चिए ।

नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरे पनि अर्को खेलमा यूएईसँग नै ४० रनले पराजित भएको थियो ।

प्रकाशित : चैत्र ७, २०७८ १८:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×