वैशाख ९ मा चुनावी घोषणा पत्र सार्वजनिक गर्दै एमाले

कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने एमालेको तयारी ।
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (एमाले)ले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टी स्थापना दिवसको अवसर पारेर केन्द्रको तर्फबाट चुनावी घोषणा पत्र र सबै स्थानीय तहहरुले आ–आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्ने निर्णय गरिएको जानकारी दिए ।

एमालेले स्थानीय तहका निर्वाचनमा उम्मेदवारहरु तय गर्ने विधि र मापदण्ड पनि बनाएको छ । स्थानीय तहको वडाध्यक्ष र वडा सदस्यहरुको वडा कमिटीले सिफारिस गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ । त्यसैगरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तय गर्न गाउँ कमिटीले सुझाव दिने र त्यसैको आधारमा सम्बन्धित जिल्ला कमिटी सिफारिस गरेपछि प्रदेश कमिटीले निर्णय गर्नेछ ।

प्रचार विभाग प्रमुख गुरुङले नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि प्रदेश कमिटीले नै निर्णय गर्ने जानकारी दिए । उपमहानगरपालिका र महानगरपालिकाको मेयर, उपमेयर भने प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ । विगतको कामको मूल्यांकन, उनीहरुको कार्यक्षमता, विकास र सुशासनप्रतिको उनीहरुको दृष्टिकोण उम्मेदवार चयनका मुख्य मापदण्ड भएको एमालेले जनाएको छ ।

त्यस्तै लोकप्रियता, चुनावमा जितको सुनिश्चितता पनि अर्को मापदण्ड हुने प्रचार विभाग प्रमुख गुरुङले बताए । ‘स्थानीय तहका उम्मेदवारहरुको सिफारिस गर्दा वडाध्यक्षहरु, वडा सदस्यहरुको सिफारिस वडा कमिटीहरुले गर्ने र त्यसको निर्णय चाहिँ पालिका कमिटीहरुले गर्नेछ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सिफारिस गाउँपालिका कमिटीहरुको सुझावमा जिल्ला कमिटीले गर्छ । र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले निर्णय गर्छ । नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि त्यसको निर्णय चाहिँ प्रदेश कमिटीले गर्छ । बाँकी महानगरपालिकाको मेयर, उपमेयरको निर्णय चाहिँ प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले गर्छ,' प्रचार विभाग प्रमुख गुरुङले भने।

प्रकाशित : चैत्र ७, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्

विश्वविद्यालयलाई ब्यारेक बनाउँछु भन्नेलाई कुलपति बनाउने गरिएको छ : सहप्राध्यापक लामिछाने

कान्तिपुर संवाददाता

काठमाडौँ — जापानको चुकुवा विश्वविद्यालयका सहप्राध्यापक कमल लामिछानेले नेपालमा विद्यार्थीले खोजेअनुसारका प्राध्यापक नभएको बताएका छन् ।

सोमबार कान्तिपुर पब्लिकेसनद्वारा सञ्चालित एजुकेसन समिट-२०२२ को तेस्रो सत्रमा 'ज्ञानको गन्तव्य स्वदेश कि विदेश ?' विषयमा बोल्दै उनले नेपालमा दलगत प्राध्यापक मात्रै भएको तर विद्यार्थीलाई पढाउने, अनुसन्धानमा सघाउने प्राध्यापक नभएको दाबी गरे ।

'यहाँ कि त कांग्रेसका प्राध्यापक छन् कि कम्युनिस्टका तर विद्यार्थीलाई पढाउने र अनुसन्धानमा सघाउने प्राध्यापक नै भएनन्,' उनले भने ।

शिक्षालयको कुलपति प्रधानमन्त्री बन्ने व्यवस्थामा परिवर्तन नआएसम्म विश्वविद्यालयमा रहेका बेथिति नहट्ने भन्दै सहप्राध्यापक लामिछानेले भने, ‘शिक्षालयको कुलपति प्रधानमन्त्री बन्ने व्यवस्था छ; यो व्यवस्थामा फेरबदल नआएसम्म र विश्वविद्यालयलाई स्वायत्त संस्थाका रूपमा विकसित नगरेसम्म विश्वविद्यालयका बेथिति घट्दैनन् ।’

‘हामीले त्यस्तालाई कुलपति बनाउने गरेका छौं, जसले लहडमा विश्वविद्यालयलाई ब्यारेक बनाइदिनुपर्छ भन्छ,’ लामिछानेले प्रश्न गरे, ‘यस्तोमा हाम्रा विश्वविद्यालय आकर्षणका केन्द्र कसरी बन्न सक्छन् ?’

प्रकाशित : चैत्र ७, २०७८ १६:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×