२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

यौन दुर्व्यवहार आरोपितमाथि भीड जाइलाग्दा प्रहरीको मृत्यु

मोरङ लेटाङकी १२ वर्षीया विद्यार्थीलाई दुर्व्यवहारको आरोप लागेका शिक्षक जोगाउन प्रहरी आएको आशंकामा स्थानीय हिंस्रक, धारिलो हतियार प्रहारबाट महिला प्रहरीको ज्यान गयो
विनोद भण्डारी

विराटनगर — यौन दुर्व्यवहारका आरोपित पक्राउ गर्न गएको प्रहरीमाथि आक्रोशित भीडले आक्रमण गर्दा एक महिला प्रहरीको मृत्यु भएको छ । मोरङको लेटाङ–५ खेरुवामा भएको झडपमा घाइते प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको हो ।

यौन दुर्व्यवहार आरोपितमाथि भीड जाइलाग्दा प्रहरीको मृत्यु

होलीका दिन गत शुक्रबार रङ खेल्दै घरमा आएका शिक्षक मनोज पौडेलले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएकी थिइन् । सामाजिक शिक्षा पढाउने ५६ वर्षीय पौडलको विषयमा छलफल गर्न आइतबार विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसेको थियो । बैठकले पौडेललाई प्रहरीको जिम्मा लगाउने निर्णय गरेको थियो ।

आरोपित शिक्षकलाई बाहिर निकाल्दा आक्रमण हुन सक्ने आकलन गर्दै शिक्षकहरूले प्रहरीलाई नै विद्यालय परिसरमा बोलाएका थिए । स्थानीय प्रशान्त निरौलाका अनुसार विद्यालयमा छलफल चलिरहँदा आक्रोशित भीड पस्यो र शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गर्‍यो । स्थिति नियन्त्रणमा लिन आएको प्रहरीसँग झडप भएको हो ।

यौन दुर्व्यवहार आरोपित पौडेललाई नियन्त्रणमा लिएर लैजान खोज्दा भीडले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । उनका अनुसार आक्रोशित भीडले छुरा प्रहार गरेको थियो । महिला प्रहरी श्रेष्ठको शव राति ११ बजे कोसी अस्पतालमा पुर्‍याइएको छ । उनको घाँटीमा धारिलो हतियार लागेर ठूलो प्वाल परेको आकस्मिक कक्षका एक चिकित्सकले बताए ।

भीडले सवारीसाधनमा आगजनी र तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो । लेटाङ–८ का मिलन खड्का र आयुष लिम्बूलाई प्रहरीको गोली लागेको छ । नोबेल शिक्षण अस्पतालमा उपचार गराइरहेका उनीहरूको अवस्था सामान्य रहेको प्रजिअ दाहालले बताए । घटनामा थप १६ जना सुरक्षाकर्मी घाइते भएको उनको भनाइ छ । घाइते प्रहरीको कोसी र नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : चैत्र ७, २०७८ ०६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?