कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंहदरबारमा हेल्थ डेस्क सुरु

काठमाडौँ — सात हजारभन्दा बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौं सेवाग्राही आउने मुलुककै प्रमुख प्रशासनिक निकाय सिंहदरबार परिसरमा वीर अस्पतालले 'हेल्थ डेस्क' आइतबारबाट पुनः सञ्चालनमा ल्याएको छ ।

सिंहदरबारमा हेल्थ डेस्क सुरु

२०७४ मा स्थापना भएको स्वास्थ्य सेवा केन्द्र कोभिड महामारी र स्थान अभावका कारणले बन्द रहेको थियो । वीर अस्पतालका दुई जना चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मी रहने डेस्क बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

डेस्कमा अक्सिजनसहित बेड, स्वास्थ्य परीक्षण, सुगर, प्रेसर, ड्रेसिङलगायत जाँच गरी औषधि समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ । यस्तै आपतकालीन अवस्थामा ऐम्बुलेन्सको पनि व्यवस्था गरिएको छ ।

वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा. डा भुपेन्द्र बस्नेतले डेस्क सञ्चालन आएपछि कर्मचारीलाई स्वास्थ्य जाँच गर्नकै लागि कार्यालय छाडेर बाहिर अस्पताल जानु नपर्ने बताए । साथै तत्काल आउने स्वास्थ्य समस्याबाट बचाउन सकिने पनि उनले बताए ।

समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नशा रोग, नाक-कान-घाँटी, छाला, स्त्री सम्बन्धी रोग विशेषज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको सिंहदरबार हेल्थ डेस्कका प्रमुख परामेडिक्स दिपक मुडभरीले बताए ।

प्रकाशित : चैत्र ६, २०७८ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?