कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

लन्डन प्रहरीद्वारा नेपालबाट हराएका दुई प्राचीन सम्पदा दूतावासलाई हस्तान्तरण

लन्डन — लन्डनस्थित महानगरीय प्रहरीले नेपालबाट हराएका दुईवटा प्राचीन सम्पदा नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ ।

लन्डन प्रहरीद्वारा नेपालबाट हराएका दुई प्राचीन सम्पदा दूतावासलाई हस्तान्तरण

नेपाली दूतावास लन्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले राजदूत ज्ञानचन्द्र आचार्यलाई ती सम्पदा हस्तान्तरण गरेका हुन् ।

सन् १९८० देखि १९९० को दशकमा काठमाडौं हनुमानढोका नजिक कुमारी बहाबाट हराएको १६ औं शताब्दीतिर काठमा कुँदिएको कलात्मक तोरण र सन् 
१९८० दशकमा हराएको १८ औं शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुंगाको मूर्ति काठमाडौं ओमबहालनजिक मन्जुश्री मन्दिरबाट हराएको थियो ।

राजदूत आचार्यले हराएका प्राचीन सम्पदा भेट्टाएर हस्तान्तरण गरिदिएकामा लन्डन प्रहरी, ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा. इमिलिन स्मिथलगायत सहयोगीप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहकार्यको अपेक्षा गरे ।

हस्तान्तरण गरिएका मूर्ति चाँडै नै नेपाल पुरातत्व विभागमा पठाइने राजदूत आचार्यले बताए ।

डिटेक्टिभ सुपरिटेन्डेन्ट रोचले बरामद गरिएका बहुमूल्य प्राचीन सम्पदा फिर्ता गर्न पाउँदा खुशी लागेको बताए । चोरी हुनुअघि तस्बिर लिइएकाले पनि मूर्ति पत्ता लगाउन सहज भएको उनको भनाइ थियो ।

ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा. स्मिथले नेपाललाई ती सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकामा गर्व लागेको बताइन् । 'मलाई जहाँसम्म लाग्छ, पहिलो पटक यसरी निजी ग्यालरीबाट स्वेच्छाले सम्पदा फिर्ता गरिएको छ । पक्कै पनि लुटिएका, चोरिएका र गैरकानुनी ओसारपसार गरिएका अरु कैयौं सम्पदा विदेशमा छन् । नेपालले चाहे ती छिट्टै फर्कन सक्ने मेरो आशा छ,' इमिलिनले भनिन् ।

लन्डनस्थित नेपाली दूतावास र लन्डन मेट्रोपोलिटन प्रहरीले सांस्कृतिक सम्पदा संरक्षणमा निकट रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बेलायत र नेपालका जनता जनताबीचको लामो सम्बन्ध थप बलियो बनाउने प्रतिबद्धता पनि उनीहरुको छ ।

हस्तान्तरण समारोहमा बेलायतको विदेश मन्त्रालयकी प्रतिनिधि मारिया अब्दुलहुसेन, प्रहरी अधिकृतहरु र दूतावास कर्मचारी सहभागी थिए ।

प्रकाशित : चैत्र ५, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×