कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

नेपाल र अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

काठमाडौँ — नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ ।

नेपाल र अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति

गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले गरेको द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीच श्रम सम्झौता गर्ने सहमति भएको हो ।

रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुंगोमा पुर्‍याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि नेपाली कामदार लैजान सिसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिँदै सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताएका थिए । न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्तीलगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्ने बताइएको छ ।

कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव थानेश्वर भुसालले नेतृत्व गर्नेछन् । अहिले एक हजार २५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेको बताउँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीलाई ल्याउन इच्छुक रहेको बताएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । सिसेल्समा अहिले सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही नेपाली कार्यरत छन् ।

भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवामा पनि नेपालीलाई रोजगारी दिन सकिने बताएका थिए । भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव थानेश्वर भुसाल थिए भने गणतन्त्र सिसेल्सको रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको उपस्थिति थियो । नेपाल र सिसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।

प्रकाशित : चैत्र ४, २०७८ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×