१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

आउँदो चुनावमा कलमले कमाल देखाउनेछ : नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामर्थ्य देखिने बताएका छन् । 

आउँदो चुनावमा कलमले कमाल देखाउनेछ : नेपाल

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामथ्र्य देखिने बताएका हुन् । चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले आफूहरुलाई खिस्सीट्युरी गर्नेहरुको हरिबिजोग हुने बताए । उनले पार्टीको चुनाव चिन्ह कलमले कमाल देखाउन सक्नुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई पार्टीको संगठन निर्माण, परिचालन र प्रचार प्रसारको काममा केन्द्रित हुन पनि निर्देशन दिए । उनले भने, ‘हाम्रो पार्टी नेकपा(एकीकृत समाजवादी)को भविष्य उज्ज्वल छ । जसको चुनाव चिन्ह कलम हो । वैशाख ३० गतेको चुनावको बेलामा कलमको कमाल देखिन सक्नुपर्दछ । सत्य र न्यायको प्रतीकको रुपमा रहेको त्यो कलमले अवश्य कमाल गर्नेछ भन्ने आशा गर्दै कलमको प्रचार अभियानमा गाउँ–गाउँ, टोल–टोल, बस्ती–बस्तीमा हामी पुगौँ ।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा प्रगतिशील भूमिका खेल्नेहरु पुरस्कृत र प्रतिगामी भूमिका खेल्नेहरु दण्डित हुनुपर्ने बताए । प्रतिगामी भूमिका खेल्नेहरु पुरस्कृत भएमा समाज बाँच्न लायक पनि नहुने उनको भनाइ छ । राजनीतिलाई आकर्षणको विषय बनाउनका लागि राजनीतिमा असल पात्र, प्रवृत्ति र चरित्रलाई अगाडि सार्नुपर्ने उनले बताउनुभयो ।

‘आउने वैशाख ३० गतेको यो चुनावले जनतालाई फैसला गर्ने अधिकार दिएको छ । जसले प्रगतिशील भूमिका खेलेको छ, त्यसको उच्च मूल्यांकन हुनुपर्दछ । जसले प्रतिगामी भूमिका खेलेको छ, त्यसले दण्डित हुनुपर्दछ । प्रतिगामी भूमिका खेल्नेहरु, आन्दोलनको विकासमा बाधक हुनेहरु यदि पुरस्कृत हुन पुगे भने हाम्रो यो समाज बाँच्न लायक हुँदैन । त्यस हुनाले यो राजनीति जनताको प्यारो राजनीति हुन सक्दैन । राजनीतिलाई आकर्षणको विषय बनाउने हो भने राजनीतिमा असल प्रवृत्ति, असल चरित्र, असल पात्रहरुलाई अगाडि सार्नुपर्दछ,’ उनले भने ।

प्रकाशित : चैत्र ३, २०७८ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?