१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४०९

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्री पौडेलको आग्रह

रासस

काठमाडौँ — शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।

विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्री पौडेलको आग्रह

नेपाल प्राध्यापक संघका पदाधिकारीसँग बुधबार सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताउँदै भने, 'लोकतान्त्रिक मर्यादाअनुरूप माग प्रस्तुत गर्न पाइन्छ, लामो समयसम्म पढाइ अवरुद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्‍यो । प्राध्यापक संघले गृहकार्य गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुहोस् ।'

उनले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताए । प्राध्यापकका सेवासुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलले बताए ।

विश्वविद्यालयहरु समस्या परे मात्र मन्त्रालयमा आउने गरेको भन्दै नियमन संयन्त्र र स्वायत्तको स्पष्ट खाका तयार गर्नुपर्ने पनि मन्त्री पौडेलले बताए । विश्वविद्यालयहरूले समस्या परेका बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएको उनले बताए ।

छलफलमा संघका तर्फबाट बुद्धबहादुर थापाले प्राध्यापकहरूको मर्यादाक्रम २०७४ सालको मन्त्रिपरिषद्को बैठकबाट निर्णय भएर राजपत्रमा आइसकेकाले कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गरे ।

प्राध्यापकहरुको तलबमान सार्कस्तरीय बनाउनुपर्ने, त्रिवि र नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरूको निवृत्तिभरण उपलब्ध गराउनुपर्ने, प्राध्यापक र विश्वविद्यालयका शिक्षक कर्मचारीहरूलाई समेत निजामती अस्पतालभन्दा बेग्लै किसिमको स्वास्थ्य सेवाको व्यवस्था हुनुपर्ने लगायतका माग राखेर लामो समयदेखि आंशिक प्राध्यापक तथा विभिन्न विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गर्दै आइरहेका छन् ।


प्रकाशित : चैत्र २, २०७८ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?