२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

शैक्षिक पूर्वाधार निर्माणमा सहयोग निरन्तर : भारतीय राजदूत क्वात्रा

गणेश राई

काठमाडौँ — नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको शैक्षिक पूर्वाधारका निम्ति भारत सरकारले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै थप सहयोग गर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास गर्दै मंगलबार उक्त विचार व्यक्त गरेका हुन् । 

शैक्षिक पूर्वाधार निर्माणमा सहयोग निरन्तर : भारतीय राजदूत क्वात्रा

‘त्रिभुवन विश्वविद्यालयको पुस्तकालय भवन निर्माणको शिलान्यास गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने, ‘भारत सरकारको पुनर्निर्माण परियोजनाअन्तर्गत अनुदान प्रणालीमा निर्माण हुन लागेको सबैभन्दा ठूलो लगानी हो । भारतले नेपाललाई शिक्षा क्षेत्रमा ५० मिलियन अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ) बराबरको अनुदान सहयोग गरेको छ ।’ निर्माणको चरणमा रहेको पुस्तकालय भवन वास्तुकलामा आधारित र अत्याधुनिक सुविधासहितको हुने बताए ।

‘भारतका सेन्ट्रल बिल्डिङ रिसर्च इन्स्टिच्युट (सीबीआरआई)ले मूल्यांकन गरेअनुसार भूकम्प प्रतिरोधात्मक भवन बन्ने छ,’ पुस्तकालय निर्माणमा दूतावासले विशेष चासोका साथ लिएको उल्लेख गर्दै भने, ‘भवन निर्माण कार्य भारत र नेपालबीचको लामो मित्रताको प्रतिफल हो । नयाँ भवन पनि भारत सरकारकै पहलमा बनेकोमा हामी गर्व गर्छौं ।’

भारतले २०२४ सालमा निर्माण गरिदिएको त्रिवि केन्द्रीय पुस्तकालय भवन ०७२ को भूकम्पले जीर्ण बनेको छ । त्यसैगरी पुस्तकालयसँगै गान्धी भवन, जाकिर हुसेन रोज गार्डेनसमेत भारत सरकारले निर्माण गरिदिएको थियो । ‘अहिले फेरि नयाँ भवन बन्नु भारत र नेपालबीचको महान सम्बन्धको साक्षीसमेत हो,’ पुस्तकालय सामाजिक मिलनबिन्दुका रूपमा रहने उल्लेख गर्दै राजदूत क्वात्राले भने, ‘नेपालको वर्तमान र भावी पुस्ताका लागि समेत आवश्यक शैक्षिक पूर्वाधार निर्माणमा भारत सरकार निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गर्दछु ।’

भूकम्पपछि भारतीय सहयोगमा ४० विद्यालय भवन निर्माण भइसकेका छन् भने ५६ वटा निर्माण सम्पन्न हुने चरणमा रहेको उनले जनाए । ‘नेपालको शिक्षा क्षेत्रमा योगदान गर्न पाएकोमा हामी गौरवान्वित छौं,’ राजदूत क्वात्राले भने, ‘बालबालिकादेखि युवाको शैक्षिक भविष्य निर्माणमा आवश्यक भएकाले पनि यो उदाहरणीय कार्य हो ।’

३६ करोड ११ लाख ६६ हजार रुपैयाँ लागतमा त्रिवि केन्द्रीय पुस्तकालय निर्माण सुरु भएको हो । यसका अलावा भारत सरकारको इक्जिम बैंकमार्फत त्रिविका ३८ वटा क्याम्पस भवन निर्माण हुन बाँकी रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका निर्देशक रामशरण सापकोटाले जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकारले त्रिवि केन्द्रीय पुस्तकालय, राजधानीको जमलमा राष्ट्रिय पुस्तकालय र केशर पुस्तकालय भवन निर्माण कार्य मुख्य प्राथमिकतामा राखेको बताए । ‘केन्द्रीय पुस्तकालयलगायत विश्वविद्यालयदेखि विद्यालयका भवन निर्माणमा सहयोग गरेकोमा भारत सरकारप्रति आभार प्रकट गर्दछु,’ मन्त्री पौडेलले भने, ‘भारत सरकार र एक्जिम बैंकलाई धन्यावद दिन चाहन्छु ।’ मुलुकको शिक्षा सुधारका निम्ति आवश्यक कानुन निर्माण, कार्यान्वयन तथा शैक्षिक गुणस्तर सुधार निम्ति सबै जिम्मेवार पक्षले संकल्प गर्नुपर्ने उनले बताए ।

त्रिवि शिक्षाध्यक्ष प्राध्यापक शिवलाल भुसालले पुस्तकालय र विश्वविद्यालयको शैक्षिक सुधारको पक्षमा बोलेका थिए । पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठले २०१६ सालमा स्थापित पुस्तकालयमा हाल ४ लाख ३० हजार पुस्तक र ४ लाख ५० हजारभन्दा बढी ई-बुक, ५० लाखभन्दा बढी ई-थेसिस डिजर्टेसन तथा जर्नल, म्यागजिन तथा रिपोर्टहरू रहेको बताए । केसी हनुमान जेभीले गत पुसबाट निर्माण आरम्भ भएको र सुरु भएको पन्ध्र महिनाभित्र निर्माण सम्पन्न गर्ने जनाएको छ ।

प्रकाशित : चैत्र १, २०७८ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?