२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४३

कांग्रेसमा स्कोप नदेखेकाले एमाले रोजेँ : मेयर सरावगी

कान्तिपुर संवाददाता

काठमाडौँ — वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् । 

कांग्रेसमा स्कोप नदेखेकाले एमाले रोजेँ : मेयर सरावगी

सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताए पनि पार्टीभित्र दुर्व्यहार हुने गरेकाले एमाले प्रवेश गरेको बताएका हुन् ।

विगतमा आफूले जसपा छोड्न दुई पटक राजीनामा दिए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए । सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएकोले आफूले नयाँ पार्टी रोज्नुपरेको उनको भनाइ छ । ‘पूर्ण रुपमा यो महानगरपालिका र पूरै पर्सा जिल्ला जिताएर पनि जुन ढंगले मलाई पार्टीले मलाई राख्नुपर्थ्यो । किनभने म त राजनीतिक पृष्ठभूमिबाट आएको थिइनँ । म आर्थिक र सामाजिक पृष्ठभूमिबाट आएको व्यक्ति थिएँ । जनताले मलाई माया गरेर त्यतिबेला मेयरमा चुनाव पनि जिताए । त्यसपछि पार्टीले जुन ढंगले मलाई ट्रिटमेन्ट गर्नुपर्थ्यो, जुन ढंगले मलाई राख्नुपर्थ्यो नराख्न सकेको कारणले गर्दा दुई पटक मैले राजीनामा पनि दिएँ । राजीनामा दिँदाँदिदै पनि अध्यक्ष उपेन्द्र यादवजीले त्यतिबेला मलाई रोक्ने प्रयास धेरै गर्नुभयो । म रोकिएँ पनि । तर लगातार मसँग दुर्व्यहारहरु हुने, सामाजिक रुपमा मलाई जहिल्यै पनि एक प्रकारको मानमर्दन गर्ने जुन कामहरु भइराखेको थिए । मैले अध्यक्षजीलाई पहिला पनि भनिसक्या थिएँ कि, म यो पार्टीमा बस्दिनँ यो ढंगले । र त्यो कारणले गर्दा मैले एउटा नयाँ पार्टी रोजेँ,’ उनले भनेका छन् ।

मेयर सरावगीले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण एमाले रोजेको बताए । आफू कांग्रेस प्रवेश गर्ने विकल्प हुँदाहुँदै पनि कांग्रेसमा जनप्रतिनिधि बन्ने अवस्था नभएकाले कांग्रेस नरोजेको उनको भनाइ छ ।

कांग्रेसमा पहिलेदेखि नै नेताहरूको भीड भएकाले एमाले रोजेको उनले बताए । ‘नयाँ पार्टी रोज्ने बेलामा म सँग दुईवटा अप्सन थिए, एउटा अप्सन थियो म कांग्रेसमा जाउँ । अर्को अप्सन थियो एमालेमा जाउँ । कांग्रेसमा जाने अप्सन अलिकति कमजोर किन भयो भने वहाँ पहिलादेखि यति भीड छ । यति मान्छेहरुले त्यहाँ पहिलादेखि नै लाइनमा लागिराखेको छ आफ्नो जनप्रतिनिधिको अगाडि बढ्नका लागि । त्यहाँनिर धेरै स्कोप नभएको हुनाले र एमालेका केपी ओलीजीको राष्ट्रिय भावना र उहाँको विकास प्रति जुन एउटा चाहाना मैले देखेँ । त्यो सबैबाट प्रेरित भएर त्यसपछि म एमालेलाई रोजेँ ।’

एमालेमा कुनै पद पाउनका लागि सर्त राखेर नगएको पनि उनले बताएका छन् । पार्टीले आफ्नो काम र प्रस्तुति हेरेर दिने जिम्मेवारी आफू लिन तयार रहेको सरावगीले बताए ।

आगामी निर्वाचनमा पार्टीले मेयरको टिकट दिए मेयर बन्न तयार रहेको स्पष्ट पार्दै उनले अन्य जिम्मेवारी दिए पनि स्वीकार गर्ने बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७८ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?