कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिर्जना र स्वतन्त्रताको कुरा गरौं, राजनीतिकरण नगरौं : प्रकाश सपुत

समाजमा टिप्नुपर्ने कैयौं कथा छन् । गाउनुपर्ने कयौं, गीत छन् । तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन् ।
अब भिडियो नै हटाउँदा युद्ध, आन्दोलन, गणतन्त्र, स्वतन्त्रताको अपमान हुने हो कि ?
कान्तिपुर संवाददाता

काठमाडौँ — गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत 'पिर' माथि विवाद भएपछि त्यसबारे थप स्पष्ट पारेका छन् । उनले सोमबार आफ्नो फेसबुक पेजमार्फत गीतमाथि उठेका प्रश्नको जवाफ दिँदै यसलाई राजनीतिकरण नगर्न अनुरोध गरेका छन् ।

सिर्जना र स्वतन्त्रताको कुरा गरौं, राजनीतिकरण नगरौं : प्रकाश सपुत

सिर्जना र स्वतन्त्रताको कुरा गर्दै उनले भनेका छन्– 'सिर्जना र स्वतन्त्रताको कुरा गरौं । तर, यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु । मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ।'

प्रकाश सपुतको वक्तव्यको पूर्णपाठ :

नमस्कार !

'पिर' प्रतिको शुभेच्छाका लागि तपाईंहरु सबैलाई धेरै-धेरै धन्यवाद ! सबैको अपेक्षा अनुसारको सिर्जना गर्न सम्भव नहुँदो रहेछ। सधैँ कसैको मन नबिझाई सबैको मुटुमा बस्ने सर्जकको चाहना पूरा नहुने रहेछ । त्यसैले मेरो नयाँ गीत 'पिर'का कारण केही दर्शकस्रोतालाई मर्का परेको मैले महसुस गरेको छु ।

गीतले भन्ने चाहेको कुरा यहाँलाई अवगत भइसकेको छ । एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरुको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सबै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईंहरुका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईंहरु (केही)ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु ।

'पिर'बाट मैले युद्धकै जग/ बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हौं । समानताको लागि एकसाथ लडेका कमरेडहरु बीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हौं । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको हुँ ! मलाई लागेको - यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरुमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरुमा त्यसबारे लेखिँदै / पढिँदै आएको होइन र ? छर्लङ्गै देखिएको विषय होइन र ? स्वीकारिएको विषय होइन र ?

जसरी यसअघिका गीतहरु 'बोल माया', 'दोहोरी ब्याटल', 'गल्बन्दी', 'बदला बरिलै', 'फुटेका चुरा' , 'मेरो पनि हैन र यो देश' , 'कुरा बुझ्न पर्छ ' गीतहरुमा कथा बुन्थेँ, पात्र बनाउथें , टुक्का टिप्थे, लय हाल्थे र रेकर्ड / छायांकन गर्थें । यसमा पनि त्यही प्रक्रिया छ ।

गीतको पृष्ठभूमिका बारेमा केही अवगत गराउन चाहन्छु । ६ वर्ष अगाडि करिब ४ वर्ष दोहोरी साँझमा काम गर्दा गाउने/बजाउने/ पकाउने/ पस्कने मध्येका थुप्रै सहकर्मीहरु पूर्वलडाकु थिए । उनीहरु चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पष्ट पार्न चाहन्छु । प्रतीकात्मक रुपमा दृश्यहरु निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो 'पिर' । योबीचमा मैले यस्ता पात्रहरुको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ । केही पात्रहरुसँग भेटेर कुराकानी पनि गरेँ । केही पात्रहरु पढेँ । आम मानिसका भोगाई र संवेदनाहरु बुने र भिडियो बनाएँ । मेरो पेसा र पहिचान यही हो ।

एउटै गीतमा सबै दृष्टिकोण अटाउन सकिँदैन । पूरै बुझाई आउँदैन। त्यसैले अर्को गीतमा अर्को कथा भन्नु त छँदैछ, त्यसमा अर्कै दृष्टिकोण समेटौंला। अहिले अलि धेरै कोट्याएर हेरिएको एउटा दृश्य छ, त्यो आत्मसम्मानसँग जोडिएको प्रतीकात्मक दृश्य हो । प्रतीकात्मक रुपमा राखिएका यस्ता दृश्यहरुले कसैको आत्मसम्मानमा असर पुग्न गएको छ भने म फेरि आत्मालोचना गर्छु । यद्यपि मैले भिडियोको सुरुमा यो कुरा लेखेको पनि छु। माफि मागेको छु । अब यस्ता पात्रहरु छन् वा छैनन् भन्नेतर्फ नजाऔं । त्यसो हो भने मुना/मदन छन् कि छैनन् ? सुम्निमा र सोमदत्त खोज्न कहाँ जाने ? सुयोगवीर र सकम्बरी कहाँ होलान् ? कहाँ होला घुम्ने मेचमाथि बसेको अन्धो मान्छे ? खैर, भिडियोलाई फेरि एकपटक अक्षरस हेर्ने हो भने व्यवस्था परिवर्तनमा माओवादी युद्ध र आन्दोलनलाई कहीँनेर पनि गलत अर्थ्याइएको छैन । बरु भएभरका परिवर्तनको जस दिइएको छ । भिडियोमा देखिएका पात्रहरु जस्तैको बलिदानीले पाएको यो नयाँ व्यवस्थामा मैले यति धेरै फाइदा उठाएको छु भने उनीहरुको अवस्थाको गीत किन नगाउने भन्ने हो । अब भिडियो नै हटाउँदा पो युद्ध / आन्दोलन / गणतन्त्र / स्वतन्त्रताको अपमान हुने हो कि? म अत्यन्त अन्तरमुखी र शान्त मनुवा हुँ । म सर्जक हुँ, सिर्जना नै मेरो विचार हो ! आवाज हो । विवाद मेरो स्वभाव र ल्याकतको कुरा होइन ! मैले कसैसँग पनि यो विषयमा सहयोग/ सल्लाह लिएको छैन ! त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु ! मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु ! मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला ! कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष /विपक्षमा एकोहोरो भइन्छ ! नेपाली सोसियल मिडियामा यो गलत नजिर स्थापित भएको छ ! विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौं ! तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्वीकारिसक्नु भएको छ ! त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो । भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सम्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु ! यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ! कसैले नियतवश उक्साएर वा कसैले निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपारौं ! न अल्झाऔं ! किनकि समाजमा टिप्नुपर्ने कैयौं कथा छन ! गाउनुपर्ने कयौं, गित छन् ! तपाईंले नै लडेर ल्याएको नयाँ व्यवस्थामा पनि सोध्नुपर्ने कैयौं प्रश्नहरु छन् । प्रश्नहरुलाई निरुत्साहित नगरिदिनुहोस् ।

–प्रकाश सपुत

प्रकाशित : फाल्गुन ३०, २०७८ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?