कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व सम्पदा क्षेत्रमा कंक्रिट संरचना

दामोदर न्यौपाने

काठमाडौँ — प्राचीन स्मारक संरक्षण ऐन र विश्व सम्पदा क्षेत्रको मूल्यमान्यताको प्रतिकूल हुने गरी काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा कंक्रिट संरचना निर्माण गरेको छ । महानगरको भौतिक निर्माण विभागले हनुमानढोकास्थित नौतले दरबारको दक्षिणतिर राष्ट्रिय झन्डा राख्ने भन्दै शनिबार राति सिमेन्टले ढलान गरेर पिलर ठड्याउने भाग बनाएको हो ।

विश्व सम्पदा क्षेत्रमा कंक्रिट संरचना

विश्व सम्पदा क्षेत्रमा कंक्रिट संरचना निर्माण गरेको भन्दै स्थानीयवासी र सम्पदा संरक्षण अभियानकर्मीले विरोध जनाएका छन् । कंक्रिट भर्न बनाइएको जाली आइतबार स्थानीयवासीलेभत्काइदिएका छन् । ‘हामी यहाँ कंक्रिटको संरचना बनाउन दिँदैनौं,’ स्थानीयवासी गणपतिलाल श्रेष्ठले भने, ‘हामीले विरोध गर्दै आएका थियौं । शनिबार राति जबर्जस्ती बनाइएछ ।’

महानगरको भौतिक निर्माण विभाग प्रमुख रामबहादुर थापाका अनुसार यहाँ ८ वटा झन्डा राख्न लागिएको हो । ३५ मिटर अग्ला झन्डा सम्पदा क्षेत्रको उचाइसँग मिल्ने गरी राखिनेछ । ‘माइतीघर, स्वयम्भू लगायतमा पनि राष्ट्रिय झन्डा राखिएको छ,’ उनले भने, ‘अन्त १०३ मिटर अग्लो झन्डा राखेका छौं । यहाँ भने विश्व सम्पदा क्षेत्रको उचाइभन्दा अग्लो नहुने गरी राख्न लागेका हौं ।’ संरक्षणकर्मी र स्थानीयले भने ती झन्डा हनुमानढोका प्रवेश गर्ने ठाउँमा राख्न माग गर्दै आएका थिए । ‘हामीले जुद्ध शालिकछेउमा राखौं भनेको हो,’ श्रेष्ठले भने ।

प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र युनेस्को गाइडलाइनले सम्पदा क्षेत्रमा नयाँ संरचना बनाउन निषेध गरेको छ । बनाएमा युनेस्कोले विश्व सम्पदा सूचीबाटै हटाउन सक्छ । विश्व सम्पदा क्षेत्रमा कंक्रिटको संरचना नबनाउन हनुमानढोका दरबार हेरचाह कार्यालय र पुरातत्त्व विभागले महानगरलाई पत्राचार गरिसकेका छन् ।

महानगर भौतिक निर्माण विभागका प्रमुख थापाले भने यसअघि विभागलाई पत्र लेखेर जानकारी गराउँदा कुनै प्रतिक्रिया नदिएको तर संरचना बनाएपछि मात्र पत्र पठाएको दाबी गरे । ‘मैले ३ महिनाअघिदेखि ३ पटक पत्र लेखिसकें,’ उनले भने, ‘तर विभागले केही प्रतिक्रिया दिएन । अहिले बनाइसकेपछि रोक्न पत्र पठाएको छ ।’ ‘यहाँ संरचना बनाइँदै छ’ भनेर २ साताअघि सूचना टाँस गरे पनि कसैले केही नभनेको तर अहिले विरोध गरिएको उनको भनाइ छ । सम्पदा संरक्षण अभियानकर्मीले भने महानगरको भनाइलाई गैरजिम्मेवार भनेका छन् ।

‘हनुमानढोकाको महत्त्व नै बुझेन स्थानीय सरकारले,’ श्रेष्ठले भने, ‘महानगरले पुरातत्त्वको पत्रलाई नै बेवास्ता गरेको छ । ऐनले नै निषेध गरेको ठाउँमा सूचना निकालेको थिएँ भनेर हुन्छ ? सूचना निकाल्नु नै गलत थियो भनेर बुझ्नु पर्दैन महानगरले ? ऐन पढ्नु पर्दैन ? संरक्षण भनेको के हो बुझ्नु पर्दैन ? महानगरले झन् सही नजिर राख्नुपर्ने होइन ?’

महानगरले ३ महिनाअघि पनि यहाँ झन्डा राख्ने कोसिस गरेको थियो तर स्थानीयवासीले विरोध गरेपछि महानगर पछि हटेको थियो । ‘हनुमानढोका क्षेत्र संवेदनशील क्षेत्र हो,’ श्रेष्ठले भने, ‘नेपालको झन्डा बनाउनु राम्रो कुरा हो तर कुन ठाउँमा बनाउने भन्ने महत्त्वपूर्ण हुन्छ । यो ऐतिहासिक ठाउँ भत्काएर बनाउनु भनेको राम्रो होइन । यहाँ गर्नुपर्ने धेरै काम छन् तर महानगर व्यवस्थापन गर्दैन । अनि यस्ता–यस्ता कुरामा चाहिँ अग्रसर हुन्छ ।’

प्रकाशित : फाल्गुन ३०, २०७८ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?