१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव

गौतम बुद्ध विमानस्थलमा व्यावसायिक उडानको प्रस्ताव गर्ने पहिलो विदेशी वायुसेवा
सुरज कुँवर

काठमाडौँ — भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सकिएलगत्तै उडान गर्न कुवेतको जजिरा एयरवेजले नेपाल सरकारमार्फत नागरिक उड्डयन प्राधिकरणसमक्ष प्रस्ताव गरेको छ । वैशाख १ मा नेपाल वायुसेवा निगमको विमानबाट परीक्षण उडानको तयारी छ । विदेशी वायुसेवाले पहिलो पटक उक्त विमानस्थलमा व्यावसायिक उडान थाल्ने प्रस्ताव गरेको हो । 

भैरहवा–कुवेत उडान गर्न जजिराको प्रस्ताव

‘जजिराले कुवेत–भैरहवा–कुवेत दैनिक उडानको प्रस्ताव गरेको छ, भैरहवा विमानस्थलमा उडान गर्न जजिराबाहेक अन्य विदेशी वायुसेवाबाट प्रस्ताव आएको छैन,’ प्राधिकरण प्रवक्ता देवचन्द्रलाल कर्णले कान्तिपुरसँग भने ।

जजिराले अहिले कुवेत–काठमाडौं रुटमा १७४ सिटको एयरबस–३२० मार्फत दैनिक उडान गर्दै आएको छ । वायुसेवा कम्पनीहरूका अनुसार करिब साढे ५ घण्टाको हवाई दूरी भएको कुवेत–काठमाडौं अत्यधिक श्रमिक ओहोरदोहोर गर्ने नाफाको रुटमा पर्छ । नेपाल सरकारले १६ वर्षअघि कुवेतसँग हवाई सम्झौता गरेको थियो ।

अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षण गर्न सरकारले तयारी पनि थालेको छ । प्राधिकरणका एक उच्च अधिकारीका अनुसार प्राधिकरणले पहिलो ६ महिनासम्म ल्यान्डिङ, पार्किङ शुल्कमा पूर्ण छुट दिने र दोस्रो ६ महिनासम्म ५० प्रतिशत मात्रै शुल्क लिने व्यवस्थासहित मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । यसबारे सरकारको निर्णय सार्वजनिक भइसकेको छैन ।

अन्तर्राष्ट्रिय उडानको अनुमति दिनुअघि त्यससँग सम्बन्धित नीति, नियमावली संशोधनका काम बाँकी रहेको ती अधिकारीले बताए । जसमा भैरहवालाई अन्तर्राष्ट्रिय विमानस्थलको सूचीमा राख्ने, आर्थिक शुल्कसम्बन्धी नियम बनाउने, कर्मचारी खटनपटन तथा अन्तरकार्यालय समन्वय गर्नेलगायत छन् ।

थाइल्यान्डको एरो थाई कम्पनीको विमानले गत फागुन ६ देखि १० दिनसम्म विमानस्थलमा यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गरेको थियो । उक्त परीक्षण सकिएपछि एरो थाईको प्राविधिक टोलीले महानिर्देशक प्रदीप अधिकारीलाई प्रतिवेदन बुझाएका थिए । प्रतिवेदन पाएको १० दिनपछि प्राधिकरणले बिहीबार उक्त विमानस्थल उडान गर्न तयार भएको जनाउँदै उडानसँग सरोकार राख्ने वायुसेवाहरूलाई जानकारी दिने उद्देश्यले एयरर्‍याक (एरोनटिकल इन्फर्मेसन रेगुलेसन एन्ड कन्ट्रोल) जारी गरेको थियो ।

एयरर्‍याकमा नयाँ विमानस्थलसँग सम्बन्धित हवाई रुट, धावनमार्ग, नेभिगेसन, उडान व्यवस्थापन प्रणाली, उपलब्ध सेवा सुविधाबारे विस्तृत प्राविधिक जानकारी समेटिएको हुन्छ । एयरर्‍याक जारी गरेपछि सरोकारवालाको सुझाव लिन ४५ दिनसम्मको समय दिइन्छ । यो अवधिमा कुनै त्रुटि सच्याउनुपर्ने वा जानकारी थप्नुपर्ने भए प्राधिकरणले तिनलाई समेटेर विश्वभरका १९३ मुलुकको हवाई सेवा विकास र व्यवस्थापन गर्ने संयुक्त राष्ट्रसंघ मातहतको विशेष निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) लाई पठाउनुपर्ने हुन्छ ।

आईकाओले सदस्य मुलुक नेपालको अनुरोधअनुसार भैरहवा विमानस्थलबारे ‘जेप्पसन चार्ट’ मा प्रकाशन गर्दै विश्वभरका वायुसेवालाई नयाँ विमानस्थल थपिएको जानकारी दिन्छ । नयाँ विमानस्थल सञ्चालन गर्न अपनाइने यो अनिवार्य प्रक्रिया हो ।

४५ दिनको अवधि वैशाख ७ मा सकिन्छ । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेका विमान भैरहवामा आकस्मिक अवतरण गर्न बाटो खुला हुनेछ । अहिले काठमाडौंमा अवतरण हुन नसक्दा अन्तर्राष्ट्रिय विमानहरू भारतको दिल्ली, लखनउ, कोलकाता र बंगलादेशको ढाकामा अवतरण हुँदै आएका छन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघमा शिलान्यास गरेको गौतम बुद्ध विमानस्थल एसियाली विकास बैंकको ऋण तथा अनुदान र नेपाल सरकारको समेत गरी करिब साढे ७ अर्ब रुपैयाँ लगानीमा तयार भएको छ । निर्माणको जिम्मेवारी पाएको चीनको नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले २०७४ पुसमा काम सक्नुपर्ने थियो । तर, ७ पटक म्याद थपिएपछि मात्रै काम पूरा भएको हो । ३ वर्षमा सक्नुपर्ने परियोजना भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायत समस्याका कारण ७ वर्षमा मात्र सकिएको हो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएपछि हालको भैरहवा विमानस्थलको धावनमार्ग ट्याक्सी–वेमा परिणत हुनेछ । ३ हजार मिटर लामो धावनमार्ग भएको गौतम बुद्ध विमानस्थलमा ५ वटा न्यारोबडी र ४ वटा एटीआर विमान पार्किङ गर्न सकिन्छ । वाइडबडी विमान पनि उडान गर्न सक्ने यो धावनमार्गको लम्बाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्दा ३ सय ५६ मिटर मात्रै छोटो छ ।

प्रकाशित : फाल्गुन ३०, २०७८ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?