कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

हनुमानढोका प्रागंणको सिमेन्ट-स्तम्भ निर्माण रोक्न माग

यो अनधिकृत काम महानगरले तुरुन्त रोक्नुपर्छ : पुरातत्त्व
कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व सम्पदा क्षेत्रभित्र पर्ने हनुमानढोका दरबार डबलीको खुला प्राङ्गणमा ३५ फिट अग्लो ७ वटा राष्ट्रिय झण्डा राखिने भन्दै काठमाडौं महानगरपालिकाले बनाइरहेको सिमेन्ट-स्तम्भको विषयलाई लिएर सम्पदाविद् आन्दोलनमा उत्रिएका छन् । 

हनुमानढोका प्रागंणको सिमेन्ट-स्तम्भ निर्माण रोक्न माग

सम्पदाविद् आलोकसिद्धी तुलाधरले महानगरपालिकाले पुरातत्त्व विभागसहितका निकायबाट अनुमति नलिई सिमेन्ट स्तम्भ बनाएकाले उक्त निर्माण कार्यलाई तत्काल रोक्न आग्रह गरे ।

संरक्षित सम्पदा क्षेत्रमा मनोमानी ढंगमा भइरहेको निर्माण रोक्न पुरातत्त्व विभागको विश्व सम्पदा संरक्षण शाखाले फागुन ६ मा महानगरलाई पत्र लेखे पनि यसको ‘सुनुवाइ’ नगरी जबरजस्ती निर्माण कार्य अघि बढाइएको सम्पदाविद् तुलाधरले बताए ।

सम्पदाप्रेमीको एउटा समूहले आइतबार काठमाडौंस्थित युनेस्को कार्यालय, पुरातत्त्व विभाग, महानगरपालिकासमेतलाई अवैधानिक र सम्पदाविरोधी निर्माण कार्य तत्काल रोक्न आग्रह गरेका थिए ।

‘यो विश्व सम्पदा क्षेत्रभित्र भइरहेको अनधिकृत काम हो, संरक्षित क्षेत्रको मूल्य-मान्यता जोगाउन र सम्पदा संरक्षण अभियानमा संलग्न हुन अनुरोध गर्दै आज पनि पुरातत्त्वले महानगरपालिकालाई जारी रहेको निर्माण कार्य तत्काल रोक्न पत्राचार गरेका छौं,’ पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले कान्तिपुरसित भने ।

काठमाडौं महानगरको भौतिक निर्माण शाखाले आफूखुसी निर्माण कार्य अघि बढाएकोमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले कुनै प्रतिक्रिया जनाउन चाहेका छैनन् । यो सम्पदा क्षेत्रमा रहेको हनुमानढोका दरबार संरक्षण कार्यक्रम कार्यालयलाई पनि महानगरले निर्माण योजनाबारे जानकारी गराएको छैन ।

प्रकाशित : फाल्गुन २९, २०७८ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×