३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

नेवारी भाषा-संस्कृति बुझ्न रञ्जना लिपि

उपत्यकाका विभिन्न ऐतिहासिक धार्मिक स्थलहरूमा रञ्जना लिपि, सम्भोटा लिपिमा लेखिएका अभिलेखहरू पाइन्छन् ।
गणेश राई

काठमाडौँ — किरात संस्कृतिविद् तिर्थराज मुकारुङ राई तीन साताव्यापी रञ्जना लिपि कक्षा पढेपछि अब काठमाडौं उपत्यकाका चोकमा लेखिएका साइनबोर्ड पढ्न सक्ने भएका छन् । उनी काठमाडौंको बूढानीलकण्ठमा स्थायी बसोबास गर्छन् ।

नेवारी भाषा-संस्कृति बुझ्न रञ्जना लिपि

‘रञ्जना लिपि देखेको मात्र हो, सिक्न मन थियो । बल्ल सरल विधिबाट सिकियो,’ उनी भन्छन्, ‘अब काठमाडौं उपत्यकाको चोकहरूमा नेपालभाषा र रञ्जना लिपिमा लेखिएका साइनबोर्ड सामान्य पढ्न सक्ने भएँ ।’ किरात सिरिजङ्गा लिपिका अभियन्तासमेत रहेका राईले संयुक्त राष्ट्रसंघमा सूचीकृत रञ्जना लिपि देशकै पहिचान भएको बताए ।

रोटरेक्ट क्लब अफ बानेश्वर रोयलले आयोजना गरेको बीस दिने रञ्जना लिपि भर्चुअल कक्षामा प्रशिक्षण लिएका हुन् । पहिलो पटक रञ्जना लिपि प्रशिक्षण कक्षा सञ्चालन गरेको क्लबका अध्यक्ष स्पन्दन श्रेष्ठले जनाए । ‘हामीले सोचेभन्दा धेरै राम्रो सहभागिता रह्यो,’ शुक्रबार समापन भएको कक्षामा उनले भने ।

स्याङ्जाका कृष्णप्रसाद न्यौपाने रञ्जना लिपि सिक्न पाएकोमा आफूलाई सौभाग्यशाली ठान्छन् । ‘पहिलेदेखि सुनेको र मठमन्दिरहरूमा देखेको रञ्जना लिपि अब लेख्न जान्ने भइएको छ,’ उनले भने ।

लिपि प्रशिक्षणमा सहभागी नेपाल भाषाविज्ञ मिलनराज तुलाधरले रसियन भाषावैज्ञानिकले पहिलो पटक सन् १८७५ मा नेपालभाषा र रञ्जना लिपिको अध्ययन अनुसन्धान गरेको बताए । ‘मैले उमेरको उत्तरार्धमा रञ्जना लिपि सिक्ने अवसर पाएँ, यसले मेरो अनुसन्धान कार्यमा बल पुगेको छ,’ उनको भनाइ छ ।

भैरहवा मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सुबोध महर्जन आफ्नो शिल्प क्षमता बढाउन रञ्जना लिपि सिकेको बताए । बुटवलबाट सहभागी विजय श्रेष्ठले रञ्जना लिपि सिक्ने चासोमात्र नभई कलासमेत हासिल भएको बताए । नुवाकोटबाट सहभागी राजकुमार श्रेष्ठले रञ्जना लिपि सिक्ने धोको पूरा भएको र समुदायमा अरुलाई सिकाउन अझ विशेष कक्षा लिन चाहेको बताए । ‘नुवाकोटमा नेवार प्रशस्त छौं तर पहाडी क्षेत्रमा मातृभाषा बोलिँदैन,’ उनले भने, ‘संस्थागत रूपमा अब मातृभाषा र रञ्जना लिपि प्रशिक्षण चलाउने सोच बढेको छ ।’

काठमाडौं विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ स्नातकोत्तर तह अध्ययनरत जेन बाटी लिपि प्रशिक्षणमा सहभागी थिए । ‘रञ्जना लिपिमा जति अभिलेखहरू लेखिएका छन्, ती सबै महत्त्वपूर्ण छन्,’ लिपि अनुसन्धाता बाटीले भने, ‘यसमा बुद्ध वाणी छन् । र यसलाई भूकम्प, आगलागीजस्ता दैवीविपत्तिबाट जोगाउन डिजिटाइज गर्न जरुरी छ ।’ उपत्यकाका विभिन्न ऐतिहासिक धार्मिक स्थलहरूमा रञ्जना लिपि, सम्भोटा लिपिमा लेखिएका अभिलेखहरू पाइन्छन् ।

यसैगरी बागलुङका सुजन गौतमले रञ्जना लिपि नेपाल चिनाउने लिपि भएको बताए । ‘रञ्जना लिपि नेवारको भन्ने सुनेको थिएँ,’ स्नातक तहमा अध्ययनरत गौतमले भने, ‘नेवार र नेवारी भाषामा प्रयोग भएको चाहिं रहेछ । अरुले सिक्दा लाभदायी हुनेरहेछ ।’

लिपि प्रशिक्षक अनिल महर्जनले ब्राह्मी लिपिबाट विकसित लिपि कलात्मक रूपमा प्रस्तुत गरिने भएकाले रञ्जना लिपि भनिएको बताए । ‘मनलाई आनन्द दिनका लागि कलात्मक रूपमा लेखिने, मनोरञ्जनका रूपमा प्रयोग भएकाले यसलाई रञ्जना लिपि भनिएको हो,’ बसन्तपुरस्थित नव आदर्श माविका नेपालभाषा शिक्षकसमेत रहेका महर्जनले भने, ‘यो रञ्जना लिपि शिल्पले हाम्रा पूर्वजहरू धेरै मिहिनेती थिए भन्ने प्रमाणित गर्छ ।’

उनले संस्कृतदेखि नेपाली भाषासम्म प्रयोग भएका व्यञ्जनवर्णका ‘क’ देखि ‘ज्ञ’, व्यञ्जनवर्णका ‘अ’ देखि ‘अ:’सम्म, १ देखि ९ र शून्यसम्म अक्षर लिपि प्रशिक्षण दिएका थिए । त्यसमा अहिले प्रयोगमा नरहेका तर पुराना अभिलेखमा पाइने अक्षरसमेत सिकाएका थिए । यस्तै, अक्षर–अक्षर जोडेर लेखिने कुटाक्षर (गुप्तलिपि)समेत अभ्यास गराएका थिए ।

लिपि प्रशिक्षण कक्षामा अधिकांश नेवार समुदायका व्यक्तिहरूको बाहुल्यता थियो । त्यसका अलावा श्रद्धा अग्रवाल, मिङ्मा शेर्पा, ल्हाक्पा तामाङ, सरोज बस्नेत, सरोजन शर्मालगायत ३२ जना सहभागी थिए । अनलाइनमा सञ्चालन गरिएको कक्षामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाबाट ३२सहभागिता रहेको क्लबका अध्यक्ष श्रेष्ठले जनाए ।

उपत्यकामा रहेका प्रशिक्षार्थीलाई शुक्रबार रक्तकालीस्थित आशा सफू कुथि (रञ्जना लिपिसम्बन्धी ऐतिहासिक अभिलेखालय)को अवलोकन गराइएको थियो । रञ्जना लिपिको इतिहास तथा अभिलेखालयका बारेमा कुथिको अध्यक्ष तथा संस्कृतिविद् शरद कसाले जानकारी गराएका थिए । सोही अवसरमा प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।

प्रकाशित : फाल्गुन २८, २०७८ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?