२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९४

कर्णाली प्रदेश सांसद विष्टले छाडे माओवादी केन्द्र

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । 

कर्णाली प्रदेश सांसद विष्टले छाडे माओवादी केन्द्र

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद विष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यताविपरीत संसद्‍बाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए । पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेशसभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको उनले बताए ।

उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए । पार्टीभित्र रचनात्मक आलोचनामार्फत पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए ।

एमसीसी सम्झौता पारित गर्दा राष्ट्रघात छल्किएकाले आफूले राजीनामा दिएको उनले बताएका छन् । ‘हाम्रो राजनीति, सिद्धान्त, दर्शन, मूल्य,मान्यताभन्दा धेरै पर पुगेर जसरी एमसीसीको राष्ट्रघात छल्कियो त्यो गम्भीर आपत्तिजनक कुरा छ । मेरो बुझाई के हो भने यस्तो खालको राष्ट्रघाती अभियानमा पार्टी सहभागी भएको हुनाले विरोध त मैले निरन्तर गरिराखेको छु डे वानदेखि नै । हामीले विरोध पनि गरिराख्ने, भत्ता पनि खाइराख्ने, गाडी पनि चढिराख्ने यस्तो गरिराख्नु हुँदैन । त्यसैले यो सबै कुराहरुबाट मैले राजीनामा दिनुपर्छ । त्यसकारण देश, जनताभन्दा मेरो पद कुनै ठूलो कुरा होइन, त्यो शोभनीय हुँदैन । कालान्तरमा जनताले कुनै बेला विश्वास गरेछन् भने आउँला । त्यसैले राजीनामाको निर्णय भयो,’ उनले भने ।

कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको उनको भनाइ छ । माओवादीले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरेको विष्टको आरोप छ ।

विष्ट सुर्खेत क्षेत्र नम्बर १ 'क' बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

प्रकाशित : फाल्गुन २७, २०७८ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?