२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८०

गण्डकी प्रदेशसभा बैठक : गठबन्धनबाटै सरकारको कामप्रति असन्तुष्टि

सरकारले बेठीक पनि गर्‍यो भन्ने अनि समर्थन पनि गरिरहने गठबन्धन दलको रवैयाका कारण अन्योल थपिएको प्रतिपक्षीको भनाइ
लालप्रसाद शर्मा

पोखरा — गण्डकी प्रदेश सरकारमा सहभागी विभिन्न दलले नै सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको नवौ अधिवेशनको बिहीबार सुरु पहिलो बैठकमा बोल्दै माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले सरकार अपेक्षाकृत अघि नबढेको भन्दै आलोचना गरेका हुन् ।

गण्डकी प्रदेशसभा बैठक : गठबन्धनबाटै सरकारको कामप्रति असन्तुष्टि

माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले सरकार हस्तक्षेपकारी हिसाबले अघि बढ्नुपर्नेमा मन्द गतिमा हिँडेको बताए । ‘सरकार कहाँ अल्मलियो ? बजेट र योजना कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘यसमा चिन्ता लागेको छ । कर्मचारीतन्त्रसँग पनि समन्वय र पहलकदमी खासै पुगेको छैन ।’ उनले बनेका कानुन पनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । चुमानले नयाँ कानुन ल्याउन र संघीय सरकारसँगको साझा अधिकारका सूचीमा हस्तक्षेप गर्न पनि माग गरे ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता एवं उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले हिजो के थियो र अहिलेको सरकार बनेपछि के भइरहेको छ भनेर नियाल्न जरुरी रहेको बताए । गण्डकी प्रदेशसभालाई अँध्यारो कोठाबाट एउटा अमुक स्थितिमा राखेर घाँटी रेटिने परिस्थितिबाट बचाएर आज यो ठाउँमा ल्याइपुर्‍याए पनि त्यसअनुरुप सरकार अघि नबढेकोमा उनले गुनासो गरे । ‘एक घन्टाअघि नाराबाजी र एक घन्टापछि शपथ खाएर फिल्मी शैलीबाट सरकार गठन भएको हो,’ उनले भने ।

सरकारमा सहभागी नभए पनि समर्थन गरेको राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता पियारी थापाले सरकारको नेतृत्व सक्षम नभएको भन्दै आलोचना गरिन् । ‘सरकारलाई आलोचनात्मक समर्थन रहेकाले आलोचना गर्ने हाम्रो दायित्व हो,’ उनले भनिन्, ‘तर अहिलेको सरकारको परिस्थिति हेर्दा गठबन्धनमा विकृति रहेको छ । जनताले प्रदेश सरकारबाट केही नपाउने अवस्था छ ।’ कसैलाई सफल वा असफल बनाउनेभन्दा पनि गाडीको एउटा पांग्रा एकातिर र अर्को अर्कातिर लरखरिँदा दुर्घटना निम्तिने भएकाले त्यस्तो अवस्था नआओस् भनेर सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । वार्षिक बजेट, कार्यक्रम कार्यान्वयन नभएको र कतिपय नीतिगत ढिलाइले जनताको काम हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाइन् । यो विधेयक अधिवेशनसमेत भएकाले के कस्ता कानुन आउँदैछन् र अहिलेसम्म बनेका कानुनको के कति कार्यान्वयन भयो भन्ने प्रश्न गर्दै उनले मौलिक अधिकारसम्बन्धी कानुन बनाउन ध्यानाकर्षण गराइन् । संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि प्रदेश सरकार लाग्नुपर्ने उनको अनुरोध थियो ।

प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले जनताको आशा र विश्वास जगाउनु पर्नेमा हुन नसकेको बरु मौलिक अधिकार खोस्न उद्यत भएको आरोप लगाए । गठबन्धनकै दलबाट सरकारको कामप्रति असन्तुष्टि जनाएको प्रसंग निकाल्दै उनले यसले आफूहरु अन्योलमा परेको बताए । ‘के कुरा ठीक, के बेठीक ? के राष्ट्रघात के राष्ट्रवाद ? झन् अन्योलमा परियो,’ उनले भने, ‘सरकारले बेठीक पनि गर्‍यो भन्ने अनि समर्थन पनि गरिरहने ।’ प्रदेशको काम र एजेन्डा के हो भनेर ध्यान दिन नसकेको भन्दै उनले आफ्ना सरकारले गरेका कामको बचाउ गर्दै कतिपय योजना अलपत्र र बेवारिसे भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेश सफल बनाउन आपसी छलफल र सहयोग साथ अघि बढ्ने प्रतिबद्धता उनले जनाए ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकार संघीयता सुदृढीकरण अर्थात् प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्छ भन्नेमा उदार हुन नसक्दा चाहेर पनि कतिपय काम गर्न नसकिएको बताए । ‘संघीयता चिनिने र महसुस गर्ने प्रदेशमार्फत हो । तर प्रदेश सरकार अस्तित्वमा आएको ४ वर्ष बितिसक्दा समेत संघले कतिपय कानुन नबनाइदिएका कारण हाम्रा काम अगाडि बढ्न पाएका छैनन्,’ उनले भने, ‘प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल संघीयता मजबुत बनाउन एकजुट हुन जरुरी छ ।’

राजनीतिक घटनाक्रमले कांग्रेस नेतृत्वमा गठबन्धन सरकार सञ्चालन गर्ने जिम्मेवारी आएकाले जिम्मेवार र सजग भएर प्रदेश सरकारलाई अगाडि बढाउने काम गर्दै आएको उनले दाबी गरे । उनले झन्डै ९ महिनाको अवधिमा सरकारले गरेका कामबारे प्रदेशसभालाई जानकारी गराएका थिए ।

प्रकाशित : फाल्गुन २६, २०७८ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?