कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दलित संघको अध्यक्षमा एक दर्जन आकांक्षी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल दलित संघको पाँचौं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरूको दौडधुप सुरू भएको छ । केन्द्रीय अध्यक्ष र पदाधिकारीका आकांक्षीहरू नेतृत्वका लागि दोडधुप गरिरहेका छन् ।

दलित संघको अध्यक्षमा एक दर्जन आकांक्षी

संघले यही चैत ७, ८ र ९ गते बुटवलमा महाधिवेशन गर्ने मिति घोषणा गरिसकेको छ । नेतृत्वका आकांक्षीहरूले पार्टी र गुटका नेताहरूलाई रिझाउने प्रयास थालेका छन् ।

केन्द्रीय अध्यक्षका लागि संस्थापन समूहबाट महाधिवेशन आयोजक समितिका संयोजक एवम् उपाध्यक्ष शम्भु हजारा पासवान, अर्का उपाध्यक्ष रामकृष्ण लकान्द्री र लोकेन्द्र विश्वकर्मा आकांक्षी छन् । त्यस्तै, संस्थापन इतर पक्षबाट डोबाटे विश्वकर्मा, मुक्तबहादुर महते, शिव सुनार र कृष्ण विके रसाइली लगायत अध्यक्षका आकांक्षी छन् ।

आकांक्षीमध्ये अधिकांश नेताहरू पार्टीको केन्द्रीय सदस्यमा पराजित उम्मेदवार छन् । संस्थापन पक्षका आकांक्षीमध्ये लकान्द्री बलियो दाबेदार हुन् । उनलाई केन्द्रीय सदस्य एवम् पूर्वअध्यक्ष मीन विश्वकर्माको साथ छ । अर्का आकांक्षी विश्वकर्मालाई संस्थापन समूहका सहमहामन्त्री उम्मेदवार मानबहादुर विश्वकर्माको साथ छ ।

महाधिवेशन आयोजक समितिका संयोजक पासवान भने पहिलेदेखि नै संस्थापन समूह नै भए पनि हाल विमलेन्द्र निधि समूहमा भएका कारण उनले सभापति शेरबहादुर देउवाको साथ पाउने सम्भावना कम रहेको नेताहरू बताउँछन् ।

संस्थापन इतर पक्षबाट आकांक्षी रहेका डोबाटे विश्वकर्मा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री हुन् । तनहुँका उनी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट मानिन्छन् । तर, पार्टीको गत महाधिवेशनमा उनी शेखर कोइराला समूहबाट केन्द्रीय सदस्य उम्मेदवार थिए । अर्का आकांक्षी महते यसअघि दलित विकास समितिको उपाध्यक्ष भइसकेका नेता हुन् ।

त्यस्तै, सुनार सिन्धुपाल्चोक कांग्रेसका कार्यवाहक सभापति हुन् । संघले चौथो महाधिवेशन भएको १० वर्षपछि अधिवेशन गर्न लागेको हो । लामो समयदेखि महाधिवेशन नहुँदा सिर्जना भएको रिक्तताका कारण धेरै आकांक्षीहरू रहेको केन्द्रीय सदस्य प्रकाश स्नेहीले बताए । ‘नियमित अधिवेशन हुन सकेन, जसले गर्दा नेतृत्वमा भ्याकुम सिर्जना भयो । अहिले लामो समयपछि अधिवेशन हुँदा धेरै आकांक्षी हुनु स्वभाविकै हो,’ उनले भने ।

प्रकाशित : फाल्गुन २४, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?