झूटो प्रचारमा मानवअधिकार आयोग नै क्रियाशील : ओली- समाचार - कान्तिपुर समाचार

झूटो प्रचारमा मानवअधिकार आयोग नै क्रियाशील : ओली

‘सर्वोच्च अदालत भ्रष्टाचारमा लिप्त भइरहँदा संवैधानिक निकाय मानिने मानवअधिकार आयोग दुरुपयोग हुनु नौलो होइन’
कान्तिपुर संवाददाता

कास्की — एमाले अध्यक्ष केपी शर्मा ओलीले देशको बदनाम गर्न र झूटो प्रचारमा राष्ट्रिय मानवअधिकार आयोग नै क्रियाशील बनेको आरोप लगाएका छन् ।

एमालेनिकट राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार–एलाइन्स) को पाँचौं राष्ट्रिय सम्मेलनका क्रममा सोमबार पोखरामा बोल्दै उनले आफ्नो नेतृत्वको सरकार भएका बेला आयोग सरकारविरुद्ध लागेको उनले बताए । यसअघिका आयोगका सदस्य दक्षिणपन्थी भएकाले राजनीतिक आस्थाकै भरमा सरकारप्रति पूर्वाग्रह राखेको उनको भनाइ थियो ।

निष्पक्ष न्याय पाइने सर्वोच्च अदालत भ्रष्टाचारमा लिप्त भइरहँदा संवैधानिक निकाय मानिने मानवअधिकार आयोग दुरुपयोग हुनु कुनै नौलो नरहेको ओलीले बताए । एमाले नेतृत्वको सरकार हुँदा देशमा कहींकतै मानवअधिकार उल्लंघनका घटना नभएको दाबी गर्दै उनले केही विरोधीले झूटा हल्ला मात्रै चलाएको दाबी गरे । जेनेभामा भएको मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा तत्कालीन सरकारमाथि हमला गर्ने काम भएको र तत्कालीन परराष्ट्रमन्त्रीले खण्डन गर्नुपरेको अध्यक्ष ओलीको भनाइ थियो ।

बुद्धिजीवीहरुप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो नेतृत्वको सरकार हुँदा विरोध गर्नेहरु परमादेशको सरकार हुँदा खस्किँदै गएको अर्थतन्त्रबारे चुप रहेको बताए ।

महाधिवेशनमा हुम्ला र लमजुङबाहेकका जिल्लाबाट २ सय ४१ प्रतिनिधि पोखरा आएका छन् । महाधिवेशनले ७७ सदस्यीय नयाँ समिति चयन गर्नेछ ।

प्रकाशित : फाल्गुन २३, २०७८ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्

सुरु भयो बाघ हेर्ने याम

बर्दिया निकुञ्जमा आउने झन्डै ८० प्रतिशत पर्यटकले सहजै बाघ देख्न पाउने पर्यटन व्यवसायीको दाबी
कमल पन्थी

बर्दिया — यहाँस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघ अवलोकनको याम सुरु भएको छ । कोरोना भाइरसको प्रभाव कम भएको र मौसम अनुकूल भएकाले अहिले आन्तरिक पर्यटकको संख्या बढेको छ ।

यहाँका पर्यटन व्यवसायीका अनुसार फागुन लागेपछि पाहुना आउन थालेका छन् । नेपाली नयाँ वर्षसम्म बाघ हेर्न आउनेको संख्या उल्लेखनीय बढ्ने उनीहरूले बताए । मुलुकका विभिन्न स्थानबाट बाघ अवलोकनका लागि यहाँ आउने गरेका छन् ।

काठमाडौंको त्रिपुरेश्वरका नरेश श्रेष्ठ पहिलोपटक निकुञ्ज अवलोकन गर्न बर्दिया आएका हुन् । साथीहरूको समूहमा आएका उनले जंगल सफारी गर्दै बाघ हेर्न यहाँ आएको बताए । चार दिन यहीं बस्ने उद्देश्य लिएर आएका उनले दोस्रो दिनमै बाघ हेर्न पाएपछि खुसीको सीमा नरहेको सुनाए । बाघ देखेपछि साथीभाइ र आफन्तलाई फेसबुकमार्फत उनले फोटो सेयर गरेका थिए ।

डोटीका ज्ञानेन्द्र जोशीले निकुञ्जको बघौरा फाँटामा डमरुसहित बघिनी देखे । निकुञ्जभित्र पैदल अनुगमन गर्दा बालकुनेमा बाघ देखेको उनले बताए । गर्मीयाम सुरु भएपछि निकुञ्जमा बाघ हेर्न पाइने उद्देश्यले आन्तरिक पर्यटक अहिले बढ्दै छन् । पथ प्रदर्शक अनुराम चौधरीले जीप सफारीमा अधिकांश पर्यटकले बाघ देख्ने गरेको बताए । ‘एक सातायता निकुञ्ज प्रवेश गरेका पर्यटकले पानी पिउन तीनकुनेमा बाघ आउँदा हेर्न पाएका छन्,’ उनले भने, ‘गर्मी सुरु भएपछि तिर्खाएका बाघ तीनकुनेस्थित खोलामा पानी पिउन आउने गरेका छन् ।’

चौधरी शुक्रबार जिप सफारीमा आन्तरिक पर्यटक लिएर निकुञ्ज प्रवेश गरेका थिए । निकुञ्जभित्र हात्तीले जिप देख्नासाथ आक्रमणको असफल प्रयास गरेको उनले बताए । बघौरा फाँटामा बाघ हेर्न पाएको उनले सुनाए । बाघ नजिकबाट हेर्न पाउँदा हात्तीले लखेटेको बिर्सेको उनले सुनाए ।

पर्यटकले बाघ देख्न पाउँदा निकै खुसी भएको अनुभव साटासाट गरेको पर्यटन व्यवसायी गैडा क्याम्पका सञ्चालक रामजीबाबु थापाले बताए । यहाँ आउने करिब ८० प्रतिशत पर्यटकले सहजै बाघ हेरेर फर्कने गरेको उनले सुनाए । ‘बाघ देख्न पाउँदा पर्यटक निकै खुसी हुँदै फर्किने गरेका छन्,’ उनले भने । कोरोना महामारीका कारण बन्द रहेको निकुञ्ज गत कात्तिक १ गतेदेखि खुला गरिएपछि यहाँ आन्तरिक पर्यटक बढ्दै गएका छन् । तीनकुने, किंगफिसर, कर्णाली नदीको भँगालो गेरुवा र चुरेको जंगलमा बाघको आहारा चित्तल, बँदेलजस्ता जंगली जनावर प्रशस्त भएका कारण यहाँ बाघको बासस्थान बन्दै गएको छ ।

बाघका कारण बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पूर्व मेचीदेखि महाकालीसम्मका आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवसायी रामबहादुर शाहीले बताए । यहाँको शान्त वातावरण निकै मन पराएको काठमाडौंको त्रिपुरेश्वरका मोटरसाइकल व्यवसायी दिवाकर अग्रवालले बताए । एक दिनको छोटो बसाइले बाघ हेर्न नपाए पनि यहाँको मनोरम प्राकृतिक वातावरणले मनै लोभ्याएको उनले सुनाए ।

अहिले यहाँका होटलमा काठमाडौं, बुटवल, धनगढी, दाङ, पोखरालगायतका ठाउँबाट फोन गरी आन्तरिक पर्यटकले होटल बुक गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । सहजै बाघ हेर्न पाइने भएकै कारण यहाँ पर्यटक आउने क्रम बढ्दै गएको बबई रिसोर्टका सञ्चालक धर्मराज घिमिरेले बताए । ‘अहिले त पर्यटक नआएको दिनै हुँदैन,’ उनले भने । आन्तरिक पर्यटकसँगै विदेशी पर्यटकको आवागमन पनि बढ्दै गएको पर्यटन व्यवसायी राजु थापाले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्न यसै मौसममा बढी पर्यटक भित्रिने गरेको तथ्यांक छ । बाघ सजिलै हेर्न पाइने उद्देश्यका साथ आन्तरिक र विदेशी पर्यटक हिउँद लाग्नासाथ बर्दिया निकुञ्जमा आउने गरेका हुन् । गत वर्ष झन्डै १६ हजार आन्तरिक र विदेशी पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्ज अनुगमन गरेका थिए । चालु आर्थिक वर्षको फागुन तेस्रो सातासम्म १० हजार बढी नेपाली पर्यटक निकुञ्जमा भित्रिएका छन् । यसै गरी सार्क मुलुकबाट सय बढी र ३ सय विदेशी पाहुनाले पनि निकुञ्ज अवलोकन गरेको तथ्यांक छ ।

प्रकाशित : फाल्गुन २३, २०७८ २१:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×