१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

माओवादीमा दुई महिनासम्म अध्यक्ष मात्रै

पदाधिकारीमा सहमति जुटाउन नसकेपछि तत्काल केन्द्रीय समितिलाई पूर्णता दिने, स्थायी समिति र पोलिटब्युरो गठन गर्ने तयारी
कान्तिपुर संवाददाता

काठमाडौँ — आठौं राष्ट्रिय महाधिवेशन सकिएको दुई महिना बित्दा पनि माओवादी केन्द्रले केन्द्रीय नेतृत्वलाई पूर्णता दिन सकेको छैन । महाधिवेशनलगत्तै पुष्पकमल दाहाललाई अध्यक्ष चयन गरे पनि माओवादीले केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयन, स्थायी समिति र पोलिटब्युरो गठन गरेको छैन ।

माओवादीमा दुई महिनासम्म अध्यक्ष मात्रै

सबैभन्दा जटिल बनेको पदाधिकारी चयनका लागि न प्रक्रिया (चुनाव) अगाडि बढेको छ न सहमति जुटेको छ । केन्द्रीय नेतृत्वलाई पूर्णता दिने र चुनावी कार्ययोजना बनाउने तयारीसहित शुक्रबार केन्द्रीय समितिको बैठक बसेको थियो । तर, ठोस सहमति नभएकै कारण सोमबारसम्मका लागि स्थगित भएको छ । केन्द्रीय नेतृत्वलाई पूर्णता दिन भइरहेको ढिलाइले यो विषय झन् जटिल बन्दै गएको नेताहरूको बुझाइ छ । पदाधिकारीमा सहमति जुट्न नसकेपछि अध्यक्ष दाहालले तत्कालका लागि केन्द्रीय समितिलाई पूर्णता दिने स्थायी समिति र पोलिटब्युरो गठन गरेर चुनावी तयारीमा लाग्ने विकल्पमा छलफल थालेका छन् ।पदाधिकारीका आकांक्षीले भने अहिल्यै यो विषय टुंग्याउन दबाब दिइरहेका छन् ।

‘पदाधिकारीमा धेरै नै विवाद भयो, महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच सहमति बन्नै सकेन,’ दाहालनिकट एक नेता भन्छन्, ‘यस्तो अवस्थामा अध्यक्षले अहिले पदाधिकारी चयन नगर्ने मनस्थिति बनाउनुभएको छ तर महासचिवको लफडाले अन्य पदाधिकारी पनि होल्ड हुने भन्दै आकांक्षीले टुंग्याउन दबाब दिइरहेका छन् ।’ अध्यक्ष दाहाल आफैं पनि प्रक्रियामार्फत पदाधिकारी चयनको पक्षमा छैनन् ।

पुस ११ मा सुरु भई पुस १८ मा सकिएको महाधिवेशनबाट चयन केन्द्रीय समितिको पुस १९ मा बसेको पहिलो बैठकले अध्यक्षमा दाहाललाई चयन गरेको थियो । तर, विधानअनुसार अन्य १४ पदाधिकारी चयन हुन बाँकी छ । ‘जतिखेर हामीले अध्यक्ष चयन गर्‍यौं, त्यतिखेरै पदाधिकारी बनाउनुपर्ने थियो, त्यो कोर्समा हामीले गल्ती गर्‍यौं,’ माओवादी नेता हरिबोल गजुरेलले भने, ‘अब हामी नयाँ कोर्सतिर अगाडि बढ्यौं । त्यो भनेको पहिला केन्द्रीय समितिलाई पूर्णता दिने, त्यसपछि पोलिटब्युरो, स्थायी र पदाधिकारी चयन गर्ने ।’ माओवादी विधानमा केन्द्रीय समितिमार्फत पदाधिकारी चयन हुने व्यवस्था छ । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष सात, महासचिव, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष रहनेछन् ।

महाधिवेशन हलले २ सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको थियो । विधानमा केन्द्रीय समिति २ सय ९९ सदस्यीय रहने व्यवस्था छ । यसबाहेक १५ प्रतिशत मनोनीत हुनेछन् । विधानमा महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र मुस्लिम ५ प्रतिशत सहभागिता हुने व्यवस्था छ । अझै एक सयभन्दा धेरै केन्द्रीय सदस्य थप्न बाँकी छ । ‘सोमबारको बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने, निर्वाचनकेन्द्रित कार्यविभाजन र कार्ययोजना बनाउने काम हुन्छ,’ माओवादी नेता गजुरेलले भने, ‘सम्भव भयो भने स्थायी समिति र पोलिटब्युरो पनि बन्ला ।’ यसअघि केन्द्रीय समितिलाई पूर्णता दिन र पदाधिकारी चयन गर्न बोलाइएका बैठक पटकपटक स्थगित भएका थिए ।

महाधिवेशनले दाहालले प्रस्तुत गरेको ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक तथा वैचारिक प्रतिवेदन पारित गरेको थियो । प्रतिवेदनमा पार्टीलाई क्रान्तिकारी बनाउने र ठूलो शक्तिका रूपमा स्थापित गर्ने परिकल्पना छ । नेता देव गुरुङले भने केन्द्रीय समितिलाई पूर्णता र पदाधिकारी चयनमा भएको ढिलाइले निर्वाचनको तयारीलाई फरक नपार्ने बताए । ‘केन्द्रीय समिति २ सय ४७ सदस्यीय पुगेको छ, मिलाउन सके पूर्णता पाउँछ, नसके पनि यो ठूलै संख्या हो,’ उनले भने, ‘बरु कार्यविभाजन कसरी मिलाउने भन्ने छ । त्यसकारण बनेछ भने राम्रै भयो, बनेनछ भने पनि त्यस्तो बित्यासै भइहाल्दैन ।’

प्रकाशित : फाल्गुन २३, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?