सत्ता गठबन्धन चुनाव रोक्न खोज्दैछ : नेम्वाङ

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले ‘अर्ली इलेक्सन’ को विषय सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव सार्ने नियतले आएको हुनसक्ने बताएका छन् ।

सत्ता गठबन्धन चुनाव रोक्न खोज्दैछ : नेम्वाङ

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेम्वाङले विभिन्न पक्षको दबाबको कारण सरकार स्थानीय तह चुनावको मिति तोक्ने बाध्य भएको भन्दै त्यसलाई सार्ने बहाना बनाउन खोजिएको बताए ।

'चुनाव गर्नका लागि हो कि भत्काउनका लागि हो ? स्थानीय तहको चुनावको घोषणा सत्तारुढ गठबन्धनको चाहानाले गरेको होइन बाध्यताले गरेको हो’ नेम्वाङले भने, ‘उहाँहरुले त्यसलाई रोक्न चाहानु भएको थियो । प्रतिनिधिसभाको चुनावसहित विभिन्न बहानामा चुनाव रोक्न खोजिएको हो ।’

यसअघि सत्तारुढ गठबन्धनमध्ये एउटा दल नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले संसद्‍मा एमालेले अवरोध जारी राखे अर्ली इलेक्सनमा जाने बताएका थिए । उक्त प्रसंग कोट्याउँदै नेता नेम्वाङले अहिले अर्ली इलेक्सनको कुरा अचानक ल्याइएको भन्दै त्यसमाथि आशंका उब्जिएको बताए ।

‘पहिलो चाँडो चुनावमा जाउँ भन्दा प्रतिगमन भन्ने साथीहरुले अहिले अचानक यो ढंगले किन यस्तो सोचाइ ल्याइरहेका छन् । कतै हेरेर कतै हिर्काउने काम भएको छ’ नेम्वाङले भने ‘यसले सत्तारुढ गठबन्धनको हिँडाइ सोझो छैन भन्ने देखाउँछ । स्थानीय तहको चुनावलाई भत्काउन लाग्नु भएको छ । धकेल्ने, पर पुर्‍याउने र गडबड गर्ने लगायतको कुरा हुनसक्छ ।’

यस्तै उनले संविधानअनुसार नै चुनावी प्रक्रिया सुरु हुनुपर्ने बताएका छन् । ‘हामीले विशेष कारणवश् जनतामा जाउँ न भनेको नै हो । त्यो आफ्नो भनाइमा हामी अडिग छौं । निर्वाचन आयोग, एमाले, नागरिक समाज र सञ्चार माध्यमहरुको दबाबले बाध्य भएको हो’ उनले भने ‘यसलाई अदालती प्रक्रियाबाट रोक्ने समेत प्रयास भयो । अहिले ढुक्क हुने होइन बढी सतर्क रहेर जनतामा जाने विषयलाई संविधान बमोजिम चुनाव प्रक्रिया सुरु गर्नुपर्छ ।’

प्रकाशित : फाल्गुन २२, २०७८ १५:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?