कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

रौतहट कांग्रेसको निर्वाचन अनिश्चितकालका लागि स्थगित   

शिव पुरी

रौतहट — दुई पक्षबीच विवाद बढेपछि नेपाली कांग्रेस रौतहटको १४ औं अधिवेशनअन्तर्गत शनिबार तय गरिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । 

रौतहट कांग्रेसको निर्वाचन अनिश्चितकालका लागि स्थगित   

मतदातालाई प्रमाणपत्र उपलब्ध नगराइएको भन्दै विवाद बढेपछि निर्वाचन समितिले अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थागित भएको जनाएको छ । यसअघि शनिबार बिहान ९ बजेबाट मतदान हुने भनिएको थियो । प्राविधिक कारणले १ बजेका लागि सारिए पनि विवाद नमिलेपछि स्थागित गर्नु परेको निर्वाच समितिले जनायो । क्षेत्र नम्बर ३ का अधिकांश वडाका प्रतिनिधिहरुले अहिलेसम्म प्रमाणपत्र नपाएको र मतदानमा सहभागी हुन कठिन भएको भन्दै वादविवाद बढेपछि लाइनमा बसेका मतदाताहरुले समेत मतदान गर्न पाएनन् ।

निर्वाचन अधिकृत दिपकराज रेग्मीले प्राविधिक कारणले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतदान स्थगित गर्नु परेको बताए । ‘विवादबीच मतदान हुन सकेन,’उनले भने,‘अब चाँडै विवाद मिलाई निर्वाचनको समय तय गर्छौं ।’

अधिवेशनमा सभापतिका लागि संस्थापन पक्षका जितेन्द्र यादव र कोइराला प्यानलबाट हृद्यनारायण यादव मैदानमा छन् । कोइराला पक्षले आफ्नो समर्थकहरुलाई प्रमाणपत्र नदिएकाले मतदानमा भाग लिन समस्या परेको भन्दै आपत्ति जनाएपछि विवाद बढेको हो । वडाबाट प्रतिनिधि बनेकाहरुलाई उसै बेला प्रमाणपत्र दिनुपर्थ्यो । तर निर्वाचन समितिले अहिलेसम्म प्रमाणपत्र नदिएको सचिवका उम्मेदवार सुमन गौतमले बताए ।

सदरमुकाम गौरस्थित जुद्ध माविको प्रांगणमा मतदानको व्यवस्था मिलाइएको थियो । उपसभापतिमा संस्थापन पक्षका धिरेन्द्रकुमार सिंह र रामलोचनप्रसाद कलवार मैदानमा छन् । कोइराला पक्षबाट मोहम्मद महताब आलम र विनोद गुप्ताले उम्मेदवारी दिएका छन् ।

कांग्रेसको विधानमा दुई जना उपसभापति, सचिव र उपसचिव रहने प्रावधान छ । त्यसैगरि सचिवमा संस्थापन पक्षका सुभाष कोइराला र कोइराला पक्षका सुमन गौतमलगायत ५ जनाको उम्मेदबारी परेको छ । सभापति र पदाधिकारीसहित ९६ पदमा हुने निर्वाचनमा हरेक पदमा दुई–दुई जनाले उम्मेदवारी दिएका छन् । २ हजार ५ सय ९० मतदाता छ ।

प्रकाशित : फाल्गुन २१, २०७८ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×