१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

नेविसंघमा छात्रालाई अध्यक्ष बनाउन माग

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल विद्यार्थी संघका नेताहरूले छात्रालाई अध्यक्ष बनाउन माग गरेका छन् । तत्कालीन समितिले महाधिवेशन गराउन नसकेपछि कांग्रेसमा नयाँ कार्यसमिति गठनको प्रयास भइरहेको छ । विद्यार्थी नेतृहरूले भने छात्रालाई अध्यक्ष बनाउन माग गरेका हुन् । नेविसंघमा अहिलेसम्म १९ जना अध्यक्ष भए, तर कोही पनि छात्रा अध्यक्ष भएका छैनन् ।

नेविसंघमा छात्रालाई अध्यक्ष बनाउन माग

संघका महिला नेताहरूले पार्टीका केन्द्रीय पदाधिकारीहरूलाई भेटेर तदर्थ समितिको अध्यक्ष छात्रालाई बनाउन माग गरेका हुन् । उनीहरूले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा भीष्मराज आङ्देम्बे, बद्री पाण्डे, जीवन परियारलगायत सहमहामन्त्रीहरूलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

उनीहरूले नेविसंघको नेतृत्व गर्न महिलाहरू समेत सक्षम रहेको र यतिबेला नेविसंघलाई छात्राको आवश्यकता रहेको बताएका छन् । ‘नेपाली समाजलाई रुपान्तरण गर्न कांग्रेसको नेतृत्व समावेशी र समावेशी देश बनाउने ऐतिहासिक कार्यसम्पन्न भएको कुरा गौरवमय रुपले नेपाली इतिहासमा दर्ज भएको कसैबाट लुकेको छैन, अब हामी छात्राहरु पनि नेविसंघको नेतृत्व गर्न सक्षम छौं,’ उनीहरूको ज्ञापन पत्रमा भनिएको छ, ‘वर्तमान परिप्रेक्ष्यमा कम्तीमा पनि स्नातकोत्तर अध्ययन गरेको, केन्द्रीय समितिमा रही काम गरेको अनुभवी व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउन जोडदार माग गर्दछौँ ।’

केन्द्रीय सदस्य गीता गुरुङले नेविसंघमा महिला नेतृत्व आए आगामी निर्वाचनमा समेत कांग्रेसलाई लाभ मिल्ने दाबी गरिन् । ‘हाम्रो सामुन्ने तीन तहका निर्वाचन छन्, कुल मतदातामध्ये आधाभन्दा धेरै त महिला नै छन्,’ उनले अघि भनिन्, ‘हाम्रो प्रतिस्पर्धी विद्यार्थी संगठनको नेतृत्वमा समेत छात्रा नै छन्, त्यसैले नेविसंघमा पनि छात्राको नेतृत्व हुनु आवश्यक छ ।’

उनीहरूले तदर्थ समिति गठन गर्दा समावेशी बनाउन आवश्यक रहेको बताएका छन् । कांग्रेसको गत महिना बसेको कार्यसम्पादन समितिको बैठकले सभापति शेरबहादुर देउवालाई फागुन मसान्तभित्र भ्रातृ संस्थामा तदर्थ समिति गठनको अधिकार दिएको छ ।

प्रकाशित : फाल्गुन २१, २०७८ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?