कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

माओवादीलाई 'रिङ आउट' गर्ने एमालेको षड्यन्त्र चकनाचुर भयो : दाहाल

'ओलीले जस्ताको त्यस्तै एमसीसी पास गर्न चाहन्थे'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रिया नै भंग हुने स्थिति आएपछि एमसीसी सम्झौता अनुमोदन गर्ने अवस्था आएको बताएका छन् । शुक्रबार दिउँसोदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको केन्द्रीय समिति बैठकलाई ब्रिफिङ गर्दै अध्यक्ष दाहालले यथास्थितिमा एमसीसी पास नगरेको बताएका हुन् ।

माओवादीलाई 'रिङ आउट' गर्ने एमालेको षड्यन्त्र चकनाचुर भयो : दाहाल

साथै यथास्थितिमै एमसीसी पास गरेर माओवादीलाई 'रिङ आउट' गर्न खोज्ने एमालेको षड्यन्त्र चकनाचुर भएको पनि दाहालले बताए । पार्टी विभाजनअघि नेकपा हुँदा अध्यक्ष केपी शर्मा ओलीले जस्ताको त्यस्तै एमसीसी पास गर्न खोजेको पनि दाहालको दाबी छ ।

दाहालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, 'परिमार्जनसहित अनुमोदन नगरेको भए एमसीसी जस्ताको त्यस्तै पारित हुने अवस्था थियो । गठबन्धन टुट्ने मात्रै होइन शान्ति प्रक्रिया नै भंग हुने स्थिति सिर्जना हुने भएकोले यो विधि र प्रक्रियाबाहेक तत्काललाई अरु विकल्प नै थिएन ।'

नेकपा छँदा आफ्नै अध्यक्षतामा बसेको बैठकमा आफ्नै प्रस्तावअनुसार झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले निकालेको निष्कर्ष अनुसार नै परिमार्जनसहित एमसीसी अनुमोदन भएको दाहालको भनाइ छ ।

त्यस्तै एमसीसीबारेको व्याख्यात्मक घोषणा अन्तर्राष्ट्रिय रुपमा कानुनी मान्यता अनुरुपनै संसद्बाट पारित भएको पनि दाहालले दोहोर्‍याएका छन् । माओवादीको ८औं महाधिवेशनको निर्णयअनुरुप नै परिमार्जनसहित एमसीसी पारित भएको पनि उनले बताए ।

एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्र मतभेद चुलिएपछि माओवादी केन्द्रले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको हो । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने विषयमा नेता नारायणकाजी श्रेष्ठ र उनी पक्षधर नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । एमसीसी सम्झौता अनुमोदनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहालले ‘आफ्नो बाटो लागे हुन्छ’ भनेपछि पूर्वएकता केन्द्र समूह आक्रोशित भएको छ ।

प्रकाशित : फाल्गुन २०, २०७८ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?