कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

एमसीसी अनुमोदनसँगै गठबन्धन बनाएर चुनावमा जाने वातावरण बन्यो : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको एमसीसी अनुदान सम्झौता अनुमोदन भएसँगै स्थानीय निर्वाचनमा गठबन्धनका दल मिलेर जाने वातावरण बनेको बताएका छन् । 

एमसीसी अनुमोदनसँगै गठबन्धन बनाएर चुनावमा जाने वातावरण बन्यो : दाहाल

शुक्रबार केन्द्रीय समितिको बैठकलाई ब्रिफिङ गर्दै अध्यक्ष दाहालले बिहीबार सत्ता गठबन्धनको उच्चस्तरीय संयन्त्रको बैठक बसेको र बैठकमा एमसीसी सम्झौता अनुमोदनको समीक्षा गरिएको जानकारी दिएका हुन् । उक्त समीक्षामा स्थानीय तहको चुनावमा सत्ता गठबन्धनका दलहरू मिलेरै जाने कुरा भएको दाहालले बैठकमा जानकारी दिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभा लामो समयदेखि अवरुद्ध रहेकाले त्यसको हल निकाल्न पनि पहल गर्ने विषयमा बैठकमा छलफल भएको दाहालले बताएका छन् । लामो समय अवरोधकै बीचमा संसद् चलाइराख्ने हो भने संसदीय प्रणालीमै प्रश्न चिन्ह खडा हुने पनि दाहालको भनाइ थियो ।

एमसीसी सम्झौता अनुमोदनपछि पार्टीभित्र मतभेद चुलिएपछि माओवादी केन्द्रले शुक्रबार केन्द्रीय समितिको बैठक बोलाएको हो । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने विषयमा नेता नारायणकाजी श्रेष्ठ र उनी पक्षधर नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । एमसीसी सम्झौता अनुमोदनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहालले ‘आफ्नो बाटो लागे हुन्छ’ भनेपछि पूर्वएकता केन्द्र समूह आक्रोशित भएको छ ।

केन्द्रीय समिति बैठकमा सम्झौता अनुमोदनकै विषयमा बहस चर्किने सम्भावना देखिएको छ । एमसीसी सम्झौता अनुमोदनमा दाहालको भूमिकाप्रति असन्तुष्ट नेता श्रेष्ठको समूहले वैकल्पिक पार्टी निर्माणसम्मको विकल्पमा छलफल गरिरहेको छ । एमसीसीमा राष्ट्रघात भएको तर्क उक्त समूहको छ ।

प्रकाशित : फाल्गुन २०, २०७८ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×