कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भारतका लागि सिफारिस राजदूत शर्माको ‘एग्रिमो’ कहिले ? 

राजेश मिश्र

नयाँदिल्ली — नेपालले सिफारिस गरेका राजदूत शंकर शर्माका नाममा सहमति (एग्रिमो) का लागि पत्राचार गरेको साढे दुई महिना बितिसक्दा पनि भारतले जवाफ दिएको छैन । शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसक्दा भारतबाट भने एग्रिमो नआएको हो । एग्रिमो नआउँदा शर्माको नियुक्ति हुन सकेको छैन । 

भारतका लागि सिफारिस राजदूत शर्माको ‘एग्रिमो’ कहिले ? 

एग्रिमो आएर बेलायतका लागि राजदूत आचार्यको नियुक्ति गत माघ १४ मै भएको थियो । खत्री भने अमेरिकाका लागि राजदूतमा आइतबार मात्र नियुक्त भएका हुन् । सरकारले सिफारिस गरेको व्यक्तिलाई संसदीय अनुमोदन र सम्बन्धित देशको कूटनीतिक सहमति ‘एग्रिमो’ पछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

सरकारले कात्तिक ११ मा सिफारिस गरेका आचार्य, खत्री र शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ (डिसेम्बर १०) मा परराष्ट्र मन्त्रालयले सम्बन्धित देशहरूलाई ‘एग्रिमो’ का लागि पत्राचार गरेको थियो ।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि सरकारले राजनीतिक रूपमा नियुक्त गरेका सबै देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । देउवा मन्त्रिपरिषदले भारत, अमेरिका र बेलायतलाई उच्च प्राथमिकतामा राख्दै राजदूत सिफारिस गरेको थियो । रिक्त अन्य मुलुकमा भने अहिलेसम्म पदपूर्ति प्रक्रिया अघि बढाइएको छैन ।

भारतका लागि सिफारिस गरिएका शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुन् । उनी अर्थशास्त्रीका रूपमा चिनिन्छन् । दिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू शर्माको ‘एग्रिमो’ आउन ढिलाइ हुनुको कारणबारे अनभिज्ञता प्रकट गर्छन् । ‘यो ताकेता गर्ने विषय पनि होइन,’ एक अधिकारीले भने, ‘अनौपचारिक कुराकानीमा २/४ दिन भनेको पनि धेरै समय भइसकेको छ । छिट्टै एग्रिमो आउने आशा गरेका छौं ।’

राजदूतमा सिफारिस गरिएका व्यक्तिबारे भारतले विभिन्न च्यानलबाट बुझ्ने चलन छ । भारतीय विदेश मन्त्रालयनिकट स्रोतले भन्यो, ‘सुरुमा कोभिडका कारण सूचना संकलनमै ढिलाइ भयो । त्यसपछिका केही घटनाक्रमले एग्रिमो पठाउन ढिलाइ भएको बुझेको छु ।’ उनका अनुसार डिसेम्बर र जनवरीमा विदेश मन्त्रालयका धेरैजसो कर्मचारी कोभिड संक्रमणको चपेटामा परेका थिए । ती अधिकारीले व्यक्तिका बारेमा कुनै पनि समस्या नरहेको बताए । ‘विदेश मन्त्रालयले प्रधानमन्त्रीलाई ब्रिफिङ गर्न नभ्याएको हुन सक्छ,’ उनले थपे ।

अघिल्ला राजदूत नीलाम्बर आचार्यको नाम संसदीय समितिले २०७५ मंसिर २३ मा अनुमोदन गरेको थियो । त्यसको दुई महिनाभित्रै माघ २० मा उनले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसअघि दीपकुमार उपाध्यायको एग्रिमो एक महिनाभित्रै आएको थियो ।

प्रकाशित : फाल्गुन १८, २०७८ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?