कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माओवादीमा बढ्यो श्रेष्ठ पक्षको असन्तुष्टि

सोमबारकाे अभिव्यक्तिले नारायणकाजी श्रेष्ठ चिढिएपछि उनलाई फकाउन दाहाल मंगलबार श्रेष्ठ निवास हात्तीवन पुगेका छन् ।
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरुमा असन्तुष्टि बढेको छ । अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकलौटी रुपमा अघि बढेको र एमसीसीलगायत विषयमा आफ्नो पक्षको कुरा नसुनेको भन्दै श्रेष्ठसहितका नेताहरुले आपत्ति जनाएका छन् ।

माओवादीमा बढ्यो श्रेष्ठ पक्षको असन्तुष्टि

सोमबार अध्यक्ष दाहालले नेता श्रेष्ठलाई 'पार्टी छोडेर गए पनि हुने' आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ पक्ष झन् चिढिएको छ । श्रेष्ठ पक्षधरहरुको आक्रोश चुलिँदै‌ गएपछि मंगलबार अध्यक्ष दाहाल र नेता श्रेष्ठलाई भेट्न उनकै निवास हात्तीवन पुगेका छन् ।

उनीहरुबीच पार्टीमा पछिल्लो समय देखा परेको विवाद र आगामी केन्द्रीय समितिबारे छलफल भएको छ । प्रतिनिधिसभाले एमसीसी पारित गरेको र त्यसमा माओवादीले समर्थन गरेको विषयलाई श्रेष्ठले सार्वजनिक रूपमा पार्टी निर्णयभन्दा फरकरूपमा आलोचना गर्दै आएका थिए ।

पार्टी निर्णयविपरीत श्रेष्ठले बोलेको विषयलाई लिएर अध्यक्ष दाहालले सोमबार पत्रकार सम्मेलनमा 'पार्टी छोडेर गए हुन्छ' भन्ने आशयको अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति श्रेष्ठले असन्तुष्टि जनाएका थिए ।

आफ्नो निवासमा आएका अध्यक्ष दाहाललाई श्रेष्ठले पार्टी छोडेर जान भनेको हो भनेर प्रश्न गरेका थिए । श्रेष्ठ निकट एक नेताले दुवैको छलफलबारे भने, 'तपाईंले नै पार्टी छोडेर जान भन्नुभएको हो भन्ने उहाँको कुरा थियो । अध्यक्षले आवेशमा आएर बोलेको हो, पार्टी छोडेर जाने कुरा भनेको होइन भन्नुभएको थियो । अध्यक्षले मिलेर पार्टी चलाउनुपर्छ भन्नुभएको छ ।'

ती केन्द्रीय सदस्यका अनुसार दाहालले पार्टीभित्रका कमीकमजोरीको समीक्षा गरेर जानुपर्ने भन्दै आफ्ना कुरा केन्द्रीय समितिमा राख्न भनेका थिए ।

अध्यक्ष दाहालले पार्टीले गरेको निर्णय मान्नुपर्ने कुरा राखेको उनका स्वकीय सचिव रमेश मल्लले बताए । उनले नेता श्रेष्ठसँग आगामी केन्द्रीय समिति बैठकबारे छलफल भएको पनि बताए । 'अध्यक्ष र नेता श्रेष्ठबीच सौहार्द्धपूर्ण वातावरणमा छलफल भयो । पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ । अध्यक्षले बैठक राम्रो भयो भन्नुभएको छ । केन्द्रीय समिति बैठकको तयारी बारेमा छलफल भएको हो,' उनले भने ।

अध्यक्ष दाहालले नेता श्रेष्ठलाई पार्टी निर्णय पार्टी कमिटीमा नै राख्नुपर्ने र चुनावका बेला विवाद भएजस्तो नदेखाउन भनेका थिए । पार्टी निर्णय मानेर अगाडि बढ्नुपर्नेमा बाहिर बोलेको प्रति दाहालले असन्तुष्टि जनाएका थिए ।

एमसीसी पारित गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए । त्यस्तै, लिलामणि पोखरेलले पनि एमसीसी पास गर्ने निर्णयमा असन्तुष्टि जनाएका थिए ।

व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि श्रेष्ठले सामाजिक सञ्जलमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले लेखेका थिए, 'अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराई छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।'

पार्टी निर्णय नमानेको र बाहिर आलोचना गरेको विषयमा दाहालले असन्तुष्टि जनाउँदै एमसीसीको विषयलाई लिएर पार्टी कसैले छोड्न चाहेमा जानसक्ने अभिव्यक्ति दिएका थिए । उनले महाकाली सन्धिपछि वामदेव गौतमले एमाले विभाजन गरेर माले गठन गरेको तर एक सिट पनि नजितेको उदाहरण दिँदै कसैलाई पार्टीमा जबर्जस्ती राख्न नसकिने बताएका थिए ।

एमसीसी पारित भएपछि श्रेष्ठ पक्षधरले छुट्टै भेलासमेत गरेका थिए । उनीहरूले एकताबाट आएका आफूहरूलाई अझैसम्म पनि माओवादी नमानेकाले पनि पार्टीमा अब बसिराख्नुको औचित्य नभएको भन्ने कुरा श्रेष्ठसमक्ष राखेका थिए । अध्यक्ष दाहालको उक्त अभिव्यक्तिपछि श्रेष्ठ समूहमा तीव्र असन्तुष्टि छ ।

प्रकाशित : फाल्गुन १७, २०७८ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?