कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११६

एमफिल परीक्षामा पनि चिट !

गणेश राई

काठमाडौँ — दर्शनाचार्य अर्थात् ‘मास्टर्स अफ फिलोसफी’लाई उच्च शिक्षा अन्तिम दोस्रो खुड्किलो मानिन्छ । दर्शनाचार्य कुनै पनि विषयमा ‘विशिष्ट विद्वान’को उपाधि धारण गर्न लिइने शिक्षा हो । यो शिक्षा मुलुकको जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा सञ्चालन भइरहेको छ ।

एमफिल परीक्षामा पनि चिट !

दर्शनाचार्य उपाधिका लागि परीक्षार्थीले ‘चिट’ चोरेको सुन्दा भने परीक्षार्थीको ल्याकतमाथि प्रश्न शंका पैदा गर्छ । ‘चिट’ अर्थात् ‘परीक्षामा अवैध साधनका रूपमा चोरी गर्ने मनसायले परीक्षार्थीले छलपूर्वक प्रयोग गर्ने टिपोटपत्र’ भन्ने हुन्छ ।

हो, त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत सोमबारबाट एमफिल पहिलो सेमेस्टरको परीक्षा सुरु भएको छ । एक सेमेस्टर अर्थात् ६ महिना पढेर लिखित परीक्षामा सामेल परीक्षार्थीबाट चिट फेला परेको हो ।

परीक्षार्थीले परीक्षा हलभित्र कलमबाहेक अरु वस्तु आफ्नो साथमा राख्न पाउँदैन । परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले ‘इक्जाम पेपर क्लिप बोर्ड’ प्रयोग गरेको फेला पर्‍यो । भाषाविज्ञान विषयका ती विद्यार्थीले उत्तरपुस्तिका त्यसैमाथि राखेर लेख्न थाले । लगत्तै निरीक्षकले कमजोरी भएको चाल पाए । अनि परीक्षार्थीबाट उक्त बोर्ड खोसेर बाहिर ल्याए ।

‘म्याडम विद्यार्थीबाट यस्तो फेलापर्‍यो,’ निरीक्षकले परीक्षा अवलोकनमा रहेकी संकाय डिन कुसुम शाक्यलाई देखाउँदै भने, ‘एमफिल गर्न चाहने विद्यार्थीको हालत यस्तो छ ।’ उक्त बोर्डको पछाडि मसिना अक्षरमा टिपोट गरिएका थिए ।

डिन शाक्यले तुरुन्तै सोधिन्– ‘परीक्षार्थीलाई निस्कासन गर्नु भएन ?’ निरीक्षकले एक पटकका निम्ति मौका दिएको जवाफ दिए । यो घटना कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालय क्याम्पस घडीघरको हो ।

परीक्षा समय दिउँसो १ बजेबाट तीनघण्टाको रहेको छ । नियमानुसार परीक्षार्थीले परीक्षा सुरु भएको एक घण्टापछि शौचायल जान पाउँछन् । परीक्षा सुरु भएको एक घण्टा नबित्दै बोर्ड खोसिएका ती विद्यार्थीले चिट चोर्न पाएनन् । तर, एक घण्टा नबित्दै शौचालय धाउने विद्यार्थीको लर्को बढ्न थाल्यो । पहिलो पटक शौचालय छिरेका एक विद्यार्थीले मोबाइलमा खोलेर धमाधम चिट हेर्दै गरेको भेटिए । एकपछि अर्को गरी शौचालय धाउने पुरुष परीक्षार्थी कोही ढोका थुनेर भित्र पसे । संवाददाता शौचालय पुग्दा कोही मोबाइल हेर्दै र कोही कागज च्यातिरहेका देखिए ।

मानविकी संकायअन्तर्गत २६ विषयमा ४ सय ५४ जना एमफिलमा भर्ना भएका थिए । तीमध्ये परीक्षामा ४ सय ३९ जना मात्र परीक्षामा सामेल भएको सुपरिटेन्डेन्ट तथा विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल ध्यानेन्द्रबहादुर राईले जनाएका छन् । परीक्षा एक सातासम्म सुचारु रहनेछ । ‘बानी परेका विद्यार्थीलाई हामीले जति गर्दा पनि चिट चोर्दा रहेछ,’ सुपरिटेन्डेन्ट राईले भने, ‘

एमफिल उपाधिका निम्ति तीन सेमेस्टर पढ्नु पर्छ । पहिलो र दोस्रो समेस्टर १२–१२ क्रेडिट आवरको रहेको छ । सबैगरी चार–चार विषय पढ्नु पर्छ । तेस्रो समेस्टर ६ क्रेडिट आवरको दुई विषय पढ्नु पर्छ । हरेक विषयमा ६० अंक लिखित परीक्षा हुने गर्छ । बाँकी ४० प्रतिशत आन्तरिक मूल्यांकनबाट नम्बर दिने प्रावधान छ ।

डिन शाक्यले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत एमफिल र पीएचडी कार्यक्रमलाई पहिलाभन्दा परिवर्तन गरेको बताइन् । यसअघि कतिपय विषयमा एकैचोटि पीएचडीसमेत गर्थे । त्यसपछि एमफिल र पीएचडी छुट्टाछुट्टै कोर्स सुचारु थियो । एमफिल सकेपछि पीएचडी गर्न पाउँथ्यो । शाक्यका अनुसार त्यो कोर्स तीन वर्षमात्र चल्यो । ‘अहिले पहिलो पटक एमफिल र पीएचडी एकीकृत कोर्सका रूपमा विकास गरेका छौं,’ एमफिलबिना डाइरेक्ट पीएचडी गर्न नपाउने उल्लेख गर्दै शाक्यले भनिन्, ‘एउटा विषयमा बढीमा ३५ जनाले एमफिल पीएचडी कोर्समा भर्ना हुन्छन् । तीमध्ये उत्कृष्ट पाँचजनाले पीएचडी शोध गर्न पाउँछन् । बाँकीले एमफिल उपाधि लिएर फेरि पीएचडी गर्न सक्छन् ।’

एमफिल नगरेकालाई पीएचडी उपाधिका निम्ति शोध अनुसन्धान नगराइने भएकाले गुणस्तर नियन्त्रण हुने शाक्यको दाबी छ । ‘एमफिल गरेर आएका जसको आवेदन लिन्छौं, त्यसमा उहाँहरूको अनुसन्धानात्मक लेखहरू प्रकाशन भएको हुनैपर्छ,’ एमफिल पूरा गरेका नेताका छोराछोरीबाट पीएचडीका निम्ति दबाब आउने गरेको उल्लेख गर्दै डिन शाक्यले भनिन्, ‘आज एमफिलको आवेदन दिने अन्तिम दिन हो । नेताकै कति जना छोराछोरीले फोन गरिरहेका छन्, मलाई । मेरो आर्टिकल आउँदैछ, मौका दिनु भनेका छन् । आउँदैछ भने बस्दै गर्नु भनेको छु ।’ शोधपत्रमा अर्काको नक्कल भए/नभएकोबारे जाँच्न प्लेगरिजम यन्त्रसमेत प्रयोगमा आएकाले उपाधिको गुणस्तर र चोरीप्रति आशंका गर्ने ठाउँ कम भएको शाक्यले बताइन् ।

प्रकाशित : फाल्गुन १७, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?