१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ओलीमा देशभक्तिको भावना छँदै छैन : नेपाल

'एमसीसीबारे तत्कालीन ओली सरकारले नै भ्रम फैलायो'
कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीमा देशभक्तिको भावना नभएको आरोप लगाएका छन् ।

ओलीमा देशभक्तिको भावना छँदै छैन : नेपाल

मंगलबार एमसीसी अनुदान सम्झौताबारे प्रस्ट पार्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले ओली कम्युनिस्ट पनि नभएको बताएका हुन् । उनले भने, 'केपी ओलीमा देशभक्तिको भावना छँदैछैन । कम्युनिस्ट हुन लायक छैनन् । म चुनौतीका साथ भन्न चाहन्छु, यदि तर्कको मैदानमा, तर्क प्रस्तुत गर्ने ठाउँमा आउनुस् ।'

ओली नेतृत्वकै सरकारका कारण एमसीसीबारे भ्रम फैलिएको पनि नेपालको भनाइ थियो । एमसीसीबारे ओली सरकारका मन्त्रीहरूले भ्रम फैलाएको उनले बताए । उनले भने, 'एमसीसीबारे जे भ्रम सिर्जना भयो, त्यसको दोषी भनेको केपी ओलीको सरकार हो । केपी ओली सरकारका मन्त्रीहरू हुन् ।'

ओलीले आफूमाथि कसैले प्रश्न खडा गरे समाप्त पारिदिने सोच्ने गरेको पनि नेपालको भनाइ छ । 'आफूमाथि कसैले प्रश्न खडा गर्छ भने समाप्त पारिदिने उहाँले सोच्नुहुन्छ । कसैले पनि सामना गर्न सक्दैनन् भन्ने अहंकार छ । एमसीसीको बारेमा धारणा नराख्ने, सभामुखलाई निकाल, १४ सांसदलाई निकाल, पार्टीको दर्ता खारेज गर भनेर सर्त राख्ने, गठबन्धन तोड, हामीलाई मुख्यमन्त्री देऊ, हामीले भनेको मान्छेलाई मन्त्री बनाइदेऊ भनेर भन्ने,' उनले भने ।

एमसीसीबारे १२ बुँदे व्याख्यात्मक घोषणाले जनतामा रहेको भ्रम पनि हटेको नेपालको दाबी छ । एमसीसीबारे व्याख्यात्मक घोषणा आएपछि नै पार्टी स्पष्ट भएर यसको पक्षमा उभिएको बताए । उनले भने, 'एमसीसीबारे पार्टीले स्पष्ट भएर अघि बढ्नुपर्छ भनेर निर्णय गरेको थियो । त्यसलाई प्रस्ट पार्नका लागि १२ बुँदे व्याख्यात्मक घोषणा आएको र त्यसमा विश्वास गर्ने आधार बनेको हो । अहिले जनता पनि प्रस्ट भएका छन्, जनताको भावनाको प्रतिनिधित्व गर्ने पार्टी एकीकृत समाजवादी हो ।'

प्रकाशित : फाल्गुन १७, २०७८ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?