कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमसीसी अनुमोदन भएपछि कांग्रेसका चार दाबी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभाबाट अपवादबाहेक सबैको साझा सहमतिबाट अनुमोदन भएको दाबी गरेको छ । प्रवक्ता प्रकाशशरण महतले सोमबार ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै लामो बहस, छलफल र विवादका बाबजुद प्रतिनिधिसभामा अपवादबाहेक सबैको सहमतिबाटै एमसीसी सम्झौता स्वभाविक अनुमोदन भएको बताए ।

एमसीसी अनुमोदन भएपछि कांग्रेसका चार दाबी

उनले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि त्यसको प्रक्रियामा उब्जिएका प्रश्नबारे चार दाबीहरू अघि सारे ।

भ्रम र अफवाहको निवारण

प्रवक्ता महतले सरकारको व्याख्यात्मक घोषणाले एमसीसीमाथि उठेका सबै भ्रम र अफवाहको निवारण भएको बताए । ‘दलहरूको राजनीतिक सहमतिले एमसीसीका विषयमा उठाइएका भ्रम र सन्देहलाई चिरेको छ, सबै दलहरूको सम्झौता प्रक्रियादेखिको संलग्नता र प्रतिनिधिसभामा जुटेको समर्थनले पनि यसमाथिका भ्रमहरू निवारण गरेको छ,’ उनले भने, ‘कांग्रेस यसका लागि साझेदार दलहरु र नेतृत्वको सराहना गर्दछौँ ।’ एमसीसी संसद्मा प्रवेश नै नहुँदा त्यसबारे अनेक भ्रम फैलाइएको भन्दै प्रवक्ता महतले संसद्ले त्यस्ता भ्रम निवारण गरेको दाबी गरे । ‘संसदमार्फत् भ्रम र अन्योल हटेको छ,’ उनले अघि भने, ‘अझै केही भ्रम रहेको भए हामी त्यसलाई चिर्न लागिरहन्छौँ । कसैको बुझाइमा समस्या रहे हामी बुझाउाछौँ ।’

प्रतिपक्षी दलको पनि सहमति

प्रवक्ता महतले एमसीसी अनुमोदनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको समेत सहयोग रहेको दाबी गरे । ‘प्राविधिक कारणले, अन्य राजनीतिक मुद्दाका कारणले उहाँहरूको औपचारिक सहभागिता भएन । तर, हामीले उहाँहरुको पनि सहयोग भएको बुझेका छौँ । समग्रमा अपवादबाहेक सबैको सहयोगबाट एमसीसी परियोजना पारित भएको छ,’ उनले भने, ‘मुख्यतः प्रमुख प्रतिपक्षी दलको साथ हुनु नै ठूलो कुरा हो ।’

उनले एमालेले यथार्थ र सत्य कुराहरू सार्वजनिक गरेर आमजनतालाई सुसूचित गराउन सहयोग गरेको बताए । ‘एमाले संसदीय प्रक्रियामा सहभागी हुन सकेन । तर, एमसीसीको पक्षमा नै थियो । एमाले अध्यक्ष र अधिकांश नेताले यसका सन्दर्भमा प्रकट गर्नुभएका विचार र अभिव्यक्तिहरुले यो सम्झौता पारित गर्न र सकारात्मक जनमत सिर्जना गर्न ठूलो सहयोग गरेको छ,’ महतले भने ।

देउवाको परिपक्व नेतृत्व

उनले एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन गर्न पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्व र सुझबुझपूर्ण नेतृत्वले काम गरेको दाबी गरे । ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीको सुझबुझपूर्ण प्रस्तुति, परिपक्वता र धैर्यताले यो विन्दुमा सबैको समझदारीका साथ एमसीसी अनुमोदन भएको छ,’ उनले भने, ‘जनताले नेपाली कांग्रेस र नेतृत्वको सत्तामा हुँदा र सडकमा हुँदासमेत समान धारणा राख्ने प्रवृत्ति र अडानको प्रशंसा गरेका छन् ।’

उनले कांग्रेसले कांग्रेसले निरन्तर यथार्थ र सत्य कुरामात्रै बोल्ने गरेको भनेर पुष्टि भएको बताए । ‘कांग्रेस निरन्तर यथार्थ र सत्य कुरामात्रै राख्छ, राख्दै आएको छ । कांग्रेस पार्टी नै यस्तो पार्टी हो, जसले परिपक्क निर्णय गर्छ, र त्यसमा उभिन्छ भनेर पुष्टि भएको छ, जनताले यसको प्रशंसा गरेका छन्,’ उनले भने । उनले गठबन्धन र प्रतिनिधिसभामा भएका सबै दलहरूप्रति एमसीसी अनुमोदनमा सहयोगी दलहरूलाई धन्यवाद प्रकट गरे ।

नेपाल–अमेरिका दुवैको समान बुझाइ

कांग्रेसले एमसीसीबारे नेपाल सरकार र अमेरिकाको समान बुझाइ रहेको पुष्टि भएको दाबी गरेको छ । व्याख्यात्मक घोषणामा सरकारले नेपालको बुझाइ सार्वजनिक गर्दा अमेरिकाले समेत त्यसलाई स्वागत गरेको भन्दै कांग्रेस प्रवक्ता महतले नेपाल र अमेरिकाको समान बुझाइ हुनुले समेत यसबारेका भ्रम निवारण भएको दाबी गरे । ‘जुन हाम्रो बुझाइ हो, त्यो हामीले व्याख्यात्मक घोषणामा उल्लेख गरेका थियौँ, त्यसलाई अमेरिकाले स्वागत गरेको छ, त्यो भने अमेरिकाको बुझाइ पनि त्यही हो भन्ने स्थापित भएको छ, त्यसैले यसमा भ्रममा पर्नुपर्ने कारण रहेन,’ उनले भने ।

प्रकाशित : फाल्गुन १६, २०७८ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?