कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुनावअघि नै 'एमसीसीमाथिका भ्रम' चिर्ने कांग्रेसको तयारी 

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ दल कांग्रेसले एमसीसी सम्झौताबारे फैलिएका विभिन्न भ्रमहरू चिर्न चुनावअघि नै अभियान थाल्ने भएको छ ।एमसीसीबारे जनतामा फैलिएको भ्रमले चुनावी नतिजालाई प्रभावित पार्न सक्ने अनुमान गर्दै कांग्रेसले त्यसबारे प्रचार अभियान गर्न लागेको हो ।

चुनावअघि नै 'एमसीसीमाथिका भ्रम' चिर्ने कांग्रेसको तयारी 

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आफ्ना नेता कार्यकर्ता र जनतालाई यसबारे कुनै भ्रम भए त्यसलाई प्रस्ट पार्ने बताए ।

उनले बौद्धिक र कूटनीतिक क्षेत्रले वैदेशिक मामलामा नेपालको एकै मत प्रकट होस् भन्ने चाहना व्यक्त गरिरहेको बेलामा एमसीसी सम्झौता अनुमोदनले एमसीसी सम्झौता नेपालमा आएका विकास सहयोगको मानक बन्ने विश्वास बढाएको बताए । ‘एमसीसी सन्दर्भमा अझै बाँकी भ्रम र अफवाहलाई चिर्दै नेपाली जनतालाई यथार्थ बुझाउने काममा नेपाली कांग्रेस निरन्तर लागिरहनेछ,’ उनले भने ।

स्रोतका अनुसार कांग्रेसले एमसीसीबारे प्रष्ट पार्न यसको सम्झौता प्रक्रिया, त्यसमा संलग्नता र कांग्रेसको अडानबारे दस्तावेज नै प्रस्तुत गर्ने तयारी छ । ‘हामीले यसबारे विस्तृत जानकारीसहितको दस्तावेज तयार गर्दैछौँ, त्यसलाई जनताको घर–घरमा पुर्‍याउने र यसमाथिका भ्रमहरू निवारण गर्ने योजना हो,’ एक नेताले भने ।

सम्मुखमा स्थानीय तहको निर्वाचन रहेकाले त्यस्तोमा एमसीसीबारे उठेका भ्रम र अफवाहबारे जनतालाई नबुझाए हानी हुन सक्ने कांग्रेसको अनुमान छ ।

प्रवक्ता महतले एमसीसी परियोजना तत्काल अघि बढेर अनुदानको सदुपयोग र पाँच वर्षभित्रै सबै पूर्वाधार निर्माणका कामहरू पूरा गर्नुपर्ने बताए । ‘एमसीसीबाट प्राप्त अनुदानको सदुपयोग हुन सकोस् । यस सहयोगमार्फत निर्माण हुने आयोजनाहरु गुणस्तरीय रुपमा निर्धारित समयमा निर्माण हुन सकून् । यसले नेपालको विकास प्रशासनलाई थप पारदर्शी र उत्तरदायी बनाउन सघाउन सकोस् । संसद्‍बाट पारित भएकोले यसको अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी संसद्‍मा पनि आएको छ,’ उनले भने ।

वि.स. ०७४ सालमा एमसीसीसँग नेपाल सरकारको सम्झौतापछि भित्रिएको यो परियोजना प्रतिनिधिसभाबाट अनुमोदन भएपछि अब कार्यान्वयनको चरणमा अघि बढेको छ । परियोजनाअन्तर्गत एमसीसीले विद्युत प्रसारण लाइन निर्माण र सडक विस्तारको लागि नेपाललाई ५०० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्नेछ ।

प्रकाशित : फाल्गुन १६, २०७८ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?