पल शाहविरुद्ध बलात्कारको उजुरी दिने किशोरीको भरतपुरमा स्वास्थ्य परीक्षण - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पल शाहविरुद्ध बलात्कारको उजुरी दिने किशोरीको भरतपुरमा स्वास्थ्य परीक्षण 

नारायण शर्मा

पूर्वी नवलपरासी — अभिनेता पल शाहले करिब एक वर्ष अघि गैंडाकोटमा आफूलाई बलात्कार गरेको भनेर जाहेरी दिएकी किशोरीको आइतबार भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । 

पीडित किशोरीले २०७७ चैत ७ गते गैंडाकोटको एक होटलमा आफूलाई मादक पदार्थ खुवाएर अभिनेता पल शाहले बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा आजै दिउँसो किटानी जाहेरी दिएकी थिइन् ।

डीएसपी दीलिप गिरीले किशोरीको जाहेरीका आधारमा आइतबार चितवनको भरतपुरस्थित सरकारी अस्पतालमा किशोरीको स्वास्थ्य जाँच गरिएको जानकारी दिए । चिकित्सकले दिने रिर्पोट तथा अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढ्ने उनले बताए ।

प्रहरीले गत चैत ७ गते उनीहरु बसेको होटलमासमेत मुचुल्का गरेको छ । किशोरीले दिएको उजुरीमा सुटिंगका क्रममा आफूलाई होटलमा मादक पदार्थ खुवाएर बलात्कार गरेको आरोप छ ।

गैंडाकोटकी प्रहरी निरिक्षक लक्ष्मी पाण्डेका अनुसार निवेदन दर्ता गराउन ती पीडित किशोरी र उनका बाबु आएका थिए ।

यसअघि ती किशोरीले पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार गरेको जाहेरी दिएकी थिइन् । सो घटनामा प्रहरीले अनुसन्धान गर्न शाललाई हिरासतमा राखेर अदालतबाट सात दिनको म्याद लिएको छ ।


प्रकाशित : फाल्गुन १५, २०७८ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्जमा राजस्व छली आरोपमा ठूलो परिमाणमा कपडा बरामद

भूषण यादव

वीरगन्ज — वीरगन्ज भन्सार कार्यालयले चोरी पैठारी र राजस्व छलीको आरोपमा रामगढवाबाट ठूलो परिमाणमा कपडा बरामद गरेको छ । वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित जय माँ दुर्गा रोड केरियर्सको गोदामबाट आइतबार अपराह्न ६४ पोका सामान बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ । 

भन्सार अधिकृत तेजबहादुर रावल नेतृत्वको टोलीले करिब २ बजेको समयमा केरियर्सको गोदाममा छापा मारेको थियो । ‘चोरी पैठारी गरी गोदाममा कपडा राखेको सूचनाको आधारमा छापा मारेका हौं,’ भन्सार अधिकृत रावलले भने, ‘कपडासँगै अन्य सामान पनि गोदामबाट बरामद भएका छन् ।’

स्रोतका अनुसार भन्सार प्रशासकलाई चोरी पैठारी गरी ठूलो परिमाणमा कपडा भण्डारण गरिएको सूचना पाएपछि टोली परिचालन गरिएको थियो । ‘बरामद गरिएका सबै सामान चोरी पैठारीकै हुन् भन्न सकिन्न, यसमा अनुसन्धान हुन्छ,’ भन्सार अधिकृत रावलले भने, ‘सामान जेनयुन पनि हुन सक्छन् । भन्सार राजस्व छली कपडा भित्र्याएको सूचनाको आधारमा छापामारी गरेका हौं ।’

केरियर्स सञ्चालकले बरामद गरिएका सामानको बिलविजक पेस गरेका छन् । ‘केरियर्स सञ्चालकले बिलविजक पेस गरेका छन्,’ रावलले भने, ‘बिलमात्र भएर हुँदैन । सामान आएको स्रोत हेर्नुपर्‍यो, भन्सार पज्ञापनपत्र हेर्नुपर्‍यो ।’ उनका अनुसार प्रज्ञापनपत्र बनेपछि मात्र हो बिल काट्ने ।

जय माँ दुर्गा रोड केरियर्सका अनुप शर्माले गोदाममा रहेका सामानहरु जेनयुन रहेको दाबी गरे । ‘सामानको बिलविजक हामीसँग छ,’ उनले भने, ‘गोदामबाट बरामद गरिएका सामान चोरी पैठारीका हैनन् ।’

प्रकाशित : फाल्गुन १५, २०७८ १९:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×