कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

निर्वाचनमा समावेशी नेतृत्व सुनिश्चित गराउन निर्वाचन आयोगलाई सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — नागरिक संघसंस्थाहरूले स्थानीय तहको निर्वाचनमा लैङ्गिक तथा सामाजिक समावेशी नेतृत्व सुनिश्चित गराउन विभिन्न राजनीतिक दलहरु र निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

निर्वाचनमा समावेशी नेतृत्व सुनिश्चित गराउन निर्वाचन आयोगलाई सुझाव

निर्वाचनमा समावेशी प्रतिनिधित्वका लागि निर्वाचन आयोग, सरकार, राजनीतिक दल र नागरिक समाजको प्रभावकारी भूमिका आवश्यक रहेको भन्दै नागरिक संस्थाहरूले विभिन्न राजनीतिक दलहरु सहित आयोगलाई १३ बुँदे सुझावपत्र सहित ध्यानाकर्षण गराएका हुन् । तीन वटै तहका निर्वाचनमा संविधानको मर्म र भावनाअनुकूल लोकतन्त्रको मूल्य र मान्यताबमोजिम सबै क्षेत्र, वर्ग, जाति, लिङ्ग र सीमान्त समुदायको सहभागितासहितको नेतृत्व छनौट हुनुपर्नेमा उनीहरुको जोड छ ।

सुझावपत्रमा आगामी निर्वाचनमा, मूलधारको राजनीतिमा महिला, दलित, अपाङ्गता भएका व्यक्तिलगायत लक्षित, सीमान्त समुदायको अर्थपूर्ण तथा समानुपातिक सहभागिता र नेतृत्व सुनिश्चित गर्नु माग गरिएको छ । साथै तीनवटै तहको निर्वाचनमा देशका सबै जिम्मेवार राजनैतिक दलहरूले समानुपातिक समावेशिताको सुनिश्चितता हुनेगरी उम्मेदवार चयन गर्न र निश्चित समयसम्म सबै राजनैतिक दलले कुनै निर्वाचन क्षेत्रमा महिला उम्मेदवार मात्र उठाउने व्यवस्था गर्न तथा महिलाको प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधित्वको सुनिश्चितता गर्न माग गरेका छन् ।

निर्वाचन प्रक्रियालाई सहज, कम खर्चिलो र मितव्ययी बनाउन विद्यमान निर्वाचन सम्बन्धी कानुनको राजनैतिक दल तथा तिनका कार्यकर्ताले पूर्ण पालनाको प्रतिबद्धता गर्ने वातावरण राजनैतिक दलले निर्माण गर्नुपर्ने, निर्वाचन प्रचारप्रसार तथा मतदान अघिको समयको निर्वाचन आचारसंहिता अनुगमनमा निर्वाचन आयोगले ध्यान दिनुपर्ने र यसका लागि निर्वाचन आयोगले समूदायका संस्था तथा नागरिक समाज संघसंस्थासँगको समन्वय र सहकार्यलाई जोड दिनुपर्ने सुझाव पत्रमा उल्ल्लेख छ ।

त्यस्तै, नागरिक संस्थाहरूले नेपालको संविधानले संघीय संसद् र प्रदेशसभामा महिलाको सहभागिता ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको र धारा ३८ बमोजिम हरेक क्षेत्रमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व हुने व्यवस्था रहेको स्मरण गराउँदै त्यसतर्फ ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित : फाल्गुन १४, २०७८ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?