कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जुनसुकै भिसामा गएका घरेलु कामदारलाई वैधता दिइने 

होम कार्की

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जुनसुकै भिसामार्फत जाने घरेलु कामदार (हाउसमेड)लाई कानुनी वैधता (लिगललाइजेसन) दिने निर्णय गरेको छ । मन्त्रालयको मंगलबारको यो निर्णयसँगै अब सरकारको अनुमतिबिना तेस्रो बाटो प्रयोग गरेर घरेलु काममा काम गर्नेले पुन:श्रमस्वीकृति पाउने बाटो खुलेको छ ।

जुनसुकै भिसामा गएका घरेलु कामदारलाई वैधता दिइने 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसनकुमार श्रेष्ठले परिवारबीच मिलन नभएको भन्दै घरेलु कामदारलाई पुन:श्रमस्वीकृति दिने निर्णय गरेका हुन् । श्रम मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले घरेलु कामदारको सम्बन्धमा दुई वटा मन्त्रीस्तरीय निर्णय भएको बताए ।

‘२०७३ साल चैत २० भन्दा अगाडि श्रम स्वीकृति लिएर गई अहिलेसम्म पनि त्यही रोजगारदाताको काम गरेका घरेलु कामदारलाई पुन:श्रमस्वीकृति दिने निर्णय भएको छ,’ उनले कान्तिपुरसँग भने,‘अर्को जुनसुकै भिसामा गएको भए पनि दूतावासको सिफारिसमा घरेलु कामदारलाई पुन:श्रमस्वीकृति दिने निर्णय भएको छ ।’

रोक लगाउनुभन्दा अगाडि २९ हजार ९ सय ५ जना घरेलु कामदारले श्रमस्वीकृति लिई खाडी तथा मलेसिया गएका छन् । लामो समय उक्त प्रक्रिया रोकिँदा रोजगारादाताले बिदा दिँदा पनि फेरि जान नपाउने डरल धेरै जना मुलुक फर्किएका छैनन् । खुल्ला सिमनाका कारण फेरि अवैध ढंगले जाने क्रम बढ्दै गइरहेको छ । परिणामस्वरुप नेपाली घरेलु कामदार थप जोखिममा परेका छन् ।

सरकारले जोर्डनबाहेकका मुलुकमा घरेलु कामदारमा जान रोक लगाउँदै आएको छ । २०७६ भदौ १७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको निर्देशन बमोजिम पुन: श्रमस्वीकृति दिने निर्णय गरेको थियो । जसअनुसार श्रम स्वीकृति लिई गएको खुल्ने कागजात, बिदामा नेपाल गई पुन: वैदेशिक रोजगारीमा फर्कंदा पुरानै रोजगारदाताकोमा आउने सुनिश्चित हुने कागजात, घरेलु कामदारको अवधि कायम भएको भिसा, राहदानी, लेबर कार्ड र करार सम्झौता भए पुन:श्रमस्वीकृति दिने निर्णय भएको थियो । यसले अन्य भिसामा गई घरेलु काम गर्नेलाई सम्बोधन गरेको थिएन । जसले गर्दा उनीहरु परिवार भेट्न घर आउन पाएका थिएनन् ।

श्रम मन्त्रालयले बिनाश्रमस्वीकृति गएका घरेलु कामदारलाई पनि वैधता दिने निर्णय गरेकाले बिदा आफ्नो परिवारलाई भेट्न बाटो खुलेको छ । यो निर्णयले सबैभन्दा बढी यूएई, कुवेत, साउदी अरब, ओमान, बहराइन र कतारमा कार्यरत महिला कामदारहरू बिदामा आउने पाउने भएका छन् । बिनाश्रमस्वीकृति काम गर्ने घरेलु कामदार खाडीमा मात्रै एक लाखभन्दा बढी रहेको दूतावासहरूको अनुमान छ ।

‘म खाडी नआएको भए मेरा छोरीहरु पढ्न होइन कि भाडा माझ्न खाडी आउनुपर्दथ्यो । सरकारले लिएको नीति हचुवा र केटाकेटीले खेलेको जस्तो गैरजिम्मेवारपन भयो । हामीलाई सधैं यातना दिने, तलब नदिने र शोषण गर्ने गर्छ भनेर मात्रै हेर्ने सरकारी आँखा छ,’ यूएईमा कार्यरत गुल्मीका सपना पन्थीले भनिन्,‘हाम्रो घरमालिक राम्रो छ । नियमित तलब दिन्छ । शुक्रबार छुट्टी दिन्छ । मानवीय व्यवहार गर्छ । त्यस्तो घरमा फेरि आफैले रोजेर आउन दिँदैन । त्यही भएर रोजगारदाताको अनुमति भए पनि ७ वर्षदेखि घर गएको छैन । हामीलाई वैधानिक हैसियत दिने भन्ने निर्णयले म निकै उत्साहित छु ।’

प्रकाशित : फाल्गुन १०, २०७८ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?