१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

एमसीसीविरुद्ध पेस भएको रिट सर्वोच्चद्वारा दरपीठ

कान्तिपुर संवाददाता

काठमाडौँ — एमसीसी सम्झौता लागू नगर्न भन्दै उत्प्रेषण र परमादेश मागसहित पेस भएको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सोमबार सर्वोच्चमा उक्त रिट पेस गरेका थिए ।

एमसीसीविरुद्ध पेस भएको रिट सर्वोच्चद्वारा दरपीठ

सर्वोच्च अदालतले संसद्‌मा टेबल भइसकेको र संसद्‌मै विचाराधीन विषय भएकाले त्यसलाई दरपीठ गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए । 'यसअघि पनि एमसीसीविरुद्ध भद्रप्रसाद नेपालको निवेदन आएको थियो । ७६ फागुन ७ मा एकल इजलासबाट उक्त विषय संसद्को विचाराधीन विषय भएकाले त्यसलाई इजलासले सदर गरिदिएको थियो । सोही आदेशमा टेकेर सुरेन्द्र भण्डारीबाट पेस भएको निवेदन पनि सदर गरियो,' उनले भने ।

नेपालको संविधान र अन्य कानुनहरुभन्दा एमसीसी सम्झौताले प्राथमिकता पाउने र संविधान र अन्य कानुन, कानुनी प्रणाली अर्थात् समग्र घरेलु कानुन मुकदर्शक बन्नु पर्ने उल्लेख गर्दै अधिवक्ता भण्डारीले सम्झौता लागू गर्ने गराउने कार्य नगर्नु भनी उत्प्रेषण, परमादेशलगायतका आदेश माग गर्दै रिट पेस गरेका थिए ।

'दरपीठ' भन्नाले कानुन बमोजिम दर्ता गर्न नसकिने लिखतमा सम्बन्धित अधिकृतले दर्ता गर्न नसकिनाको आधार र कारण खुलाइ आफ्नो हस्ताक्षर गरी सोही लिखतको पीठ, अन्य कुनै भाग वा छुट्टै कागजमा गरेको आदेशलाई बुझिन्छ ।


प्रकाशित : फाल्गुन १०, २०७८ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?