एमसीसीमा माधव नेपालले दोहोरो चरित्र देखाए : निधि

श्यामसुन्दर शशि

जनकपुर — कांग्रेस नेता विमलेन्द्र निधिले एमसीसी समझौताका सम्बन्धमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दोहोरो चरित्र देखाएको बताएका छन् ।

एमसीसीमा माधव नेपालले दोहोरो चरित्र देखाए : निधि

धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–२ को बेलहीमा निर्माण हुने भ्युटावर स्थलको निरीक्षण गर्न पुगेका नेता निधिले आफूसमेत सहभागी रहेको छलफलमा अध्यक्ष नेपालले एमसीसी समझौता संसद्बाट अनुमोदन गर्न सहमति जनाएको दाबी गरेका छन् ।

‘एमसीसी समझौता संसद्बाट अनुमोदन गराउने सवालमा नेपालजीले सहमति जनाएकै हुन् । बरु उनले ‘पहिले ओली नेतृत्वको सरकार ढालौँ, अनि मिलेर एमसीसी अनुमोदन गरौं’ भनेका थिए,’ निधिले भने ।

आम नेपालीलाई एमसीसीबारे जानकारी नभएकोले भ्रम पर्न गएको निधिको भनाइ छ । एमसीसी ऋण नभई अनुदान भएकाले देशमाथि कुनै व्ययभार नपर्ने उनले दाबी गरे । ‘गाउँ समाजका हुने खानेले नहुनेलाई सहयोग वा चन्दा दिएजस्तै अमेरिकाले हामीलाई दिएको अनुदान हो । यसबाट मुलुकलाई लाभ नै हुने हो,’ उनले भने ।

मुलुकमा यसअघि पनि धेरै मित्रराष्ट्रले अनेकौं पटक अनुदान र सहयोग दिएको उल्लेख गर्दै उनले केही राजनीतिक दलहरुले दोहोरो चरित्र देखाएका कारण आम नेपालीमा भ्रम पर्न गएको बताए । ‘एमसीसी समझौता हुँदा देशका सबै दलका नेता कार्यकर्ताहरुले दीपावली मनाए । अहिले संसद्बाट अनुमोदन गर्ने बेला केही दलले दाहोरो चरित्र देखाएका छन् । यो दोहोरो चरित्र जनताले बुझिसकेका छन्,’ उनले भने ।

प्रकाशित : फाल्गुन ९, २०७८ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?