२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

एग्रिमो कुर्दै भारत र अमेरिकामा प्रस्तावित राजदूत

कान्तिपुर संवाददाता

काठमाडौँ — परराष्ट्र मन्त्रालयले भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतको एग्रिमो (सहमति) का लागि पत्राचार गरेको झन्डै साढे दुई महिना हुँदासमेत जवाफ आउन सकेको छैन । एकैसाथ पत्राचार गरिएकामध्ये बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले भने एग्रिमो आईवरी गत माघ १४ मा नियुक्ति लिइसकेका छन् ।

एग्रिमो कुर्दै भारत र अमेरिकामा प्रस्तावित राजदूत

सरकारले शंकर शर्मालाई भारत, श्रीधर खत्रीलाई अमेरिका र आचार्यलाई बेलायतको राजदूतमा गत कात्तिक ११ मा सिफारिस गरेको थियो । तीनै जनाको संसदीय सुनुवाइ मंसिर २० मा गरेर सिफारिस अनुमोदन गरिएको थियो । परारष्ट्र मन्त्रालयले मंसिर २४ मा सम्बन्धित मुलुकहरूमा एग्रिमोका लागि पत्राचार गरेको थियो । मन्त्रालयले एग्रिमोका लागि पत्राचार गरेको बिहीबार ७० दिन पुगेको छ ।

‘सामान्यतया एग्रिमो आउन करिब ३ महिना लाग्छ,’ परराष्ट्र मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले भनिन्, ‘अझै समय बाँकी छ । निकट भविष्यमा आउन सक्छ ।’ पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई सामान्यतया एग्रिमो एक/डेढ महिनामा आउने गरेको बताउँछन् । ‘यो सामान्यतया ढिलाइ भएकै हो । कुनै विपत् पर्‍यो भने केही समय लाग्न सक्छ,’ उनले भने, ‘एक पटक बंगलादेशमा बाढी आउँदा सहमति आउन समय लागेको थियो ।’ भट्टराईले आफू जापानका लागि राजदूतमा सिफारिस हुँदा ५ दिनमै एग्रिमो आएको बताए । अहिलेको समयमा कुनै मुलुकले राजदूतमा सिफारिस गर्नेबित्तिकै अनौपचारिक रूपमा सम्बन्धित मुलुकले जानकारी लिने हुनाले एग्रिमो आउन धेरै समय नलाग्नुपर्ने उनको भनाइ छ । पूर्वसचिव भट्टराईले २०६३ सालअघि नेपालमा मन्त्रिपरिषद्को निर्णयबाट राजदूतका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकमा एग्रिमोका लागि पठाउने र उताबाट सहमति आएर सरकारले नियुक्ति गरेपछि मात्र अरूलाई थाहा हुने गरेको जानकारी दिए ।

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले दुई महिनाभित्रमै आफ्नो एग्रिमो आएको बताए । उनले भने, ‘म दुई पटक भारतका लागि राजदूत भएँ, दुवै पटक दुई महिनाभित्रमै एग्रिमोको जवाफ आएको थियो ।’ परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार दक्षिण अफ्रिकाका लागि एग्रिमोलाई तीन महिनाभन्दा बढी समय लाग्ने तर अन्य मुलुकमा तीन महिनाभित्रमा आउने गरेको छ । ‘कोभिड–१९ का कारण पनि केही दिन तलमाथि हुन सक्छ,’ उनले भने, ‘सामान्यतया करिअर (परराष्ट्र सेवाबाट सिफारिस) भएकाको छिटो र राजनीतिक सिफारिसमा ढिलो एग्रिमो आउने गर्छ ।’ यसअघि माओवादी केन्द्रका नेताद्वय राम (सुरेन्द्र) कार्कीको भारत र पम्फा भुसाल (हाल ऊर्जामन्त्री) को फ्रान्सबाट एग्रिमो आएको थिएन ।

प्रकाशित : फाल्गुन ६, २०७८ ११:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?