१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६
एमसीसी सकस

गठबन्धनमा खटपट, कांग्रेस नेताहरु ओलीसँग संवादमा

कान्तिपुर संवाददाता

काठमाडौँ — एमसीसी अनुमोदनका लागि सत्ता गठबन्धनबीच निर्णायक वार्ता चलिरहेका बेला सरकारको नेतृत्व लिएको कांग्रेसका नेताहरुले एमालेसँग सघन छलफल चलाएका छन् ।

गठबन्धनमा खटपट, कांग्रेस नेताहरु ओलीसँग संवादमा

माओवादी र एकीकृत समाजवादीले गत शनिबार भएको समझदारी विपरित एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय लिएपछि आक्रोशित बनेका प्रधानमन्त्री शेरबहादुर देउवाले बैकल्पिक गठबन्धन निर्माणका लागि समेत कसरत थालेका हुन् । उनले पार्टीका केही नेताहरुलाई एमाले अध्यक्षसँग छलफल गर्न लगाएका छन् ।

स्रोतका अनुसार कांग्रेस नेता मिनेन्द्र रिजालले बिहीबार बिहानै बालकोट पुगेर ओलीलाई भेटेका थिए भने संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टेलिफोन संवाद गरेका थिए । बेलुका ५ बजे सत्ता गठबन्धनको बैठक भएकाले ओलीले भने ठोस जवाफ कांग्रेस नेताहरुलाई दिईसकेका छैनन् । ‘सत्ता गठबन्धनको बैठकले के निर्णय लिनुहुन्छ, त्यसपछि मात्रै ठोस कुरा गरौला भन्ने जवाफ ओलीजीले दिनु भएको छ, एमालेसँग गठबन्धन हुने कि नहुने भन्ने कुरा बेलुका सत्ता गठबन्धनको बैठकले निर्धारण गर्छ ।’

प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच गत शनिबार एमसीसी टेबुल गर्ने, मतदानमा अनुपस्थित भएर अनुमोदनका लागि सहयोग पुर्‍याउने र प्रधानन्यायायधीश चोलेन्द्र शमसेर राणाबिरुद्ध महाअभियोग दर्ता गर्ने समझदारी बनेको थियो ।

समझदारी अनुसार जबराबिरुद्ध महाअभियोग दर्ता भएपनि माओवादीका कारण बुधबार एमसीसी टेबुल हुन नसकेपछि प्रधानमन्त्री देउवा रुष्ट बनेका छन । देउवाले बैकल्पिक सत्ता गठबन्धनको बाटो समेत लिन सक्ने बुझेरै दाहालले विहान सरकारबाट अलग भएपनि सरकारको समर्थन भने फिर्ता नलिने बताएका थिए ।

३ बजेलाई बोलाईएको सत्ता गठबन्धनको बैठक दुई घण्टा सार्ने प्रस्ताव लिएर बालुवाटार पुगेका दाहाललाई देउवाले एमसीसीको विपक्षीमा मतदान गर्ने हो भने सत्ता गठबन्धन परिवर्तन हुनसक्ने संकेत दिएका थिए । दाहालले भने एमसीसी टेबुल भएपछि सत्ता गठबन्धनबाट अलग हुने, विपक्षमा मतदान गर्ने तर सरकारलाई समर्थन जारी राख्ने बताएको स्रोतले बतायो । तत्काल सत्ताबाट अलग भएपनि स्थानीय तहको निर्वाचनपछि भने पुनः सत्तामा सहभागि हुने दाहालको भनाई रहेको प्रधानमन्त्री निकट एक नेताले बताए ।


प्रकाशित : फाल्गुन ५, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?