२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

कसरी अघि बढ्छ महाअभियोग सम्बन्धी प्रक्रिया ?

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि यो प्रक्रिया अब प्रतिनिधिसभाको नियमावाली अनुसार सुरु हुने छ ।

कसरी अघि बढ्छ महाअभियोग सम्बन्धी प्रक्रिया ?

प्रतिनिधिसभाको नियमावाली १६१मा संवैधानिक अंगका प्रमुख वा सदस्य विरुद्धको महाभियोग प्रस्ताव सम्बन्धि व्यवस्था छ । संविधानको धारा १०१ को उपधारा (२) बमोजिमका पदाधिकारीका विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्नु परेको आधार र कारण खुलाई त्यस्तो प्रस्ताव पेश गर्ने सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनुपर्नेछ ।

प्रस्ताव दर्ता भएको मितिले सात दिनपछिको कुनै बैठकमा छलफल हुने गरी सभामुखले दिन र समय तोक्ने व्यवस्था छ ।

उक्त प्रस्ताव अधिवेशन प्रारम्भ भएको तीन दिनभित्रको कुनै बैठकमा महाभियोगको प्रस्ताव उपर छलफल हुने गरी दिन र समय तोकिनेछ ।

तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछ र निजले चाहेमा प्रस्ताव पेश गर्नु अधि वक्तव्य दिन सक्ने नियमावलीमा उल्लेख छ ।

प्रस्ताव पेश भएपछि सभामुखले सो प्रस्तावमा छलफल हुने समयावधि निर्धारण गर्नेछन् र सो छलफल समाप्त भएपछि सभामुखले त्यस्तो प्रस्तावलाई नियम बमोजिमको महाभियोग सिफारिस समितिमा पठाउनेछन् ।

महाभियोगबाट पदमुक्त हुने व्यक्तिले संविधानको गम्भीर उल्लङ्घन गरेको वा कार्यक्षमताको अभाव वा खराब आचरण वा पदीय दायित्वको पालन इमानदारीपूर्वक नगरेको वा आचार संहिताको गम्भीर उल्लङ्घन गरेको भन्ने आधारमा प्राप्त सूचना, जानकारी वा उजुरी ग्राहय रहेको भनी कम्तीमा तीन जना सदस्यले प्रमाणित गरी पेश गरेमा नियम १६२ बमोजिमको समितिले त्यस्तो उजुरीमाथि छानबिन गरी महाभियोग सम्बन्धी कारबाहीका लागि सभा समक्ष सिफारिस गरेमा महाभियोगको प्रस्ताव पेश गर्नेछ ।

उक्त समितिले प्रारम्भिक अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिलाई महाभियोग लाग्न सक्ने मनासिव र पर्याप्त आधार देखिएमा महाभियोगको सिफारिस पेस गर्ने नियमावालीमा छ । यसरी पेश भएको सिफारिस बैठकमा निर्णयार्थ पेश गर्दा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य स‌ंख्या एक चौथाई सदस्यले समर्थन गरेमा महाभियोगको कारबाहीको प्रकृया प्रारम्भ हुन्छ ।

महाभियोग सिफारिस समितिमा ११ जना रहने छन् । समितिले महाभियोग सिफारिस गठन सम्बन्धी प्रस्ताव कार्यव्यवस्था परामर्श समितिको परामर्श बैठकमा गर्नेछ ।महाभियोग सिफारिस समितिले आफूमध्येबाट समितिको सभापति चयन गर्ने छन् ।

सफारिस समितिले नियम बमोजिम महाभियोगको प्रस्ताव प्राप्त भएपछि महाभियोग यथाशीघ्र कारबाही प्रारम्भ गर्नेछ । कारबाही प्रारम्भ भएपछि आरोपित प्रधानन्यायाधीश जबरालाई ७ दिनभित्र उनीमाथि लागेको आरोपको सफाई पेश गर्ने समय दिइनेछ ।

समितिले प्राप्त गरेको सफाई सन्तोषजनक नभएमा सिफारिस सहितको प्रतिवेदन सदन समक्ष गर्नेछ । उक्त प्रतिवेदनमाथि बैठकमा छलफल दिनको कम्तीमा दुई दिन अगावै प्रतिवेदन सदस्यहरुलाई उपलब्ध हुन्छ । त्यसपछि संसद्‌मा प्रतिवेदनमाथि विचार गरियोस् भनी बैठकमा प्रस्ताव पेश हुन्छ । प्रस्ताव पेश भएपछि सो प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ ।

छलफल हुँदा कुनै सदस्यले सो प्रतिवेदनमा संशोधन पेश गर्न वा कुनै विशेष कुराको सम्बन्धमा पुनः छानबिन गर्न प्रतिवेदनलाई महाभियोग सिफारिस समितिमा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव पेश गर्न सक्छ । महाभियोग सिफारिस समितिमा फिर्ता पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएमा सो प्रतिवेदन उक्त समितिमा पठाइनेछ र समितिले पनि सात दिनभित्र पुनः छानबिन गरी आफ्नो प्रतिवेदन बैठकमा पठाउनेछ ।

संक्षिप्त छलफल भएपछि सभामुखले सबै संशोधन निर्णयार्थ बैठकमा पेश गर्नेछन् र त्यसपछि प्रतिवेदनमा उल्लिखित सिफारिसलाई निर्णयार्थ बैठकमा प्रस्तुत हुन्छ । महाभियोगको प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुन्छ ।

कुनै पदाधिकारीको विरुद्धमा यस परिच्छेद बमोजिम प्रस्तुत प्रस्तावमा छानबिन गरी महाभियोग प्रमाणित हुन्छ भन्ने ठहरका साथ महाभियोग सिफारिस समितिले पेश गरेको प्रतिवेदन प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाई बहुमतबाट पारित भएमा सम्बन्धित पदाधिकारी पदमुक्त हुने व्यवस्था छ ।

महाभियोगको प्रस्ताव पारित भई पदमुक्त भएमा प्रधानन्यायाधीशले पदमा रहँदा कुनै कसूर गरेको भए त्यस्तो कसूरमा संघीय कानून बमोजिम कारबाही गर्न बाधा नपर्ने व्यवस्था छ ।

महाभियोगको प्रस्ताव पारित भई पदमुक्त भएको व्यक्तिले त्यस्तो पदबाट पाउने कुनै सुविधा लिन र भविष्यमा कुनै पनि सार्वजनिक पदमा नियुक्ति वा मनोनयन हुन समेत पाउँदैनन् ।

प्रकाशित : फाल्गुन १, २०७८ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?