अन्तर्वार्ता

'छापामार शैलीमा महाअभियोग आउनु गम्भीर विषय हो'

संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षलाई राज्यको अभिन्‍न अंग मानिन्छ । गभर्मेन्ट इन वेटिङ मानिन्छ । सत्ता पक्षको यो कार्य संसदीय प्रणालीविपरीत छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग दर्ता भएको छ । तर, यो विषयमा प्रमुख प्रतिपक्षी दल एमाले बेखबर छ । महाअभियोग पास गर्नका लागि दुई तिहाई मत आवश्यक पर्छ । प्रतिपक्षी दलको समर्थन नहुँदासम्म महाअभियोग पास गर्न आवश्यक दुईतिहाई पुग्दैन ।

'छापामार शैलीमा महाअभियोग आउनु गम्भीर विषय हो'

यो स्पष्ट हुँदाहुँदै पनि सत्तागठबन्धनले महाअभियोग प्रस्ताव ल्यायो । यस घटनाबारे एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङसँग इकान्तिपुरले गरेको स‌ंक्षिप्त कुराकानी :

सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको छ, यो घटनालाई प्रमुख प्रतिपक्षी दल एमालेले कसरी लिएको छ ?

सत्ता पक्षलाई, संसद् र सिंगो देशलाई जानकारी गराएर हामी भर्खरै घोषणा भएको स्थानीय तहको तयारीको सिलसिलामा सातै प्रदेशमा आज र भोलि जम्मा भइरहेका थियौं । यो अवस्थामा अचानक हामीलाई सुइँकोसमेत नदिई छापामार शैलीमा महाअभियोगको यति गम्भीर विषय हाम्रो आगाडि आएको छ । भर्खरै दबाब दिएपछि सरकारले निर्वाचन घोषणा गरेको छ । सर्वोच्च अदालतमा थुप्रै गम्भीर प्रकृतिका मुद्दाहरू विचराधीन छन् । यस्तो अवस्थामा यस्तो अवस्थामा जुन काम भएको छ, यो आश्चर्यजनक छ । यसलाई हामीले साह्रै गम्भीरतापूर्वक लिएका छौं । यो विषयमा हामी तुरुन्तै छलफल गरेर आफ्नो कुरा भन्छौं ।

संसदीय प्रक्रियामा पनि यो प्रमुख प्रतिपक्षको साथ नलिइकन आएको हो ?
संसदीय प्रणालीमा प्रमुख प्रतिपक्षलाई राज्यको अभिन्‍न अंग मानिन्छ । गभर्मेन्ट इन वेटिङ मानिन्छ । सत्ता पक्षको यो कार्य संसदीय प्रणालीविपरीत छ ।

यो प्रकरणलाई एमालेले कसरी लिन्छ ?
हामीले गम्भीरतापूर्वक लिएका छौं । हामी छलफल गर्छौं र अनि टुंगोमा पुग्छौं ।

प्रधानन्यायाधीशविरूद्ध बारले पनि आन्दोलन गर्दै आएको थियो । त्यो आन्दोलनको कारण यो अभियोग ल्याइयो कि अन्य कुनै प्रयोजनका लागि ल्याइयो ?
अहिले न्यायापालिकामा जे-जस्ता बेथितीहरू, गम्भीर स्थिति र विचलनहरू देखिएका छन्; त्यो साँच्चकै गम्भीर छ । त्यसलाई जिम्मेवार दलहरुले गम्भीरतापूर्वक रुपमा लिएर एउटा टुंगोमा पुग्नुपर्ने अवस्था हो । अहिले सत्ता पक्षले जुन ढ‌ंगले गैरजिम्मेवारपूर्ण तरिकाले प्रस्तुत हुने काम गरिरहेको छ । त्यसले यो स्थितिलाई झन् बिगार्छ भन्ने लाग्छ । कुरा त्यो हो ।

यो एमालले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता दिनुभयो । आज त्यही मुद्दामा पेसी थियो । त्यही त्यसलाई प्रभावित गर्न दर्ता भएको भन्ने पनि छ नि ?

पेसी एक नम्बरमा छ । आज बल्लबल्ल पालो आउने ठाउँमा छ । त्यस्ता अन्य थुप्रै मुद्दा छन् । कुनै आरोप होइन तर त्यस्ता केसहरू छन् । स्थाानीय तहको निर्वाचन रोक्नेसम्बन्धी मुद्दाहरू छन् । भ्रष्टाचारसम्बन्धीका मुद्दा छन् । एउटा नेपालीमा उखान छ नि- 'पारि चितुवा करायो वारि खोरमा रहेको सिँगारी खसी हराएछ । पक्कै त्यो चितुवाले पो खसी बोकेको छ कि भन्ने गाउँघरमा एउटा उखान छ ।' त्यस कारण मैले आरोप लगाएको होइन । यी सबै प्रसंग भएको बेला न्यायपालिकाको प्रमुखमाथि महाअभियोग अचानक कुनै छलफल बेगर आउँदा त के हो, के हो नि ! मेरो कुनै आरोप होइन तर पारि चितुवा कराउनु र वारि सिँगारी खसी हराएको जस्तो भएको छ ।

यसमा एमालले संसदीय दलको बैठक बोलाएर अघि बढ्छ कि कसरी अघि बढ्छ ?

हामीले सबै संसदीय दलका नेता तथा सांसदहरूलाई आज बेलुकासम्म आउनू; भोली संसदीय दलको बैठक बस्छ भनेका छौं ।

प्रकाशित : फाल्गुन १, २०७८ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?