राष्ट्रपति भण्डारी र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता- समाचार - कान्तिपुर समाचार

राष्ट्रपति भण्डारी र कांग्रेस नेता कोइरालाबीच भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस नेता शेखर कोइरालाबीच आइतबार भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न कोइराला राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।

नेता कोइरालाले राष्ट्रपति भण्डारीसँग समसामयिक राजनीतिक विषयहरूमा कुराकानी भएको बताए । ‘मुलुकको राजनीति गम्भीर अवस्थामा छ । संविधानका कतिपय व्यवस्थाहरूको कार्यान्वयन चुनौतीपूर्ण छ । संघीयताको दिगो व्यवस्थापन, प्रदेशहरूको विकास र तीन तहको निर्वाचनलगत्तै सम्पन्न गर्नुपर्ने अवस्था छ,’ नेता कोइरालाले भने, ‘वास्तवमा अहिलेको समस्याहरूमा राजनीतिक दलहरू गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ । राष्ट्रपतिज्यूसँग यिनै विषयहरूमा कुराकानी भयो ।’

राष्ट्रपति भण्डारीले दलहरूले आपसी सद्भाव र सहकार्यको माध्यमबाट समस्याहरूको समाधान गर्दै संविधानको कार्यान्वयन गर्ने दिशामा अघि बढ्नुपर्ने बताएकी छन् ।

प्रकाशित : फाल्गुन १, २०७८ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्

हुम्लीलाई सधैं चामलको दुःख

स्थानीय भन्छन्- ‘ठेकेदारले चाहिएका बेला कहिल्यै चामल ढुवानी गर्दैनन्, उनीहरुको मनपरीले हरेक वर्ष कुहिएको चामल खानुपर्छ’
कृष्णप्रसाद गौतम

सुर्खेत — घरमा चामल नभएपछि सिमकोट–६ का कलबहादुर रोकाया शुक्रबार सिमकोटस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पुगे । तर चामल पाइएन । बजारबाट २ सय ५० रुपैयाँ प्रतिकिलो चामल किनेर उनी फर्किए । ढुवानी प्रक्रियामा अनियमितता भएको भन्दै मुद्दा परेपछि झन्डै अढाई महिना हुम्लामा कम्पनीले चामल बिक्री नै गरेन ।

मंसिर अन्तिम साताबाट सुरु गरिएको चामल बिक्री फेरि रोकिएको छ । अहिले कम्पनीको सिमकोटस्थित गोदाममा ६ सय क्विन्टल चामल मात्र मौज्दात छ । कम्पनीले नियमित चामल बिक्री गर्न गोदाममा कम्तीमा २२ सय क्विन्टल चामल आवश्यक पर्छ । ‘चाहिएको बेला कहिल्यै चामल पाइँदैन,’ रोकायाले भने, ‘चामलकै लागि अझै कति दुःख पाउनुपर्ने हो ?’

ढुवानीको जिम्मा लिएको श्रीर्मिका कार्गोले सिमकोटमा चामल ढुवानी गर्न सीता एयरलाइन्सलाई जिम्मा दिएको छ । सीताले दैनिक १० फ्लाइट गर्ने भन्दै चामल ढुवानीको जिम्मा लिएको थियो । तर कहिले मौसम त कहिले प्राविधिक समस्या देखाउँदै ढुवानीमा आलटाल गरिरहेको छ । एक फ्लाइटमा १४ क्विन्टल चामल ढुवानी हुन्छ । चामल ढुवानीकै लागि नेपालगन्जमा २ जहाज राखिए पनि यात्रुलाई मात्र प्राथमिकता दिँदा चामल ढुवानीमा समस्या भएको हो ।

यो वर्ष सिमकोटका लागि १० हजार क्विन्टल चामलको कोटा तोकिएको छ । त्यसमध्ये नेपालगन्जबाट ४ हजार र सुर्खेतबाट ६ हजार क्विन्टल चामल ढुवानी गर्न खाद्यले टेन्डर गरेको थियो । नेपालगन्जदेखि सिमकोटसम्म भ्याटबाहेक प्रतिकिलो १ सय १२ र सुर्खेतबाट १ सय ५ रुपैयाँमा ढुवानी गर्न कम्पनीले कार्गोलाई जिम्मा दिएको छ । १० हजार क्विन्टल ढुवानी गर्न भाडाबापत सरकारको १० करोड ७८ लाख (भ्याटबाहेक) खर्च हुन्छ । तर अहिलेसम्म नेपालगन्जबाट १२ सय र सुर्खेतबाट ११ सय क्विन्टल गरी २३ सय क्विन्टल चामल मात्र सिमकोट पुर्‍याइएको छ । ‘एक त ठेक्का प्रक्रिया नै ढिलो गरी भयो, त्यसमा मुद्दा पर्दा अढाई महिना चामल नै आएन,’ कम्पनीको सिमकोटस्थित शाखा कार्यालय प्रमुख कृष्णप्रसाद अधिकारीले भने, ‘केही दिन ढुवानीलाई तीव्रता दिइएको थियो, तर फेरि ढिलाइ भइरहेको छ ।’

गत आर्थिक वर्षबाट सरेर आएको ३६ सय क्विन्टल चामल पनि सिमकोट गोदाममा थियो । पोहर र यस वर्ष ढुवानी गरिएको झन्डै ५ हजार ३ सय क्विन्टल चामल यसपालि वितरण गरिएको प्रमुख अधिकारीले बताए । उनका अनुसार पुस ३० देखि माघ २६ सम्म खाद्यले चामल बिक्री गरेको थियो । चामल वितरण रोकिएपछि कर्मचारी पनि जिल्लाबाहिर गएका छन् । सिमकोटमै खाद्यको चामल किन्न स्थानीयले नागरिकता नम्बर टिपाउनुपर्छ । तर पनि चाहेजति चामल किन्न पाउँदैनन् । वडाअनुसार मासिक कोटा तोकिएको छ । स्थानीयले परिवार संख्याको आधारमा महिनामा ४ किलोदेखि ७ किलोसम्म मात्र चामल खरिद गर्न पाउँछन् । ‘अभिलेख व्यवस्थापन गर्न नागरिकता नम्बर नोट गर्ने गरेका हौं,’ प्रमुख अधिकारीले भने, ‘मौज्दात पर्याप्त भएपछि फेरि चामल वितरणको काम हुनेछ ।’

सरकारले ढुवानी अनुदानको व्यवस्था गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा मोटो चामलको मूल्य ५८ र बासमती १ सय १५ रुपैयाँ प्रतिकिलो पर्छ । तर सिमकोट डिपोमा समेत चामलको अभाव हुँदा बजारको चामलको भर पर्नुपरेको स्थाानीय छिरिङदोजाम लामाले बताए । ‘गाउँमा मोटो चामल पनि किलोको ३ सय रुपैयाँ घटीमा पाइँदैन,’ उनले भने, ‘अचाक्ली महँगीले परिवार पाल्नै मुस्किल भइसक्यो ।’ सीमित संख्याका सम्पन्न परिवारबाहेक अधिकांश हुम्लीले ऋण सापटी गरेरै जीविकोपार्जन गर्ने गरेको उनले बताए । प्रदेश राजधानी सुर्खेतमा प्रतिकिलो ७५ देखि ८० रुपैयाँसम्म पर्ने चामल हुम्ला सदरमुकाम सिमकोटमा १ सय ८० देखि २ सय ५० रुपैयाँमा पर्छ । प्रतिकिलो १ सय २५ रुपैयाँसम्म ढुवानी भाडा पर्ने गरेकाले चामल महँगो भएको हो ।

कम्पनीको सिमकोट गोदाममा चामलको अभाव भएपछि प्रदेश सरकारले विशेष अवस्थाका लागि भन्दै २ सय क्विन्टल चामल हुम्ला पठाइरहेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाले प्रदेश सरकारको ढुवानी अनुदानमा चामल पठाइरहेको बताए । उनका अनुसार तारा एयरले १ सय र समिट एयरले १ सय क्विन्टल चामल ढुवानीको जिम्मा लिएका छन् । त्यसमध्ये समिटले ६४ र सीताले ५४ क्विन्टल चामल मात्र सिमकोट पुर्‍याएका छन् । प्रदेश सरकारले ढुवानी अनुदान बेहोरेको चामल नाम्खा गाउँपालिकामा पठाउने तयारी गरिएको कम्पनीका शाखा प्रमुख अधिकारीले बताए । ‘सिमकोटमा छिटो चामल ढुवानी गर्न ताकेता भइरहेको छ,’ उनले भने, ‘यहाँ खासै समस्या नभए पनि नाम्खामा समस्या हुन सक्ने भएपछि प्रदेश सरकारले पठाएको चामल त्यहाँ पठाउन लागिएको हो ।’

अहिले नाम्खाका अधिकांश गाउँ बाक्लो हिमपातका कारण ‘प्राकृतिक सिलबन्दी’ छन् । झन्डै ५ फिटसम्म हिउँ जमेको नाम्खाको लिमी गाउँ सम्पर्कविहीन छ । लिमीका बासिन्दाका लागि हिउँ पर्नुअघि नै नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी मंसिर अन्तिम साता ३५ क्विन्टल चामल पठाइएको थियो । नाम्खामा खाद्यान्न समस्या बढी हुन्छ । वर्षमा एक बाली मात्र फल्ने यहाँ यो वर्ष धेरै हिउँ परेपछि स्थानीयले लगाएको बाली भित्र्याउन पाएनन् भने नयाँ बाली पनि छर्न सकेका छैनन् । २०६२ सालदेखि हुम्लामा कम्पनीले चिनियाँ नाका हुँदै हिल्सा भएर खाद्यान्न पठाउथ्यो । तर कोरोना महामारीका कारण चीनले नाका बन्द गरेपछि ३ वर्षयता नाम्खाको यलबाङमा नियमित चामल जान सकेको छैन । सरकारले विशेष अवस्थाका लागि भन्दै गत वर्ष झन्डै २ सय क्विन्टल चामल पठाएको थियो । स्थानीयले त्यही चामल अड्कलेर उपभोग गरिरहेका छन् । ‘हामीलाई चामल चाहिने भनेकै बर्खा र हिमपात सुरु हुनुअघि हो,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘तर त्यो बेला कहिल्यै चामल हुँदैन, चैतदेखि जेठसम्म ३ महिना हाम्रै उत्पादनले पनि खान पुग्छ ।’ उनका अनुसार ५ वर्षयता दसैं–तिहारमा पनि लिमीवासीले चामल पाएका छैनन् ।

याल्बाङ डिपोका लागि यो वर्ष १ हजार क्विन्टल चामलको कोटा तोकिएको छ । तर उक्त चामल चीन सीमा भएर आउनुपर्ने हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताए । ‘नियमित चामल त चाइनाबाटै आउने होला,’ उनले भने, ‘थप कोटा आए मात्र सिमकोटबाट त्यहाँ चामल पठाउन सकिने अवस्था छ ।’ कठिन भूगोल र अन्न उत्पादन न्यून हुने भएकाले हुम्लाका अधिकांश बासिन्दाले उत्पादन गरेको अन्नले वर्षभरि पुग्दैन । जसका कारण स्थानीय खाद्य र बजारकै चामलको भरमा छन् । त्यसमा पनि ढुवानीको ठेक्का लिएका ठेकेदारले मनपरी गर्दा विपन्न नागरिक मर्कामा परेका हुन् । ‘चामलका लागि ठेकेदारको बाटो कुर्नुपर्छ,’ खार्पुनाथका प्रेम शाहीले भने, ‘ठेकेदारले चामल ल्याएको बेला पैसा भए मात्र चामल पाइन्छ, नभए बजारकै भर हो ।’ उनका अनुसार खाद्यमा ५८ रुपैयाँ प्रतिकिलो पाइने मोटो चामलको मूल्य ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँसम्ममा किन्नुपर्ने बाध्यता छ ।

सिमकोटमा जहाजमा चामल आउँछ भने अन्य डिपो र बिक्री केन्द्रमा ठेकेदारले सतही मार्गबाट पुर्‍याउँछन् । तर ठेकेदारले ढिलो गरी चामल पुर्‍याउँदा स्थानीय सधैं समस्यामा पर्छन् । यो वर्ष सर्केगाडमा २ हजार क्विन्टल चामलको कोटा तोकिएकामा ५ सय क्विन्टल मात्र गएको छ भने श्रीनगरमा २ हजारमध्ये १ हजार र खार्पुनाथमा १ हजारमध्ये १ सय ५ क्विन्टल मात्र चामल गएको छ । देउलीमा ५ सय क्विन्टल चामल जानुपर्नेमा एक किलो पनि गएको छैन ।

कम्पनीले सर्केगाड र देउलीमा एउटै ठेकेदार पूर्ण रावललाई ठेक्का दिएको छ । तर उनले देउलीमा चामल नपठाएपछि स्थानीय खाद्यान्न अभाव भोग्न बाध्य छन् । गत वर्ष हुम्लाको सर्केगाड–१ बालकुना बिक्री केन्द्रमा कुहिएको चामल भेटिएको थियो । मुगुको सोरुकोट हुँदै हिमाल निर्माण सेवाले पुर्‍याएको चामल कुहिएको थियो तर ठेकेदार बिर्ख टमाटाले त्यही चामल २ दिनमै बिक्री गरी फर्किएका थिए । खाद्य कम्पनीले पछि सेवालाई ३८ हजार रुपैयाँ जरिवाना गराएको थियो । ‘ठेकेदारले चाहिएका बेला कहिल्यै चामल ढुवानी गर्दैनन्,’ सर्केगाड–१ का वीरबहादुर कार्कीले भने, ‘ठेकेदारको मनपरीले हरेक वर्ष कुहिएको चामल खानुपर्ने बाध्यता छ ।’ ठेकेदारले पहुँच भएका व्यक्तिलाई मात्र चामल बिक्री गर्दा विपन्न नागरिक मर्कामा परेको उनले गुनासो गरे ।

ठेकेदार कम्पनीलाई समयमै खाद्यान्न ढुवानी गर्नर् ताकेता गरिरहेको कम्पनीका शाखा प्रमुख अधिकारीले बताए । ‘ठेकेदारले विभिन्न बहाना बनाउँछन्,’ उनले भने, ‘स्थानीय तहका जनप्रतिनिधि र प्रहरीको रोहवरमा गाउँमा खाद्यान्न वितरण गर्न भनिए पनि केहीले आफूखुसी वितरण गर्दा समस्या भएको छ ।’

प्रकाशित : फाल्गुन १, २०७८ १२:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×