३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

महामारीको असर : अपांगता भएकाहरूमा रोजगारी गुम्ने डर

राष्ट्रिय अपांग महासंघ नेपालले करिब दुई वर्षअघि गरेको देशव्यापी एक सर्वेक्षण (सन् २०२० अप्रिल १२ देखि २२ सम्म) मा लकडाउनकै कारणले अपांगता भएका ४०.०८ प्रतिशतले आफ्नो आयस्रोत गुमाएको र १९.८९ प्रतिशतले रोजगारी गुमाउने स्थितिमा रहेको देखाएको थियो ।
विद्या राई

काठमाडौँ — काभ्रेपलाञ्चोक पाँचखालका ३२ वर्षीय दिर्घबहादुर खड्का तीन वर्षयता दोहोरी साँझमा काम गर्छन् । उनी पूर्ण दृष्टिविहीन हुन् । दोहोरीमा इलेक्ट्रोनिक ड्रम बजाएर पाएको पारिश्रमिक र ग्राहकहरूले दिएको टिप्सले काठमाडौंमा उनको गुजारा चल्थ्यो ।

महामारीको असर : अपांगता भएकाहरूमा रोजगारी गुम्ने डर

कोरोना महामारीले गर्दा दोहोरी नियमित चल्न नसकेपछि उनमा रोजगारी गुम्ने डर बढेको छ । ‘पहिलो र दोस्रो लहरमा पनि क्रमश: ६/७महिनासम्म दोहोरी बन्द भयो, कति दिन आधा पेटै बस्नुपर्‍यो, फेरि तेस्रो लहरको मारमा परियो’ उनले सुनाए ।

गत मंसिरदेखि कुपन्डोलको ‘एएफडी डाइनिङ इन द डार्क’ रेष्टुरेन्टमा वेटरको काम पनि थालेका थिए उनले । त्यहाँ उनीसँगै पाँच जना दृष्टि सम्बन्धी अपांगता भएका व्यक्ति वेटर थिए । तेस्रो लहरको संक्रमण फैलिएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले माघ ४ राति १२ बजेदेखि लागु हुने गरी सिनेमा, नाचघर, दोहोरी लगायत भीडभाड हुने स्थलहरू अर्को सूचना नभएसम्मका लागि बन्द गर्न आदेश जारी गर्‍यो । त्यसपछि उनी काम गर्दै आएको दोहोरी र रेष्टुरेन्ट दुवै बन्द भए । यसले दैनिक जीवन निर्वाहमा झन् चुनौती थपिँदै गएको बताउँछन् ।

पहिलो र दोस्रो लहरमा पूर्ण लकडाउन थियो, संघसंस्थाले दालचामल सहयोग गरेका थिए । यस पटक पनि आंशिक लकडाउन भयो, खर्च सकिएपछि भोकै हुनुपर्ने अवस्था आएको उनी बताउँछन् ।

उनी दोहोरीमा बाजा बजाउने बाहेक अन्य काममा खासै पोख्त छैनन् । वेटरको काम भर्खर सिक्न थालेका थिए, तीन महिना नहुँदै बन्द भयो । ‘सबै क्षेत्रको काममा स्टाफ कटौती गर्न थालेका छन्, आफूलाई नै हटाउला कि भन्ने डर, रोजगारी गुमाउनुपर्ने डर हुन्छ,’ उनले भने ।

उनी दोहोरीमै काम गर्ने एक साथीसित कालोपुलमा भाडाको कोठामा बस्दैआएका छन् । उनी बस्ने घरमा दोहोरी र मसाज सेन्टरहरूमा काम गर्ने सात परिवार बस्छन् । कालोपुल क्षेत्रमा दोहोरीमा काम गर्ने दृष्टि सम्बन्धी अपांगता भएका १५ परिवार बस्छन् । उनीहरू चाबहिल, गौशाला, कोटेश्वर, न्यूरोडतिरका दोहोरीमा काम गर्छन् । कसैले मादल बजाउने, कसैले बाँसुरी बजाउने, इलेक्ट्रोनिक डम बजाउने गर्छन् । प्राय: दृष्टि विहीनहरूले बाजा नै बजाउने गर्छन् । उनीहरू सबैलाई दिर्घबहादुरको जस्तै चिन्ता छ ।

मसाजको काम गर्ने धादिङकी ३० वर्षीया सुनिता चापागाईँ भन्छिन्, ‘मेरो कामको त विकल्प पनि छैन, अनलाइनबाट मसाज गराउन मिल्दैन, पाए त रिसेप्सनमा बस्न सक्थें, पढाउने काम पनि गर्न सक्थें, पाइँदैन ।’ स्नातक गरेकी उनी चार वर्षदेखि ठमेलको एक मसाज सेन्टरमा काम गर्थिन् । पारिश्रमिक र ग्राहकहरूको टिप्स गरेर महिनामा उनको २५ हजारजति कमाइ हुन्थ्यो । कोठा भाडा, खाना-खाजा, गोजी खर्च पुर्‍याएर कहिलेकाहीँ घरमा पनि आमालाई पैसा पठाउँथिन् । ‘मान्छेहरूसँग प्रत्यक्ष नजिक हुनुपर्ने भएकोले पनि मसाज सेन्टर नखुलेको हो, अस्ति एक महिना पालो गरिगरि बोलाएको थियो, फेरि बन्द भयो’ उनले भनिन् ।

पछिल्लो लहरपछि भने उनले शिक्षक सेवाको तयारी पनि गर्न थालेकी छन् । पढ्नको लागि पनि खर्च नै चाहिने भएकाले नियमित गर्न नसकिने हो कि भन्ने डर छ । ‘कहिलेसम्म ऋणपान र सरसापटले चल्ने !, शिक्षक सेवा तिर पनि पास भइन्छ भन्ने पक्का छैन, महामारी रहिरहृयो, कामै सुरु भएन भने के गर्ने भन्ने चिन्ता छ,’ उनले बताइन् ।

दिर्घबहादुर र सुनिता प्रतिनिधि मात्रै हुन् । राष्ट्रिय अपांग महासंघ नेपालले करिब दुई वर्षअघि गरेको देशव्यापी एक सर्भेक्षण (सन् २०२० अप्रिल १२ देखि २२ सम्म) मा लकडाउनकै कारणले ४०.०८ प्रतिशत अपांगता भएका व्यक्तिहरूले आफ्नो आयस्रोत गुमाइसकेका र १९.८९ प्रतिशतले चाँडै नै रोजगारी गुमाउने स्थितिमा रहेको देखाइएको थियो ।

महासंघका कार्यक्रम व्यवस्थापक मनिष प्रसाईंका अनुसार त्यतिबेला बेरोजगार बनेका ४०.०८ प्रतिशत पुनः फर्किने गरी रोजगारीबाट निकालिएका होइनन् । ‘हामीले फलोअप सर्भेक्षण त गरेका छैनौं, तर त्यतिबेला जतिले काम गुमाएका थिए, सधैँका लागि रोजगारी गुमाएका थिए, महामारीले समग्र अर्थतन्त्रमा असर पारेको अवस्थामा रोजगारीमा पुनः फर्किनेको संख्या एकदमै थोरै छ, धेरैले गुमाउने क्रम जारी नै छ,’ उनले भने ।

अपांगता भएका व्यक्तिहरूलाई सामान्य मानिसको तुलनामा विविध कारणले रोजगारीका क्षेत्रहरू सिमित हुन्छन् । निकै संघर्ष गरेर काम पाएका हुन्छन् । त्यसैले उक्त रोजगारी गुमेको खण्डमा अर्कोमा जान सजिलो नहुने अपांगता भएकाहरूको अनुभव छ ।

सामान्य मानिसभन्दा कमजोर आर्थिक र सामाजिक अवस्था हुने भएकाले पनि महामारीले उनीहरूमा पारेको प्रभावलाई सरकारले विशेष सम्बोधन गर्नुपर्ने अपांग महासंघका कार्यक्रम व्यवस्थापक प्रसाईँ बताउँछन् । ‘कोभिडबाट परेको अर्थतन्त्र के गर्ने भन्नेमा सरकारले योजना बनाएजस्तो त लाग्दैन, यदि बन्यो भने सरकारले ती दूरगामी योजनामा अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा पार्नुपर्छ,’ उनले भने, ‘जुन पेशा गुमाएको हो, त्यसैमा फर्काउने हुनुपर्छ, त्यो नभए वैकल्पिक आयआर्जनमा लगाउने, सिमित अवधिका लागि भत्ता दिनुपर्छ ।’

राष्ट्रिय योजना आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार महामारीले अर्थतन्त्रमा पारेको प्रभावलाई फर्काउने खालका योजना आयोगमा तत्काल बनेका छैनन् । उनी भन्छन्, ‘सबै क्षेत्रगत मन्त्रालयहरूले हेर्ने हो, अबको बजेट, योजना मार्गनिर्देशन दिँदा कोरोना प्रभावित वर्गहरू लक्षित योजना बनाउनू भन्ने मार्गनिर्देशन दिने छलफल भइरहेको छ, टुंगो भइसकेको छैन ।’


प्रकाशित : माघ २६, २०७८ १५:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?