२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

अमेरिकालाई गौतमको आग्रह- 'एमसीसीले विभाजन सिर्जना गर्‍यो, फिर्ता लैजानू'

काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले एमसीसीका कारण नेपालमा जनमतको विभाजन हुने र यसले अहित गर्ने भन्दै आपत्ति जनाएका छन् । एमसीसी सम्झौतापछि नेपाली जनताले अमेरिकाप्रति गम्भीर आशंका व्यक्त गरेको उनको भनाइ छ ।

अमेरिकालाई गौतमको आग्रह- 'एमसीसीले विभाजन सिर्जना गर्‍यो, फिर्ता लैजानू'

जसले गर्दा नेपालको छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने आशंका उत्पन्न भएको नेता गौतमले बताएका छन् । एमसीसी अनुमोदनलाई लिएर राजनीतिक दलहरूबीच संवाद भइरहँदा गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै एमसीसीबारे टिप्पणी गरेका हुन् । नेकपा एमालेका पूर्वउपाध्यक्ष समेत रहेका गौतमले नेकपा एकता राष्ट्रिय अभियानको संयोजकको हैसियतमा उक्त विज्ञप्ति जारी गरेका हुन् ।

तत्कालीन नेकपा विघटनपछि उनले आफैं संयोजक रहेर 'नेकता एकता राष्ट्रिय अभियान' गठन गरेका थिए । गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'सम्झौताले गर्दा अमेरिकाप्रति नेपाली जनताले गम्भीर आशंका व्यक्त गरेका छन् । यसको कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आंच पुग्ने शंका गर्न थालिएको छ । उपरोक्त अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हितभन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ ।'

यस्तै उनले अमेरिकालाई एमसीसी परियोजना फिर्ता लैजान पनि आग्रह गरेका छन् । 'यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिक सरकार समक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु । यो अवस्थालाई मध्यनजर गर्दै एक पक्षीय रूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु,' विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : माघ २५, २०७८ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?