८५ दिनदेखि इजलासबाहिर प्रधानन्यायाधीश- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८५ दिनदेखि इजलासबाहिर प्रधानन्यायाधीश

प्रधानन्यायाधीशले गर्नुपर्ने आधारभूत काम दुईवटा हुन्छन्– न्याय निरुपण गर्ने र न्याय प्रशासन चलाउने । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले करिब तीन महिनादेखि यी दुवै काम गर्न सकेका छैनन्, तर पदमा आसिन छन् ।
तुफान न्यौपाने

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गत कात्तिक २९ मा आफ्नो एकल इजलासबाट चारवटा मुद्दामा प्रारम्भिक आदेश गरेयता बेन्चमा बसेका छैनन् । प्रधानन्यायाधीश जबरा निरन्तर रूपमा इजलासमा नबसेको आज (मंगलबार) ८५ औं दिन पुग्दै छ । त्यस्तै प्रधानन्यायाधीशकै नेतृत्वमा बस्नुपर्ने संवैधानिक इजलास चाढे चार महिनादेखि बसेको छैन ।

गम्भीर संवैधानिक व्याख्याको प्रश्न रहेका विवाद यो इजलासमा मात्रै सुनुवाइ हुने संवैधानिक व्यवस्था छ । पद नछाड्ने प्रधानन्यायाधीशको हठ र उनीसँग इजलासमा नबस्ने अन्य न्यायाधीशको अडानका कारण संवैधानिक इजलास निष्क्रिय बन्न पुगेको हो ।

प्रधानन्यायाधीशकै अध्यक्षतामा हुने न्याय परिषद् र न्याय सेवा आयोगका बैठक पनि बस्न सकेका छैनन् । प्रधानन्यायाधीश जबराले आइतबारका लागि डाकेको न्याय सेवा आयोगको बैठक अन्य सदस्यको अनुपस्थितिका कारण बस्न सकेन भने सोमबारका लागि डाकिएको परिषद्को बैठकमा पनि प्रधानन्यायाधीशबाहेक कोही सदस्य गएनन् । आयोगमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, लोक सेवा आयोगका अध्यक्ष र महान्यायाधिवक्ता सदस्य हुन्छन् भने परिषद्मा कानुनमन्त्री र सर्वोच्चका वरिष्ठतम न्यायाधीशसँगै नेपाल बार र प्रधानमन्त्रीका प्रतिनिधि सदस्य हुन्छन् । परिषद्का प्रवक्ता मानबहादुर कार्कीले सोमबार विज्ञप्ति निकालेर परिषद् सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भएका कारणले बैठक स्थगित भएको जानकारी दिएका छन् । यद्यपि आयोगको बैठकमा जस्तै अन्य सदस्यहरूसमेत अनुपस्थित हुने भएपछि जबराले बैठक स्थगित गराएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खातीले आइतबार साँझ भेट गरेका थिए । उक्त भेटपछि मन्त्री बडूले न्यायपालिकाको गतिरोधलाई लम्बिन दिनु हुँदैन भन्ने सरकारको धारणा रहेको कान्तिपुरलाई बताए । ‘आन्दोलनरत बारका प्रतिनिधि, सर्वोच्च अदालतका न्यायाधीशलगायत सबै सदस्य उपस्थित हुने गरी परिषद्को बैठक बस्नु उपयुक्त हुन्छ भनेर हामीले प्रधानन्यायाधीशलाई सुझाव दिएका छौं,’ बडूले कान्तिपुरसँग भने, ‘विवादित अवस्थामा विवादित ढंगले कोही सदस्य आउने, कोही नआउने अवस्था सिर्जना गर्नुहुँदैन । सबैको सहमतिले सबैको उपस्थिति हुने अवस्था बनाउन विवादलाई टुंग्याउनुपर्छ । त्यसपछि तुरुन्तै बैठक बस्नुपर्छ भन्ने हाम्रो आग्रह रह्यो ।’

आयोगले जिल्ला अदालतका न्यायाधीशहरूको नतिजा प्रकाशनको तयारी गरेको छ । खुला प्रतिस्पर्धाबाट नियुक्त गर्नका लागि आयोगले १८ जना जिल्ला न्यायाधीशमा आवेदन लिएर परीक्षा गराइसकेको छ । आयोगको बैठक नबस्दा नतिजा प्रकाशन हुन सकेको छैन । त्यस्तै न्यायाधीशहरूको नियुक्ति, सरुवा र अनुशासनमा कारबाही गर्ने परिषद्को बैठक नबस्दा ती नियमित काम प्रभावित भएका छन् ।

हाल सर्वोच्च अदालतमा एक र उच्च अदालतमा १२ न्यायाधीशको पद रिक्त छ । परिषद्को बैठक नबस्दा यी नियुक्ति र न्यायाधीशहरूको सरुवा प्रभावित भएको छ । त्यस्तै गरी भ्रष्टाचार मुद्दाको सुनुवाइ गर्ने विशेष अदालत पनि नेतृत्वविहीन छ । एक अध्यक्ष र पाँच सदस्य रहने विशेष अदालत साउनयता दुई जना सदस्यको भरमा चलिरहेको छ । जबराले गत साउन २९ मा विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र सदस्यहरू बालेन्द्र रूपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुलाई एकै दिन काज सरुवा गरेका थिए । नयाँ न्यायाधीश पदस्थापन नहुँदा विशेष अदालत दुई जना सदस्यहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको भरमा चलिरहेको छ । विशेष अदालतमा दरबन्दीअनुसार न्यायाधीशहरू पदस्थापन नहुँदा भ्रष्टाचार मुद्दा फर्छ्योट हुन सकिरहेका छैनन् । विशेष अदालतको अध्यक्ष र सदस्यमा न्याय परिषद्को सिफारिसमा नेपाल सरकारले (मन्त्रिपरिषद्ले) उच्च अदालतका न्यायाधीशहरूमध्येबाट तोक्ने व्यवस्था छ । परिषद्को बैठक नबस्दा तत्काल विशेष अदालतमा पदस्थापन हुने सम्भावना छैन ।

न्याय परिषद्लाई न्यायाधीशहरूमाथिका उजुरी लिने, छानबिन गर्ने र कारबाही गर्नेसम्मको अधिकार छ । त्यहाँ परेका उजुरीबारे छानबिन गरी निष्कर्ष पेस गर्न परिषद्का सदस्यहरू रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठलाई जिम्मा दिइएको छ तर परिषद् बैठक नबसी त्यसमाथि थप निर्णय हुन सक्ने अवस्था छैन । यसले देखाउँछ– प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्याय निरूपण (इजलास बस्ने, सुनुवाइ र फैसला गर्ने) र न्याय प्रशासन सञ्चालन गर्ने काम प्रभावकारी रूपमा भइरहेको छैन । हाल उनी सर्वोच्च अदालत आउने, आफ्नै च्याम्बरमा बस्ने र फर्कने गरिरहेका छन् ।

गत मंसिर १३ मा कोभिड संक्रमित भएपछि अस्पताल भर्ना भएका उनी मंसिर १७ मा डिस्चार्ज भएका थिए । उनी डिस्चार्ज हुनुअघि मंसिर १५ देखि नै सर्वोच्च अदालतका न्यायाधीशहरूले गोला प्रक्रियाका माध्यमद्वारा इजलास गठन गर्ने र मुद्दाको पेसी तोक्ने अभ्यास थालिसकेका थिए । गोला प्रक्रिया सुरु भएपछि प्रधानन्यायाधीशले धेरै पहिलेदेखि प्रयोग गर्दै आएको पेसी तोक्ने अधिकार कटौती भएको थियो । त्यसमाथि अहिले जबराले न्याय सम्पादन र न्याय प्रशासनको काम गर्न पाएका छैनन् । तर, संवैधानिक इजलास गठनै नहुने, परिषद् र आयोगका बैठक नबस्ने जस्ता कारणले सिंगो न्यायपालिका नराम्ररी प्रभावित भएको छ ।

संविधानविद् विपिन अधिकारीले न्यायपालिकामा ‘डिजास्टर’ देखिन थालेको बताए । ‘न्यायपालिका अहिलेकै अवस्थामा त धेरै समय चल्न सक्दैन । कि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्‍यो कि उनलाई महाअभियोग लगाउनुपर्‍यो, कि सबैभन्दा अप्रिय विकल्प भए पनि नेपाल बार र अन्य न्यायाधीशले उनको नेतृत्व स्वीकारेर जानुपर्‍यो,’ अधिकारीले भने, ‘यी तीन विकल्पमध्ये जता दबाब बढी हुन्छ । परिस्थिति त्यतै जानेछ । अझै पनि प्रधानन्यायाधीशको नेतृत्व स्वीकार्नुपर्ने विकल्प सबैभन्दा घातक हुनेछ ।’

नेपाल बार एसोसिएसनले सोमबार प्रधानन्यायाधीश जबराको बहिर्गमन माग गर्दै आन्दोलन सुरु गरेको १०० औं दिन पुगेको छ । यसबीचमा बारले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिनेदेखि संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख पार्टीका नेताहरूलाई जबरामाथि महाअभियोग लगाउन माग गर्दै ज्ञापनपत्र बुझाउनेसम्मका काम गरेको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी बारले प्रधानन्यायाधीश जबराले आफ्नो जिम्मेवारीको काम गर्न असफल भएको तर्कसहित संस्थागत रूपमा उनीविरुद्ध रिट दर्ता गर्न आँट गर्नुपर्ने बताउँछन् ।

‘बारले सर्वोच्चमार्फत् कानुनी लडाइँ लड्नुपर्छ, सरकारको नेतृत्व गरेको कांग्रेस र प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध अन्त्य गरेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव तुरुन्तै दर्ता गर्नुपर्छ,’ पूर्वन्यायाधीश केसीले भने, ‘संविधानले बलियो बनाएको न्यायपालिकालाई प्रधानन्यायाधीश जबराले ध्वस्त पारे । उनलाई वैधानिकता दिने काम कुनै हालतमा गर्न हुँदैन । जबरालाई निलम्बन नगरेसम्म अहिले न्यायपालिकामा देखिएका जटिलता घट्दैनन् । बरु बढ्दै जान्छन् ।’

प्रकाशित : माघ २५, २०७८ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशभर २६ सय बालबालिका कुपोषित

गम्भीरखाले कुपोषितको संख्या ९५५ जना, १३ जिल्लामध्ये सबैभन्दा धेरै ललितपुरमा ७०४ र कम रसुवामा ८ बालबालिकामा कुपोषण
प्रताप विष्ट

हेटौंडा — उमेर २ वर्ष भइसक्यो । तौल साढे २ केजी मात्रै छ । पेट ठूलो, गाला ख्याउटे, तिघ्राको मासु मुजा परेको छ । हेर्दैमा उनमा पोषणको मात्रा नपुगेको भन्ने लाग्छ । जन्मेको ६–२३ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क बालभिटा उपलब्ध गराउँदै आए पनि उनी यसको पहुँचमा छैनन् । यो मकवानपुरको विकट कैलाश गाउँपालिका–४ लिक्चेका सुमन चेपाङको अवस्था हो ।

आइतराम र सीतामायाका उनी चौथो सन्तान हुन् । उनका दाइदिदीको अवस्था पनि त्यति सन्तोषजनक छैन । उनीहरू कसैले बालभिटा खान पाएनन् । सीतामाया भने पाँचौं सन्तान जन्माउने तयारीमा छिन् । तर गर्भधारण गरेको ६ महिना भइसक्दा एक पटक पनि गर्भ जाँच गराएकी छैनन् । २३ वर्षीया सीतामायालाई गर्भ जाँच गराउनुपर्छ भन्ने जानकारी पनि छैन । कैलाश गाउँपालिकाको केन्द्र कटुन्जेमा गत साता आयोजना गरिएको स्वास्थ्य शिविरमा कुपोषणले ग्रसित छोरा सुमनलाई बोकेर उनी आएकी थिइन् । चिकित्सकले उनलाई गर्भ जाँच र सन्तानलाई बालभिटा खुवायौ त भनी सोध्दा उनको जवाफ ‘छैन’ थियो ।

कैलाश–२ लिक्चेकै २२ वर्षीया मंगलीमाया चेपाङको पेटमा पनि.६ महिनाकै गर्भ छ । सीतामायाले जस्तै उनले पनि अहिलेसम्म गर्भ जाँच गराएकी छैनन् । १३ महिने छोरी च्यापेर सोही शिविर आएकी उनले आफ्नो र छोरीको पनि स्वास्थ्य परीक्षण गराइन् । छोरीको अवस्था सुमनको भन्दा भिन्न थिएन । कडा कुपोषणले उनी पनि ग्रसित थिइन् । १६ वर्षको उमेरमा बिहे गरेकी मंगलीमायाका ३ सन्तान जन्मिसकेका छन् । तर आजसम्म उनलाई गर्भ जाँच गराउनुपर्छ र नवजात शिशुलाई बालभिटा खुवाउनुपर्छ भन्ने जानकारी थिए । यसबारे जानकारी दिन र सेवा लिन पनि लिक्चेमा स्वास्थ्य संस्था छैन । गाउँपालिका केन्द्रमा भएको स्वास्थ्य संस्थासम्म आइपुग्नै ३ घण्टा हिँड्नुपर्छ ।

‘पालिकाका अधिकांश चेपाङ समुदायका बालबालिका कुपोषणले ग्रसित छन्,’ कैलाश गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम महतोले भने, ‘बालबालिकालाई बालभिटा पनि खुवाउँदैनन् । सुत्केरी हुन पनि स्वास्थ्य चौकी आउँदैनन् र गर्भ परीक्षण पनि गराउँदैनन् ।’ सानै उमेरमा बिहे गर्ने चलन चेपाङ समुदायमा अझै कायम छ । सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्ने र धेरै सन्तान जन्माउँदा पनि पोषण र स्याहार पर्याप्त नपुग्ने अवस्था रहन्छ ।

त्यसमाथि यहाँका अधिकांश स्थानीयलाई आफ्नो उत्पादनले मुस्किलले ४ महिना पनि खान पुग्दैन । कुपोषणको तथ्यांक हेर्दा पनि मकवानपुरको अवस्था चिन्ताजनक नै छ । जिल्लामा जन्मेदेखि ११ महिनासम्मका एक सय ४७ जना र एक वर्षदेखि २३ महिनासम्मका ७६ जना बालबालिका कुपोषित रहेको स्वास्थ्य कार्यालय प्रमुख प्रणय उपाध्यायले बताए ।

प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा कुपोषित हुने ११ महिनासम्मका बालबालिकाको संख्या सर्वाधिक (७०४ जना) रहेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाका तथ्यांक अधिकृत इन्द्रमणि भण्डारीले बताए । चितवनमा यो संख्या २ सय ७ र धादिङका १ सय ९७ छ । यसैगरी, कुपोषित हुने एक वर्षदेखि २३ महिनासम्मका बालबालिकाको संख्या धादिङमा २ सय ७५ र चितवनमा २ सय २० छ । प्रदेशभरिमा कुपोषित हुने बालबालिकाको संख्या सबैभन्दा कम रसुवामा छ । यहाँ ११ महिनासम्मका २ जना र एक वर्षदेखि २३ महिनासम्मका ६ जना मात्रै कुपोषित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठले बताए ।

वाग्मती प्रदेशमा २३ महिनासम्मका एक लाख ५४ हजार ७ सय ५९ बालबालिका छन् । तीमध्ये २ हजार ५ सय ९५ बालबालिका कुपोषणले ग्रसित रहेको उनले बताए । जसमध्ये गम्भीर खालका कुपोषितको संख्या ९ सय ५५ जना छन् । ‘खाद्य असुरक्षा, गरिबी र चेतनास्तर कमजोर भएका गाउँबस्तीका अधिकांश बालबालिकाहरू कुपोषणले ग्रसित भेटिएका छन्,’ उनले भने, ‘कुपोषणबाट बालबालिकालाई मुक्त गर्नका लागि निर्देशनालय, स्वास्थ्य कार्यालयलगायतले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।’

बालबालिकालाई कुपोषणबाट मुक्त गर्न भन्दै सरकारले स्थानीय तहबाटै बालभिटा वितरण गरिरहेको छ । तर कतिपय अभिभावकलाई यसबारे जानकारी नै छैन । कतिपयले लगेर पनि नखुवाउने गरेको बताउँछिन् कैलाश गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सुकुमाया थिङ । ‘स्थानीय तहहरूको लक्ष्य र तथ्यांकअनुसार बालभिटा खाने बालबालिकाको संख्या पनि ज्यादै न्यून छ,’ उनले भनिन् । बालभिटा खपत नभएर म्याद नाघ्दा स्थानीय तहले नष्ट गर्नुपरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

जन्मेको ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई कुपोषण र श्वासप्रश्वासको समस्याबाट बचाउन, स्वास्थ्यलाई फुर्तिलो बनाउन बालभिटा खुवाउने गरिन्छ । पोषण तथा एकीकृत बालरोग व्यवस्थापनअन्तर्गतको बालभिटा कार्यक्रमअनुसार प्रत्येक स्थानीय तहले बालभिटा निःशुल्क रूपमा उपलब्ध गराउँछन् । बच्चा जन्मेको ६ महिनादेखि ११ महिनासम्म, १२ महिनादेखि १७ महिनासम्म र १८ महिनादेखि २३ महिनासम्मलाई हुने गरी स्थानीय तहले ३ पटक बालभिटा वितरण गर्ने गरेको छ । तर, मकवापुरका स्थानीय तहहरूको तथ्यांकअनुसार पहिलोपटक बालभिटा लैजाने अभिभावकको तुलनामा दोस्रो र तेस्रो पटक लिन आउनेको संख्या निकै कम छ ।

बच्चा जन्मिएपछि २ वर्षभित्रमा उसको ८० प्रतिशत मस्तिष्क विकास हुने हुँदा त्यसका लागि पनि बालभिटाले मद्दत पुर्‍याउने स्वास्थ्यकर्मीहरू बताउँछन् । ‘सरकारले निःशुल्क रूपमा बालभिटा वितरण गरिरहँदा पनि अभिभावकमा बालबालिकालाई बालभिटा खुवाउनुपर्छ भन्ने चेतनाको विकास हुन सकेको छैन,’ कैलाशका स्वास्थ्य शाखा प्रमुख महतोले भने, ‘गाउँमा रहेका महिला स्वयम्सेविकालाई बालबालिकालाई बालभिटा खुवाउन अनुरोध गर्दा पनि टेर्दैनन् ।’

प्रकाशित : माघ २५, २०७८ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×