२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

शक्तिशाली पश्चिम वायुको प्रभावले देशभर वर्षा

उच्च पहाडी र हिमाली भागमा बाक्लो हिमपात 
आइतबारदेखि मौसममा सुधार आएर घमाइलो हुने 

काठमाडौँ — पश्चिमी न्यूनचापीय प्रणाली (वेस्ट्रन्ली डिस्ट्रबेन्स) को शक्तिशाली प्रभावका कारण शुक्रबार बिहानैदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका उच्च पहाडी र हिमाली भागमा बाक्लो हिमपात भइरहेको छ ।

शक्तिशाली पश्चिम वायुको प्रभावले देशभर वर्षा

काठमाडौं उपत्यका आपसापका विभिन्न स्थानमा पनि बिहानैदेखि हिमपात भइरहेको छ । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् राजुधर प्रधानांगका अनुसार पहाडी र तराईका भागमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । मुलुकको पश्चिमी भागमा बिहीबारदेखि नै वर्षा सुरु भएको हो भने गण्डकी प्रदेशभन्दा पूर्वी भागमा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ ।

प्रधानांगका अनुसार गत २४ घण्टामा सबैभन्दा बढी वर्षा डोटीमा (५७ मिलिमिटर) भएको छ । ५० मिलिमिटरभन्दा बढी वर्षालाई महाशाखाले भारी वर्षा भनेको छ ।

काठमाडौंलगायतका स्थानमा भने मध्यमखालको (१० मिमिभन्दा बढी र ५० मिमि भन्दा कम) वर्षा भइरहेको छ । ‘सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशका विभिन्न स्थानमा भइरहेको छ,’ उनले कान्तिपुरसित भने, ‘पूर्वीभागमा बिहानदेखि मात्र वर्षा हुन थालेको छ ।’ गण्डकीका तनहुँमा सबैभन्दा बढी (५४ मिमि) वर्षा भएको छ । चितवनमा पनि भारी वर्षा भएको छ ।

शनिबारसम्म मलुकका विभिन्न भागमा चट्याङ र मेघगर्जनसहित वर्षा जारी रहने महाशाखाले अनुमान गरेको छ । महाशाखाका अनुसार शनिबार रातिदेखि मौसममा केही सुधार आउन थाल्नेछ । आइतबारदेखि भने मौसममा सुधार आउने उनले बताए ।

पश्चिमी न्यूनचापीय प्रणालीसँगै अधिकतम तापक्रम र न्यूनतम तापक्रममा समेत गिरावट आएपछि चिसो बढी महसुस भएको मौसमविद्हरुले बताएका छन् । ‘आइतारदेखि यो प्रणाली जान्छ,’ महाशाखाले भनेको छ, ‘त्योपछि न्याना दिन सुरु हुन्छन् ।’

प्रकाशित : माघ २१, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?