२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब

काठमाडौँ — नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरूले संघको छिट्टै महाधिवेशन गर्न पार्टीका नेताहरूलाई दबाब दिन थालेका छन् ।

महाधिवेशन छिटो गराउन कांग्रेस नेतृत्वमाथि नेविसंघको दबाब

काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत अगुवा विद्यार्थीहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेविसंघको महाधिवेशन तत्काल गर्न माग गरेका छन् ।

नेविसंघलाई गतिशील बनाई क्याम्पसहरूको शैक्षिक गतिविधि प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई उनीहरूले दबाब दिएका हुन् । नेविसंघका विद्यार्थी नेता विनोदराज जोशीका अनुसार उनीरूले अभियानकै रुपमा नेताहरूलाई दबाब दिएका हुन् ।

यस क्रममा विद्यार्थीहरूले नेविसंघको महाधिवेशन छिटो सम्पन्न गराउन माग गर्दै पार्टीका केन्द्रीय सदस्य एवम् नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरलाई अनुरोध पत्र समेत बुझाएका छन् । 'अभिभावकलाई पत्र' भनेर बुझाइएको उक्त अनुरोध पत्रमा तत्काल तदर्थ समिति गठन गरी नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीका नेताहरूसँग माग गरिएको पनि जोशीले बताए ।

उक्त पत्र बुझ्दै कांग्रेस केन्द्रीय सदस्य महरले नेविसंघलगायत भ्रातृ संस्थाहरूले महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरूलाई अनौपचारिक रुपमा दबाब दिँदै आएको र अब बस्ने केन्द्रीय समिति बैठकमा औपचारिक रुपमै छलफल गराउने प्रतिवद्धता जनाए ।

पार्टी पदाधिकारीहरू समेत भ्रातृ संस्थाहरूको महाधिवेशन छिटो गराउन गम्भीर नभएको नेता महरको भनाइ थियो । यसका लागि पनि नेतृत्वलाई नै दबाब दिन नेविसंघमा आवद्ध विद्यार्थीहरूलाई उनले आग्रह गरेका थिए ।

‘मैले पार्टीमा अनौपचारिक रुपमा तदर्थ समिति बनाएर नेविसंघलगायत सबै भ्रातृ संस्थाहरूको महाधिवेशन छिटो गरौं भनेर दबाब दिँदै आएको छु । तर पार्टी पदाधिकारीहरूले नै त्यसलाई गम्भीर रुपमा नलिएको अवस्था छ । त्यसैले म साथीहरूलाई नै आग्रह गर्न चाहन्छु । पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई महाधिवेशन छिटो सम्पन्न गराउन तपाईँहरूले जर्बजस्त रुपमा दबाब दिनुहोस् । त्यसका लागि मैले आगामी केन्द्रीय समितिको पार्टीको बैठकमा औपचारिक रुपमै छलफल गराउन पहल गर्नेछु,’ नेता महरले भने ।

प्रकाशित : माघ १७, २०७८ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?