गौतमबुद्ध विमानस्थल निरीक्षण गर्दै मन्त्री आलेले भने- कुनै हालतमा बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान हुनुपर्छ

माधव ढुंगाना

भैरहवा — संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले आउँदो बुद्ध जयन्तीभन्दा अगावै निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने तयारी भइरहेको बताएका छन् । 

गौतमबुद्ध विमानस्थल निरीक्षण गर्दै मन्त्री आलेले भने- कुनै हालतमा बुद्धजयन्ती अगावै अन्तर्राष्ट्रिय उडान हुनुपर्छ

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको प्रगति विवरण लिँदै शनिबार मन्त्री आलेले विमानस्थल संचालनमा अब कुनै पनि खालको बिलम्ब नहुने गरी योजना बनाइएको बताएका हुन् । तर मौसम प्रतिकूलताका कारण पछिल्लो समयमा परीक्षण उडानमा ढिलाइ भइरहेको उनको भनाइ छ ।

उनको साथमा, मन्त्रालयका सचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक, राष्ट्रिय गौरव आयोजनाका निर्देशक, राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली स्थलगत अनुगमनमा पुगेको थियो ।

‘यो विमानस्थलप्रति विश्वकै ध्यानाकृष्ट भएकाले अब कुनै पनि खालको बिलम्ब हुनु हुँदैन’, मन्त्री आलेले भने, ‘बुद्ध जयन्ती अगावै यस विमानस्थलमा ठूल्ठूला विमान उडेर संचालन भएको देख्न पाइयोस् । म यसका लागि यहींबाटै निर्देशन दिन्छु, कुनै पनि हालतमा बुद्ध जयन्तीभन्दा अगावै अन्तर्राष्ट्रिय उडान हुनु पर्छ ।’

यो विमानस्थल संचालनमा आउनासाथ काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल विद्यमान रहेको दुई/तीन घण्टासम्मको एयर ट्राफिकको समस्या समाधान हुने भएकाले पनि जतिसक्दो चाडो संचालनमा ल्याउन जरुरी भएको उनको भनाइ थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले मौसमले साथ अनुकूल बन्दै गएको खण्डमा ढिलोमा पनि परीक्षण उडानका लागि थाइल्याण्डदेखि आउँदो फेब्रुअरी २१ (फागुन ९ गते) का दिन विमान नेपाल अवतरण हुने गरी कार्यतालिका तयार पारिएको जनाए । यदि संभव भएमा त्यो भन्दा अगाडि पनि विमान नेपाल आउन सक्ने उनले बताए ।

‘आउँदो बुद्ध जयन्तीसम्ममा यो विमानस्थल संचालनमा आइसक्ने छ’, ठाकुरले भने, ‘बुद्ध जयन्तीमा लुम्बिनी आउने विदेशी पाहुनाले चार्टर्ड फ्लाइट ल्याउन सक्ने गरी निर्माण कार्य अघि बढाइएको छ ।’

परीक्षण उडानका लागि विमानसहित मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको ठेक्का लिएको थाइल्याण्डको एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले, एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य जारी रहेको बताए ।

नेपालको विगत तीन वर्षको मौसमको अवस्थालाई विमानस्थलमा परीक्षण उडान संचालन तयारीका लागि आइपुगेको थाइल्यान्डको टिमले अध्ययन गरिरहेको र फेब्रुअरीको दोस्रो सातादेखि मौसम सुधार आउने देखिएकाले २१ तरिखमा परीक्षणको विमान ल्याउने तयारी गरिएको उनले बताए ।

प्रकाशित : माघ १५, २०७८ १६:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?