स्थानीय चुनाव सार्न दुई ऐन संशोधन गरिँदै- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय चुनाव सार्न दुई ऐन संशोधन गरिँदै

जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल पूरा भएपछि पनि राजनीतिक रिक्तता नहुने व्यवस्था गर्न छलफल
कलेन्द्र सेजुवाल

काठमाडौँ — सरकारले स्थानीय चुनाव सार्न स्थानीय तह निर्वाचन ऐन र स्थानीय सरकार सञ्चालन ऐनका प्रावधान संशोधनको तयारी गरेको छ । केही दफा संविधानसँग बाझिएको र केही संविधान प्रतिकूल भएको तर्कसहित संशोधन गर्न लागिएको हो । 

महान्यायाधिवक्ता खम्मबहादुर खातीले स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ३ (१) खारेज गरिने बताए । उक्त दफामा सदस्यहरूको निर्वाचन गाउँ–नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि हुने उल्लेख छ । यो प्रावधान संविधानको धारा २२५ का साथै २१५ (६), २१६ (६) र २२० (५) सँग बाझिएको उनको तर्क छ । ‘संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल निर्वाचित भएको मितिले ५ वर्ष हुने भनिएको छ, तर ऐनमा २ महिनाअगाडि निर्वाचन हुनुपर्ने लेखिएको छ,’ उनले भने, ‘कार्यकाल बाँकी छँदै निर्वाचन गर्न नमिल्ने हुँदा ऐनको त्यो दफा खारेज गर्नुपर्ने अवस्था देखिएको हो ।’

ऐनको दफा ४ भने संशोधन गरिने महान्यायाधिवक्ता खातीले जानकारी दिए । उक्त दफामा सरकारले दुई वा दुईभन्दा बढी चरणमा निर्वाचन गर्न सक्ने तर पहिलो चरणको मितिलाई निर्वाचन सम्पन्न भएको मानिने उल्लेख छ । २०७४ वैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा स्थानीय चुनाव गरिएको थियो । ऐनको व्यवस्थालाई मान्दा तेस्रो चरणमा निर्वाचन भएका जनप्रतिनिधिको कार्यकाल ४ महिनाअगाडि नै समाप्त हुन्छ ।

महान्यायाधिवक्ता खातीले एकै चरणमा चुनाव गर्ने गरी ऐन संशोधनबारे छलफल भइरहेको बताए । ‘चरण–चरणमा चुनाव गर्ने व्यवस्था राखिँदा कतिपय जनप्रतिनिधिका लागि संविधानमा किटान गरिएको पाँचवर्षे कार्यकाल अधुरै रहन्छ, त्यसैले कार्यकालमा एकरूपता ल्याउन ऐन संशोधन गर्नुपर्ने देखियो,’ उनले भने, ‘दुई–चार महिना बढी सुविधा दिँदा खासै असर पर्दैन, तर अवधि छँदै वञ्चित गरिनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हुन्छ ।’ कुनै जनप्रतिनिधि कार्यकाल बाँकी छँदै आफूलाई सेवाबाट वञ्चित गरिएको भन्दै अदालत गए स्थानीय चुनाव थप अन्योलमय हुने उनले बताए ।

सरकारले सोही ऐनको अर्को दफा ५५ संशोधन गर्न खोजेको छ । उक्त दफामा गाउँ–नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा अगाडि निर्वाचन भएकामा निर्वाचन हुँदा कायम रहेका सदस्यको कार्यकाल समाप्त भएको भोलिपल्टको मितिमा नयाँ निर्वाचित भएको मानिने उल्लेख छ । ऐन लागू भएपछिको पहिलो पटकको निर्वाचनमा भने पहिलो चरणमा निर्वाचन सम्पन्न भएको मितिको सातौं दिन नयाँ निर्वाचित सदस्य निर्वाचित भएको मानिने भनिएको छ । उक्त दफाअनुसार आगामी जेठ ५ मा ७ सय ५३ वटै स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन्छ । ‘संविधान र ऐनमा कार्यकाल सकिएपछि स्थानीय कार्यपालिका कसरी सञ्चालन गर्ने भन्नेबारे स्पष्ट छैन,’ महान्यायाधिवक्ता खातीले भने, ‘निर्वाचन नहोउन्जेलसम्म रिक्तता हुन नदिन ऐनमा थप व्यवस्था गर्नुपर्छ ।’

सरकारले स्थानीय तहको निर्वाचन छिटोमा कात्तिकमा गर्ने तयारी गरेको छ । विद्यमान ऐनअनुसार त्यतिन्जेलसम्म स्थानीय तहका कार्यपालिका नेतृत्वविहीन हुन्छन् । महान्यायाधिवक्ता खातीले यही रिक्तता पूर्तिका लागि स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ११५ संशोधनको तयारी गरेको जानकारी दिए । उक्त दफामा सभा (गाउँ–नगरसभा) ले गर्ने भनी स्पष्ट व्यवस्था भएकामा बाहेक गाउँपालिका तथा नगरपालिकाबाट सम्पादन हुने कामकारबाही कार्यपालिकाले गर्ने उल्लेख छ । सरकारनिकट कानुन व्यवसायीले समेत गाउँ तथा नगरसभा (व्यवस्थापिका) को कार्यकाल समाप्त भएदेखि नयाँ नेतृत्व निर्वाचित नहुँदासम्म सोही कार्यपालिकालाई ‘कामचलाउ’ अवस्थामा चल्ने गरी कानुनमा व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् ।

वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ऐन संशोधन गरेर कार्यपालिकालाई निर्वाचनसम्म कामचलाउ रूपमा म्याद थप्न सकिने तर संविधानमै ग्यारेन्टी गरिएको पाँचवर्षे कार्यकाललाई सरकार, निर्वाचन आयोग वा कुनै ऐनले खोस्न नसक्ने जिकिर गरे । ‘प्रदेश र संघीय कार्यपालिकामा व्यवस्थापिका (संसद्) को अवधि सकिएपछि अर्को निर्वाचन नहुँदासम्म सोही कार्यपालिका कामचलाउ रूपमा सञ्चालन हुने व्यवस्था छ,’ उनले भने, ‘संविधान र ऐनमा भने स्थानीय कार्यपालिका कामचलाउ रूपमा सञ्चालन हुने व्यवस्था छैन । त्यसैले ऐन संशोधन गरेर राजनीतिक रिक्तताको अवस्था आउनु दिनु हुँदैन ।’

सत्ता गठबन्धनले महान्यायाधिवक्ता खाती, वरिष्ठ अधिवक्ता श्रेष्ठ र अधिवक्ता गोविन्द बन्दीसँग स्थानीय तह चुनावसम्बन्धी संवैधानिक तथा कानुनी विवाद सुल्झाउन परामर्श गरिरहेको छ । तीनै जनाले संविधानमा किटान गरिएको जनप्रतिनिधिको पाँचवर्षे कार्यकाललाई प्रमुख आधार बनाएर वैशाख–जेठमा चुनाव गर्न नहुने सुझाव दिएका छन् । अधिवक्ता बन्दीले विद्यमान निर्वाचन ऐनअनुसार जेठ ५ अगाडि स्थानीय चुनाव हुन नसक्ने बताए ।

आफूहरूले २०७९ जेठ ६ पछि ६ महिनाभित्र निर्वाचन जहिले गरे पनि समस्या नहुने सुझाव सरकारलाई दिएको उनको भनाइ छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार कानुनविद्सँगको छलफलपछि संविधानको भावनाअनुसार ऐन संशोधन प्रक्रिया अघि बढाइने बताएका थिए । ‘कुनै पनि तहको चुनाव सार्ने कुरा भएको छैन, संविधानको भावना र स्पिरिटअनुसार निर्देशित गर्छौं,’ उनको भनाइ थियो, ‘सरकारले कानुनविद्हरूको सुझावअनुसार संविधानसँग बाझिएका कानुन संशोधनको प्रक्रिया थाल्नेछ ।’

संसद् अधिवेशन चालु अवस्थामै रहेकाले सरकारलाई ऐन संशोधन प्रक्रिया अघि बढाउन भने चुनौती छ । प्रमुख प्रतिपक्षी एमालेको अवरोधका कारण भदौयता संसद् चल्न सकेको छैन । त्यसमाथि स्थानीय चुनाव सार्ने गरी ऐन संशोधनका लागि संसद् अवरोध हटाउने सम्भावना देखिँदैन । यस्तो अवस्थामा सरकारसामु संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट ऐन संशोधन गर्ने विकल्प छ । निर्वाचन सार्ने पक्षमा रहेका सत्तारूढ दलका एक नेताले प्रतिपक्षी दल संसद् सञ्चालनमा सकारात्मक नभए अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत स्थानीय चुनावसम्बन्धी संवैधानिक र कानुनी अन्योलता हटाउन बाध्य हुने बताए ।

प्रमुख प्रतिपक्षी एमालेका साथै सत्ताको नेतृत्व गरिरेहको कांग्रेसभित्रै पनि स्थानीय तह चुनाव नसार्न चर्को दबाब छ । कांग्रेसमा शेखर कोइराला समूहले सोमबार भर्चुअल बैठक गरी स्थानीय तहको चुनाव समयमै गर्न र चुनावमा एक्लै प्रतिस्पर्धा गर्न जोड दिएको थियो ।

प्रकाशित : माघ १३, २०७८ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्

सुपर लिग : तीन नयाँ टिम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण दुई थप विशेषतासहित हुने भएको छ । एनएसएलमा १० टिम र दुई सहरमा आयोजना हुनेछ । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टका अनुसार यसपालि प्रतियोगिताबाट तीन नयाँ टिम थपिएको छ । त्यसअनुसार प्रतियोगितामा अब कुल १० टिमले सहभागिता जनाउने छन् ।

यसपल्टको प्रतियोगिता भने चैत अन्तिम साता सुरु हुनेछ । आयोजकका अनुसार प्रतियोगिता अप्रिल ९ देखि सुरु भई मे २१ मा सकिने छ । यस्तै दोस्रो संस्करणका खेल दुई सहरमा काठमाडौं र पोखरामा हुनेछ । यसअघि काठमाडौंमा मात्र प्रतियोगिता भएको थियो । थपिएका तीन टिमका लागि खेलाडीको लिलामी पनि गरिने छ ।

यो लिलामी फेब्रुअरीको सुरुमा हुनेछ । आयोजकले भनेको छ, ‘नेपाल सुपर लिग राष्ट्रियस्तरको प्रतियोगिता हो र यो प्रत्येकपल्ट नयाँ–नयाँ सहरमा जाने प्रयासमा छ ।’ आयोजकले कोभिड–१९ को संक्रमण कम भएसँगै प्रतियोगितामा दर्शक उपस्थिति हुने विश्वास पोखेको छ । गत संस्करणको प्रतियोगिता दर्शकविना आयोजना गरिएको थियो ।


प्रकाशित : माघ १२, २०७८ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×